सातै प्रदेशका सांसदलाई कुस्त बजेट


प्रदेशहरुको कुल विकास बजेटको ९.०८ प्रतिशत प्रदेश सांसदले खर्च गर्ने भएका छन्
कृष्ण आचार्य, लीलाबल्लभ घिमिरे, अजित तिवारी, सुवास विडारी, लालप्रसाद शर्मा, घनश्याम गौतम, चाँदनी कठायत, अर्जुन साह

काठमाडौँ — अधिकारसम्पन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदको तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् । सबै प्रदेशहरूले विनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका हुन् ।
आइतबार सातै प्रदेशहरूले आउँदो आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमध्ये कुल विकास बजेट १ खर्ब ३० अर्ब ९० करोड २४ लाख ३७ हजार रुपैयाँ हो । यसको ९.०८ प्रतिशत अर्थात् ११ अर्ब ८८ करोड ९० लाख रुपैयाँ प्रदेश सांसदहरूले खर्च गर्ने गरी विनियोजन गरिएको छ ।

गत वर्ष सांसदलाई प्रदेश निर्वाचन क्षेत्रअनुसार बजेट विनियोजन नगरेको गण्डकी प्रदेशले समेत यस पटक प्रदेश सांसदलाई रकम छुट्याएको छ । पछि कार्यविधि बनाएर खर्च गर्ने गरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकमका आधारमा एक सांसदलाई एक करोड २० लाख रुपैयाँ पर्न जान्छ ।

एक नम्बर प्रदेशले निर्वाचन क्षेत्र र मनोनीत सांसदहरूका लागि छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरेको छ । प्रतिनिर्वाचन क्षेत्र २ करोड ५० लाख र अन्य सांसदहरूलाई ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । यी दुवै कार्यक्रमका लागि प्रदेश १ ले १ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश २, ३ र सुदूरपश्चिम प्रदेशले प्रतिसांसद ३ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । ५ नम्बर प्रदेशले प्रदेशसभाका सदस्यहरूको सिफारिसमा १० लाखका दरले ६ वटा योजनामा खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । यसरी खर्च गर्दा ८७ सांसदहरूमार्फत ५२ करोड २० लाख रुपैयाँ खर्च हुन्छ ।

कर्णाली प्रदेशले भने कार्यक्रमको नाम छुट्टै प्रकृतिको राखेको छ । उसले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै आउँदो चैतसम्मका कार्यक्रम सम्पन्न गर्ने गरी जनता सडक कार्यक्रम भन्दै प्रदेश सांसदले खर्च गर्ने गरी ६३ करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो वर्षमा पनि ६३ करोड रुपैयाँ नै खर्च गर्ने गरी यही कार्यक्रमलाई निरन्तरता दिने बजेट वक्तव्यमा उल्लेख छ ।

सबै प्रदेशको २ खर्ब ५९ अर्ब
सबै प्रदेशको कुल बजेट २ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँको छ । यसमध्ये गत वर्ष जस्तै सबैभन्दा ठूलो बजेट प्रदेश ३ ले ल्याएको छ । ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार प्रदेश ३ को कुल बजेट हो । यसमध्ये चालु बजेट २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार विनियोजन गरेको छ ।

पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ र वित्तीयतर्फ ३० करोड हुने जनाइएको छ । प्रदेश ३ को तुलनामा सुदूरपश्चिमको बजेट भने झन्डै ४१ प्रतिशतले कम आएको छ । उसले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार चालु र १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार पुँजीगत बजेट हुने उल्लेख छ ।

बाँकी २ अर्ब ५२ करोड २१ लाख ७२ हजार रुपैयाँ वित्तीय बजेटतर्फ विनियोजन गरेको छ । अंकका हिसाबले प्रदेश ३ पछि सबैभन्दा ठूलो बजेट प्रदेश १ को हो । प्रदेश १ ले ४२ अर्ब २० करोड रुपैयाँको बजेट ल्याएको छ । यसपछि क्रमशः २, ५, कर्णाली र गण्डकी प्रदेश हुन् । यी प्रदेशहरूको बजेट क्रमशः ३८ अर्ब ७२ करोड ५६ लाख, ३६ अर्ब ४१ करोड ६७ लाख, ३४ अर्ब ३५ करोड ३४ लाख र ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

कर्णाली प्रदेशको परनिर्भरता बढी
३४ अर्ब ३५ करोडको बजेट ल्याएको कर्णाली प्रदेश स्रोतमा भने सबैभन्दा बढी परनिर्भर देखिएको छ । अर्थात् उसको कुल बजेटको शून्य दशमलब ७ प्रतिशत मात्रै आफैंले राजस्व उठाउने गरी बजेट ल्याएको छ । २५ करोड १० लाख ४१ रुपैयाँ आन्तरिक राजस्व उठाउने जनाएको छ ।

