अस्मिताको अस्मिता


अखण्ड भण्डारी
रविले पाउने ‘न्याय’ र अस्मिताले पाउने ‘न्याय’ ले दुवैको जीवनमा पार्ने फरक हाम्रो समाजको वास्तविक चरित्र हो।

देशभर तीजको माहोल छ। चेलीहरू हर्षोल्लासमा छन्। तर, एउटी चेलीको यही समाजले तीज हरेको छ, ती हुन्– अस्मिता कार्की। माफ गर्नुहोला– उनको नाम यहाँ यसरी लेख्नुहुने थिएन। तर, अब संकेतमै लेख्यो भने पनि हरेकले सोझै भन्नेछ, ‘अस्मिता।’ किनकि, सबैको मुखमा पछिल्लो समय त्यही नाम झुण्डिएको छ। त्यही पहिचान सार्वजनीकरणबाट भएको उनको अस्मिता हरण अन्यायको पराकाष्ठा हो। मैले यसमा उठाउन खोजेको विषय पनि त्यही हो।

मुद्दा उही। प्रकरण उही। पाँच लाख रुपैयाँ धरौटीमा छुटे पनि रवि लामिछाने अदालतबाट प्रफुल्ल मुद्रामा निस्किए। भयंकर भीडमा छिरे। ‘नेता हुने’ मन्तव्य दिए। तीन लाख धरौटी लिइएका युवराज कँडेल रविकै टोलीका थिए। उनी उनकै पछिपछि गर्विलो तालमै देखिए। साधारण तारेखमा छुटेर पनि अस्मिताको भने अनुहार मलिन थियो। मन गलेको/जलेको थियो। अझ भन्नुपर्दा आँसु झार्दै केही ‘युटुब–पत्रकार’ को घेरामा बयान बकिरहेकी थिइन् उनी। महिला र पुरुषको फरक भनेकै त्यही हो। सेलिब्रेटी र सर्वसाधारणको पृथकता त्यही हो। जसको संवेदनशीलतालाई हाम्रो राज्यसंयन्त्रदेखि भीडतन्त्रसम्मले ख्याल गर्न सकेन।

र, अस्मिताको अस्मिता हरण भयो।

अदालतमा विचाराधीन मुद्दा’bout केही नभनौं। पूर्ण वा आंशिक रूपमा सबै वा कोही दोषी/निर्दोष जे पनि हुन सक्छन्। थप अनुसन्धान र अदालती प्रणालीले त्यसलाई टुंग्याउने नै छ। तर, एउटा परिकल्पना गरौं– निर्दोष ठहरिए भने रवि उनैले भनेजस्तो नेता भएर निस्केलान्। तर, अस्मिता ? निर्दोषै ठहरिए पनि यहाँको समाजमा घोसेमुन्टो लगाएर हिँड्न बाध्य हुनेछिन्। के न्याय र न्यायमै यत्रो भिन्नता हुन्छ ? रविले पाउने ‘न्याय’ र अस्मिताले पाउने ‘न्याय’ ले दुवैको जीवनमा पार्ने फरक हाम्रो समाजको वास्तविक चरित्र हो। र, त्यो ठूलो भिन्नता न्याय दिलाउने प्रक्रियामा भएको संवेदनहीनताको परिणति हो। गम्भीरताको अभावका कारण सिर्जना हुने समस्या हो।

यस्ता घटनामा महिलाका नाम गोप्य राख्ने गरिन्छ। पीडित महिला’bout मुद्दाका मिसिलमा पनि कोड नाम प्रयोग गर्ने चलन हुन्छ। जुन घटना भयो, त्यसको सार्वजनिक गर्दा कुनै महिला (नाम किटेर होइन) सँगको विवाहेत्तर सम्बन्ध यस प्रकरणमा जोडिएको छ भनिनुपथ्र्यो। अदालतले सार्वजनिक गर्ने आदेशमा त्यस्तै लेखिनुपथ्र्यो। नाम र पहिचान खुलाउनु हुने थिएन। उनको तस्बिर र अनुहार सार्वजनिक गर्न/गराउन मिल्ने थिएन। तर, उनीमाथि यति ठूलो ‘व्यापार’ भयो, सामाजिक सञ्जालदेखि मिडियासम्मले उनको तीन पुस्ता खुलाउनुमा पौरख ठाने। त्यसमै कमाइ देखे। आचार भुलेर अस्मितामाथि झुत्ती खेले।

