रवि लामिछानेका दुई चुनौती : पत्रकारले पुग्दैन, नेता बन्न गाह्रो छ


क्षणिक लोकप्रियतामा बहकिएर राजनीतिक विकल्प दिन सकिँदैन
डा. सूर्यराज आचार्य

रवि लामिछाने अहिले जनताको अख्तियारको प्रतिनिधिपात्र जस्तो हुनुभएको छ । बालुवाटारको अख्तियारचाहिँ सीमित मान्छेहरुका लागि मात्रै छ । तर, वैदेशिक रोजगारीमा अन्याय परेका सामान्य मान्छेले अहिले रवि लामिछानेको नाम पहिला लिने अवस्थाको उहाँले छवि बनाइदिनुभयो । पत्रकारिताभन्दा निकै पर पुगेर एकदम भुइँ तहका जनताको सदभाव जित्ने रवि लामिछानेको पृष्ठभूमि बनेको छ । अनि, समाजमा बढ्दै गएको आक्रोश र निराशा मिल्दाखेरि रवि लामिछानेको पक्षमा देखिएको उभार हो यो ।

पत्रकारकै रुपमा रहने हो भने अब रवि लामिछानेमा ‘लिमिटेसन’ देखिनेछ । मलाई के लाग्छ भने जुन मास चितवनमा देखियो, यो उहाँप्रतिको सदभाव हो । राज्य संयन्त्रप्रति आम मान्छेको पूर्ण भरोसा छैन । त्यसैले अब समाजले रवि लामिछानेजीलाई जुन सदभाव र अपेक्षा राखेको छ, अब मलाई के लाग्छ भने रवि लामिछानेलाई पत्रकारका रुपमा मात्रै आफूलाई निरन्तरता दिन एउटा नयाँ चुनौती थपिएको छ ।

यो १०/१५ दिनको परिघटनाले अब रवि लामिछानेबाट समाजले अपेक्षा गरेको एउटा पत्रकारको भूमिकाभन्दा धेरै बढी छ । समाज रुपान्तरककै रुपमा रवि लामिछाने आएको जस्तो गरेर उहाँप्रति मानिसहरुको अपेक्षा ह्वात्तै बढिदियो । उहाँको छवि पनि देशव्यापी रुपमा भयो । अब यो किसिमको अपेक्षा उहाँले एउटा टेलिभिजनको कार्यक्रममात्रै चलाएर मात्र पूरा गर्न सजिलो छैन ।
उहाँलाई अब स्पटलाइट पनि धेरै पर्छ । अहिलेसम्म उहाँ टेलिभिजनको कार्यक्रम प्रस्तोतामात्रै हुनुहुन्थ्यो, अब त धेरै ठूलो सार्वजनिक व्यक्तित्व भइसक्नुभयो । जनताले सदभाव पनि देखाएका छन्, अपेक्षा पनि गरेका छन् । त्यो भएको हुनाले अब उहाँले मर्यादित पत्रकारको सीमामा मात्रै बसेर जनताको आकांक्षालाई सम्वोधन गर्न त्यति सहज नहोला ।

राजनीतिको टोपी लगाएपछि फ्यानहरु गेटभित्र छिर्दैनन्

हाम्रो साझा पार्टीका नेता रविन्द्र मिश्रजीको कुरा गर्ने हो भने समाज सेवामा, बीसीसी रेडियोमा उहाँ एकजना स्टार पत्रकार हुनुहुन्थ्यो । सेलिब्रेटी पत्रकार हुनुहुन्थ्यो । उहाँको प्रभाव क्षेत्र बीबीसी सुन्ने र वौद्धिक समुदायको वीचमा थियो ।

हाम्रो अनुभव के छ भने रविन्द्र मिश्रजी पत्रकारका रुपमा, कविका रुपमा वा परोपकारी समाजसेवीका रुपमा मोफसलका जिल्लामा जाँदा मानिसहरुले ५ सय रुपैयाँको टिकट किनेर उहाँका कविता सुन्थे । कविता सुन्नलाई हजारौं मान्छे आउँथे । अहिले हामीले देशको राजनीतिको चर्चा कतिपय अवस्थामा पार्टीको ब्यानरमा पनि नगर्ने भनेर नागरिक अन्तरक्रिया गर्दा पनि राजनीतिक पार्टी भन्नेवित्तिकै उहाँकै फ्यान भएर बसेको मान्छे पनि गेटबाट भित्र छिर्न संकोच मान्छन् ।

