विश्व ट्वान्टी–२० एसिया छनोट
काठमाडौँ — नेपाल विश्व ट्वान्टी–२० एसिया छनोटको निर्णायक खेलमा सिंगापुरसँग पराजित भएको छ । आइतबार ८२ रनको फराकिलो हारपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो । इन्डियन एसोसिएसन ओभल मैदानमा टस जितेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९२ रनको विशाल स्कोर बनायो। जबाफमा आएको नेपाल १५ ओभरमा १ सय ९ रनमै अलआउट भयो।
राउन्ड रोबिनका पुरै ४ खेलको समाप्तीमा सिंगापुरले ७ अंक बटुलि विजेता बन्यो। पाँच राष्ट्र सहभागि प्रतियोगिताको विजेता राष्ट्र अक्टोबर–नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने प्रावधान अनुरुप सिंगापुरले पहिलो पटक ग्लोबल छनोटमा खेल्ने छ।
दुई खेलमात्र जितेको नेपाल ४ अंकसहित तेस्रो स्थानमा रहयो। नेपाल पहिलो खेलमै कतारसँग ४ विकेटको स्तब्ध हार बेहोरेको थियो। ४ नै अंक भए पनि नेपाललाई रन रेटमा उछिन्दै कतार दोस्रो स्थानमा रहयो। (कान्तिपुर )