अस्मिताको अस्मिता जोगाइदिने काम सबैभन्दा पहिला प्रहरीको थियो। त्यसपछि मिडियाको। सामाजिक सञ्जालको। र, चुकेका ती सबैलाई ठेगान लगाउनुपथ्र्यो अदालतले। तर, ठीक उल्टो भयो। प्रहरीले उनको नाम खुलाउँदै गयो। पक्राउ गरेर गर्वसाथ विवरण सार्वजनिक गर्‍यो। त्यही रूपमा अदालत पुग्यो। मिडियाले भटाभट त्यही लेखे। सामाजिक सञ्जाल उर्लिएरै लागे। अदालतले पनि त्यसमा ध्यान पुर्‍याउन सकेन। आदेशमा समेत उनको नामै किटिदियो।

अस्मिताको अस्मिता हनन गर्नेको संख्या जोड्ने हो भने लाख नाघ्यो। सामाजिक सञ्जालको जञ्जालमा केवल उनको बद्ख्वाइँ भयो। कतिका फेसबुक र युटुबमा उनका सामग्री बने। के ती ‘दुरुत्साहन’ भन्दा कमका हुन् र ?

हालसम्म सार्वजनिक भएका जानकारी र अदालतको प्रारम्भिक आदेशलाई निफन्दा उनले एउटा पुरुषलाई मन पराइन्। विवाहित ती पुरुष अर्थात् शालिकराम पुडासैनीले आफूलाई अविवाहित देखाए। प्रेमको ‘जालो’ मा पारे। जब उनले विवाहित थाहा पाइन्, फुत्किन चाहिन्। त्यसका लागि साथ, सहयोग र सहारा खोजिन्। त्यसको सदुपयोग/दुरुपयोग के भयो, भिन्नै कुरा। तर, त्यही क्रममा शालिकरामले देहत्याग गरे। यसमा अस्मिताबाट ‘दुरुत्साहन’ भयो/भएन, पछि कानुनले टुंग्याउला। परिस्थिति हेर्दा भने उनी तेहेरो पीडित भइन्– १. प्रेमको गुमराहमा पर्ने, २. अनावश्यक मुद्दा झेलिदिनुपर्ने र ३. समाजले दुत्कार्ने।

अस्मितालाई आफ्नै बहिनी सम्झिनुहोस्। छोरी मान्नुहोस्। यस्तो परिबन्दमा जोसुकै पर्न सक्छ। अनि, उनले खेपेको सार्वजनिक बदनामी नियाल्नुहोस्, के यो न्याय हो त ? खासगरी रविका लागि ‘न्याय’ माग्दै उर्लिएको जनसागरले यो गम्भीरतालाई किन बुझेन ? उनीमाथि भएको ठूलो अन्याय अरू केही होइन, नाम र पहिचान सार्वजनिक गरिनु हो। के जरुरी थियो अस्मिताको नाम, हुलिया र मान्छे देखाउन ? प्रमाणित हुने/नहुने प्रेमका अनेक कथा बुनेर छ्यालब्याल पार्नुपर्ने के बाध्यता थियो ?

समाजको मनोविज्ञान ‘सेलिब्रेटीकरण’ हुँदै गएको उदाहरण हो यो। रविलाई फसाइयो भन्ने ठूलो जमात सबैभन्दा फसाइएकी अस्मिताका नाममा मौन रह्यो। बरु उनको विवशतालाई खिल्ली उडाएर बस्यो। अस्मिता समातिँदा कोही चुइँक्क बोलेन, जब रवि समातिए, भीड उर्लियो। भन्न खोजिएको यति मात्र हो, समाजको दायित्व बलेको आगो ताप्ने मात्र हो त ?