त्यसैले मलाई के लाग्छ भने रवि लामिछानेजीको अबको चुनौती चाहिँ के हुन्छ भने जनताले उहाँबाट अपेक्षा गरेको र हस्तक्षेपको तहचाहिँ पत्रकारको घेराबाट निस्केर राजनीतिक हस्तक्षेपको अपेक्षा गरेको छ । उहाँले अब राजनीतिमा ट्रान्सफर हुनलाई ग्राउण्डचाहिँ उर्बर नै छ । तर, त्यो ट्रान्जिसन उहाँले कति कुशलतापूर्वक पार गर्नुहोला ? यदि उहाँले चाहनुभएको हो भने ।
यसमा हाम्रो अनुभव के छ भने नेपाली समाज र राजनीतिको रेस्पोन्स प्रतिक्रियात्मक मात्रै रहेछ । भइरहेको सिस्टमलाई विरोध गर्ने र भइरहेको विसंगतिलाई विरोध गर्नेमा चाहिँ आक्रोशका साथ मानिसहरु सहजै गोलबन्द हुने, तर प्रोएक्टिभ अवस्थामा जानेबेलामा नआउने ।

हाम्रो साझा पार्टीकै कुरा गर्नुहुन्छ भने अहिले पनि हामीले के भनेर आफूलाई पेश गरेका छौं भने हामी यो विसंगति र कमजोरीको प्रतिक्रिया मात्र व्यक्त गर्ने होइन, यसको रुपान्तरणको पनि हामीसँग रोम्याप छ है भनेर जाँदाखेरि पनि राजनीति भन्नासाथ यो एजेण्डामा जोडिन आउन गाह्रै छ नेपालीहरु ।

मैले भन्ने गरेको एउटा वास्तविकता के हो भने यहाँ केही गरी यी ठूला दलहरुले संघीयता उल्ट्याउने निर्णयमा पुगेछन् भने पनि चित्रबहादुर केसीले चुनाव हार्नुहुन्छ । संघीयता चाहिँदैन भन्ने पेटेन्ट राइट त चित्रबहादुर केसीसँग छ नि । कमल थापाजीहरुसँग भन्दा पनि उहाँसँग छ । तर, हाम्रो राजनीतिको स्वरुप यस्तो छ कि भोलि कथंकदाचित संघीयता भएन छ भने पनि चित्रबहादुरले चुनाव हार्नुहुन्छ । जस लिने यिनै ठूला दलहरु नै हुन्छन् ।

वैकल्पिक शक्ति निर्माणका प्रयासहरु

हामीले हेर्ने हो भने ०४७/०४८ सालतिर डा. देवेन्द्रराज पाण्डेले नयाँ पार्टी (लोक दल) सुरु गर्नुभएको थियो । त्यतिखेरको एमाले र नेपाली कांग्रेसको शैली हेर्दा डा. पाण्डेलाई के आँकलन गर्न गाह्रो थिएन भने यो शक्ति सत्तामा आयो भने यसले देशलाई २०/३० वर्षपछि कता लैजान्छ । यो बुझ्न उहाँलाई गाह्रो थिएन र उहाँले लोक दल नामको नयाँ पार्टी खोल्नुभयो ।

तर, उहाँलाई पो सबै कुरा थाहा थियो र फ्रस्टेसन थियो त, जनता त कांग्रेस र कम्युनिष्टप्रति उत्साहित नै थिए । त्यसैले डा. पाण्डेको फ्रस्टेसन र जनताको उत्साहले म्याच खाएन र उहाँको नयाँ पार्टी बनाउने अभियान सफल भएन ।

अहिले हामीले बनाएको साझा पार्टी, विवेकशील वा डा. भट्टराईसम्म आइपुग्दा हामीले कांग्रेस र कम्युनिष्टहरुले जतिसुकै बहुमत ल्याए पनि देशमा निकास निस्कँदैन भनेर नयाँ पार्टी सुरु गरेका हौं ।

जतिबेला हामीले पार्टी लञ्च गरेका थियौं, त्यतिबेला मिडियाका साथै वौद्धिक व्यक्तित्वको साथ थियो । तर, गएको चुनावमा जनता कांग्रेस र कम्युनिष्टप्रति निराश भएनन् । उनीहरु झन् वामपन्थी मिलेपछि उत्साहित भए । झन् उल्टो उनीहरुलाई नै दुई तिहाई दिए ।

