खगेन्द्र भण्डारी
काठमाडौं : लोकतान्त्रिक पार्टीका रुपमा चिनिने नेपाली कांग्रेसका भातृसंस्था लामो समयदेखि अधिवेशन नहुँदा तदर्थवादको अवस्थाबाट गुज्रिएका छन्। कमजोर प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसलाई सशक्त बनाउन भातृसंस्था चलायमान बनाउनुपर्ने भए पनि सबैजसो भातृसंस्थाको अवस्था भने ‘दयनीय’ छ। कांग्रेसका १३ भातृसंस्थामध्ये अधिकांशको समयावधि गुज्रिसकेको छ। विधानअनुसार समयमै अधिवेशन नहुँदा ती भातृसंस्था अस्तित्वमा मात्रै सीमित छन्। ‘कांग्रेसले पार्टीलाई आधुनिक र सुदृढ बनाएर जाने हो भने भातृसंघसंगठन र शुभेच्छुकसंगठनलाई आधुनिक बनाउन आवश्यक छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘केन्द्रीय समिति बैठकमा यस’bout छलफल हुन्छ र पार्टीले आवश्यक निर्णय गर्छ।’
कांग्रसको आज केन्द्रीय समिति बैठक बोलाइएको छ। पार्टी महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा विभिन्न १४ एजेण्डा छलफलका लागि पेश गरेकोमा आजको बैठकमा भातृसंस्थाहरु’bout छलफल हुने कांग्रेसले जनाएको छ। भातृ संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्बन्धमा बैठकमा छलफल हुने कार्यसूची रहेको छ।
कांग्रेसको नर्सरीका रुपमा चिनिने नेपाल विद्यार्थी संघ (नेविसंघ) विघटित छ। थपिएको समयमा पनि अधिवेशन गर्न नसकेको भन्दै नैनसिंह महर नेतृत्वको समिति भंग गरिएको थियो। त्यसपछ नयाँ कार्यसमिति आउन सकेको छैन। यता नेपाल तरुण दल चार जना पदाधिकारीको भरमा सञ्चालित छ। तीन वर्ष कार्यकाल रहेको तरुण दलको अहिलेको कार्यसमितिको समयावधि सकिन अब चार महिनामात्र बाँकी छ। तर कार्यसमितिले पूर्णता पाउन सकेको छैन।
नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको विधान अनुसार अवधि सकिइसकेको छ। शुभेच्छुक संस्थाको हालत पनि उस्तै छ। ‘नेविसंघको नेतृत्व चाँडै चयन हुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले भने, ‘भदौ २४ गतेअघि नै यसको टुंगो लाग्छ। बाँकी भातृसंस्था’bout पनि बैठकमा छलफल हुन्छ र एउटा उपयुक्त निर्णय हुन्छ।’ भदौ २४ गतेदेखि कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुँदैछ। ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा जागरण अभियान हुँदैछ।
समयावधि सकिएका भातृसंस्थाहरुलाई अधिवेशनका लागि समय दिने कि विघटन गर्ने भन्नेमा केन्द्रीय समिति बैठकमा छलफल हुने जनाइएको छ। ‘समयावधि गुज्रिसकेका भातृसंस्थाहरुलाई निश्चित समय दिएर अधिवेशनमा लैजाने कि धन्यवाद दिँदै विदा दिने र नयाँ नेतृत्वको खोजी गर्ने,’ प्रवक्ता शर्माले अन्नपूर्णसँग भने, ‘यी दुई वटै विकल्पमा केन्द्रीय समितिमा छलफल हुन्छ।’
आफूलाई लोकतान्त्रिक भन्ने पार्टीकै भातृसंस्थाको अधिवेशन समयमै नहुनुले पार्टीभित्रै आन्तरीक लोकतन्त्रको खाँचो रहेको कांग्रेसकै नेताहरुले बताउने गरेका छन्। भएका भातृसंस्थाहरुको अवस्था भद्रगोल भएका बेला कांग्रेसमा आधा दर्जनबढी संघसंस्थाले भातृसंस्था तथा शुभेच्छुक संस्थाको मान्यताका लागि पार्टीमा आवेदन दिएका छन्। (अन्नपूर्ण )