रविका पक्षमा बहस गर्न सुरुमै कानुन व्यवसायीको लस्कर लाग्यो। युवराज कँडेल उनीसँगै जोडिए, खास समस्या भएन। निरीह अस्मिताले बेलैमा वकिलसम्म पाइनन्। हाम्रो समाजको सोच संकुचित छ। पीडित महिलालाई झन् पीडा दिन्छौं हामी। उसको परिबन्द र बाध्यता कसैले बुझ्दैन। यस्तै परिबन्दमा फसेकी चेली हुन् अस्मिता। अनावश्यक सार्वजनीकरणबाट लुटिएको उनको अस्मिता कसले फर्काइदिन्छ ? अदालतले ? राज्यले ? मिडियाले ? वा, उर्लिएको अपार भीडले ? सक्छ कसैले त्यो फर्काउन ?

संविधानको धारा ३८ मा महिलाको हक व्यवस्था गरिएको छ। त्यसको उपधारा (३) मा भनिएको छ, ‘महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।’ अस्मिताको विषय सामाजिक, मानसिक, यौनजन्य र मनोवैज्ञानिक हिंसाको उदाहरण हो। पहिचान सार्वजनिक गर्दा उनको सामाजिक प्रतिष्ठामा आघात पुगेको छ। खासमा उनीमाथि हदैसम्म ‘दुरुत्साहन’ भएको छ, एकातिर धोकेबाज प्रेमका क्रममा, अर्कोतिर यसको हल्लीखल्ली गर्ने उरनठेउलो प्रवृत्तिका नाममा।

तपाईं आफूलाई अस्मिता बनेर हेर्नुहोस्। आफूमाथि सबैबाट अन्याय भएको पाउनुहुनेछ। हो, प्रहरीले चाहे पुरुष होस् वा महिला, अभियोग लागेका सबैमाथि छानबिन गर्न पाउँछ। हरेक अभियुक्त अपराधी हुँदैन। त्यो भोलि अदालतले पर्गेल्ने नै छ। त्यता हामी नजाऊँ। तर, अस्मिताको अस्मिता बचाइदिने गरी गोपनीयता कायम राख्न सक्नुपर्ने थियो। त्यसमा ठूलो भूल भएकै हो।

पहाडबाट आएकी सामान्य परिवारकी हुन् अस्मिता। उनको समाज ब्वाई–फ्रेन्डलाई पार्टीमा सार्वजनिक गर्ने औकातको छैन। न त मेरो ‘ब्रेक–अप’ भयो भन्दै हिँड्ने हैसियतकै छ। त्यो समाज जहाँ प्रेम लुकेर हुन्छ, सच्चा हुन्छ। त्यसमै उनी छक्याइन्। र, त्यो विषय ठूलो राष्ट्रिय प्रकरण बन्यो। यसभन्दा गम्भीर सामाजिक घात कुनै सर्वसाधारण युवतीका लागि अरू के हुन सक्छ ?

भविष्यमा कानुनको आँखाले अस्मितालाई दोषी देखे पनि/नदेखे पनि यतिचाहिँ हो– उनको अस्मिताको क्षतिपूर्ति अर्को लडाइँको पाटो बन्नेछ। आवश्यक ठानेर ‘दुरुत्साहन’ को कानुन बनाइयो होला, तर ‘अस्मिता हनन’ को अर्को कानुन बनाउनु अब वाञ्छनीय पक्कै छ ? नीतिनिर्माताको ध्यान त्यता पनि जाला। अस्मिताको अस्मिता हनन गर्नेको संख्या जोड्ने हो भने लाख नाघ्यो। सामाजिक सञ्जालको जञ्जालमा केवल उनको बद्ख्वाइँ भयो। कतिका फेसबुक र युटुबमा उनका सामग्री बने। के ती ‘दुरुत्साहन’ भन्दा कमका हुन् र ?

के यसरी कसैको प्रतिष्ठा सिध्याउन पाइन्छ ? समाज– जवाफ चाहियो।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.