चुनाव भएको अब जुन २ वर्ष हुन लाग्यो । अहिलेको अवस्था के हो भने नेपाली जनता यति असहाय र आक्रोशित, फ्रस्टेटेड र निराश २००७ सालयता भएकै थिएनन् । ’cause, जनताले उसबेला एउटा आश गर्ने ठाउँ छाडेका थिएनन् । पञ्चायत निरंकुश थियो, बहुदल आएपछि केही होला भनियो । ०६२/०६३ मा माओवादी आएपछि माओवादीलाई मत दिएका हुन् नि जनताले । यत्रो उत्षर्ग गरेर आएकाले केही न केही परिवर्तन गर्छ होला, कांग्रेस र एमालेजस्तो हुँदैन होला भनेर माओवादीलाई मत दिएका हुन् जनताले ।

फेरि पछिल्लोचोटि वामपन्थीहरु मिले । वामपन्थी समर्थक जनतामा सधैं के थियो भने यी वामपन्थी फुटे, यिनीहरु एक भएर एकमना सरकार बनाउन सके भने त गर्छन् भन्ने थियो । तर, अहिले त्यो पनि पटाक्षेप भयो ।

गणतन्त्रको विकल्प गणतन्त्र नै हो

रवि लामिछानेको अहिले जुन छवि बनेको छ, यसमा राजनीतिमा जानेवित्तिकै सामान्य भ्रष्टाचार र विसंगतिका विरुद्धमा क्रियाशील हुन्छु भन्नु र राजनीतिक टोपी लगाएर राजतन्त्र अथवा अरु कुनै राजनीतिक मुद्दाहरुमा मुख खोल्न उहाँजस्तो व्यक्तित्वले निकै सोचविचार गर्नुपर्छ ।

त्यसैले अहिले जसरी धमिलो पानीमा माछा मार्ने र यो व्यवस्था नै उल्टाउने भन्ने तहको जुन एकथरि अलिकति चाहिनेभन्दा बढी उत्साहित भएका छन्, त्यो समूहले पनि जान्नुपर्ने कुरा के हो भने यहाँको राजतन्त्र आफ्नै कारणले गएको हो ।

राजतन्त्रको विकल्प भनेको ०५८/०५९ सालमै फेल भइसकेको अप्सन हो । गणतन्त्रको विकल्प गणतन्त्र नै हो । हाम्रो अहिलेको गणतन्त्रमा केही समस्याहरु छन् । तर, यसको विकल्प यो भन्दा पछाडि गएर अर्को कुनै पनि तन्त्र हुँदैन । यसको विकल्पमा हामीले योभन्दा उन्नत नै खोज्नुपर्छ ।
हुन त अहिले एकथरिको भनाइ के छ भने राष्ट्रपतिको अफिस दलीय हुने भयो, त्यो मर्यादित भएन । त्यसो हो भने त्यसलाई मर्यादित बनाऔं न । यो कुनै गाह्रो कुरो छैन । त्यसलाई मर्यादित बनाउन सकिन्छ । तर, गणतन्त्रकै विकल्प खोज्ने भन्ने कुराले न मुलुकलाई त्यसले भलो गर्छ, न त्यसको पछि लाग्ने शक्तिलाई भलो गर्छ ।

अहिलेको विसंगतिको विकल्प योभन्दा उन्नत विकल्प हुनुपर्छ । अब हामीले त्यही उन्नत विकल्प खोज्ने हो । अहिले कांग्रेस र कम्युनिष्ट पार्टीभित्रका नेताहरुले अपनाएको संस्कारको विरोध हुनुपर्छ । तर, अहिले राजावादी भनिएका शक्तिहरु पनि चन्द्रमाबाट टप्किएका त होइनन् । हामीले उहाँहरुको विगत नदेखेको हो र ? अहिले राजालाई पुनस्र्थापना गर्नुपर्छ भन्ने व्यक्तिहरु सत्तामा हुँदा के-के गरेका थिए, नेपालीले नदेखेको हो र ? त्यति सर्ट मेमोरी छ र हाम्रो ? त्यसैले हामी एकदमै सतही लोकप्रियतामा बग्नुहुँदैन ।

अब रवि लामिछानेजीजस्तो व्यक्तित्वले यस्ता कुराहरुमा राजनीतिको भुइँमा बसेरै हेर्नुपर्ने हुन्छ । एउटा क्षणिक लोकप्रियतामा बहकिएर त्यो तहसम्म यो राजनीति अगाडि जाला भन्ने मलाई लाग्दैन ।

रवि लामिछानेको पक्षमा देखिएको जनमतले नेपाली जनता कांग्रेस र नेकपाको विकल्प खोज्न लालायित छन् भन्ने देखाएको छ । तर, गणतन्त्रको विकल्प गणतन्त्र नै हो ।

(साझा पार्टीका प्रवक्ता डा. आचार्यसँग कुराकानीमा आधारित)(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.