७५ करोड रुपैयाँ भने आन्तरिक ऋण उठाउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । बाँकी सबै रकम केन्द्रबाट प्राप्त हुने विभिन्न प्रकारका अनुदान, केन्द्र सरकारले दिने राजस्व बाँडफाँटको रकम, प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको रकमबाट आफ्नो लक्ष्यअनुसारको खर्च गर्ने योजना कर्णाली प्रदेशले बनाएको छ ।

स्रोतमा परनिर्भरता बनाउनुपर्ने अर्को प्रदेश सुदूरपश्चिम हो । उसले आफ्नो कुल बजेटको करिब ३ प्रतिशत मात्रै आफ्नै क्षेत्रको राजस्वबाट रकम जुटाउने छ । अर्थात् सुदूरपश्चिमको २८ अर्ब १६ करोड बजेटमध्ये ८२ करोड ६८ लाख १७ हजार रुपैयाँ आफ्नै प्रदेशबाट राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यस वर्ष करिब ४ अर्ब ७८ करोड ५३ लाख रुपैयाँ बच्ने र बाँकी रकम केन्द्रबाट प्राप्त हुने विभिन्न शीर्षकबाट खर्च धान्ने योजना सुदूरपश्चिम प्रदेशको छ । उसले आन्तरिक ऋण पनि नउठाउने र केन्द्रसँग पनि ऋण नलिने योजना बनाउँदै बजेटल्याएको छ ।

आफ्नो क्षेत्रमा सबैभन्दा धेरै राजस्व उठाउने र तुलनात्मकरूपमा परनिर्भरता कम भएको प्रदेश ३ र २ छ । यी प्रदेशहरूले क्रमशः १५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ, १३ अर्ब ५४ करोड ३१ लाख ६९ हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने भएका छन् ।

४ वटा प्रदेशले ऋण लिने
सातमध्ये ४ वटा प्रदेशले ऋण नै नउठाउने गरी बजेट ल्याएका छन् । आन्तरिक ऋण उठाउन पाउने र केन्द्र सरकारसँग लिन सक्ने दुवै व्यवस्था भए पनि यसलाई उनीहरूले आवश्यक ठानेनन् । प्रदेश १, प्रदेश ३, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशले यी दुवै ऋण नलिने भएका हुन् । बाँकी प्रदेश २, गण्डकी र कर्णाली प्रदेशले भने ऋण लिनेछन् ।

गण्डकी प्रदेशले त आफ्नो क्षेत्रभित्र पनि उठाउने र केन्द्र सरकारसँग पनि ऋण माग गर्ने गरी बजेट ल्याएको छ । ९८ करोड ८३ लाख ९२ हजार रुपैयाँ आफ्नो क्षेत्रभित्र उठाउने र १ अर्ब रुपैयाँ केन्द्र सरकारसँग ऋण माग गर्ने गरी बजेट ल्याएको छ । प्रदेश २ ले १ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । कर्णाली प्रदेशले पनि ७५ करोड रुपैयाँ ऋण उठाउने गरी बजेट ल्याएको छ ।

केही सकारात्मक धेरै कनिका छराइ
सातवटै प्रदेशहरूले केही सकारात्मक र धेरै दीर्घकालीन महत्त्व नराख्ने वितरणमुखी प्रकृतिकै कार्यक्रममा बजेट विनियोजन गरेका छन् ।

प्रदेश १– पूर्वाधारदेखिकर्मचारीलाई नगद
प्रदेश १ ले केचनादेखि सगरमाथा आधारशिविरसम्म द्रुत सडक बनाउने दीर्घकालीन महत्त्वको सडकलाई बजेट विनियोजन गरेको छ । त्यस्तै धरान–मूलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन, कृषि र पर्यटन, उद्योग र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा प्राथमिकता दिने राम्रो योजना छ । गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययनका लागि बिनाधितो ऋण उपलब्ध गराउने प्रचारमुखी कार्यक्रम पनि ल्याएको छ ।

प्रदेश मातहतका कर्मचारीहरूलाई पर्यटनको विकास गर्न भन्दै वर्षमा ६ दिन बिदा र २५ हजार नगद दिइने वितरणमुखी कार्यक्रम प्रदेश १ को बजेटमा छ । यति मात्रै हैन, मुख्यमन्त्रीका नाममा आधा दर्जन कार्यक्रम ल्याइएको छ । मुख्यमन्त्री, मन्त्री, युवा उद्यमशिलता र मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमका लागि क्रमशः २० करोड र ७४करोड बजेट विनियोजन छ । प्रदेश १ का धेरै योजना एक करोड रुपैयाँ लागतका छन् ।

प्रदेश २– गौरवका आयोजनादेखिबेटी बचाऊसम्म
प्रदेश २ ले यसै वर्ष सुरु गरेको मुख्यमन्त्री बेटी पठाऊ बेटी बचाऊ कार्यक्रमले निरन्तरता पाएको छ । प्रदेशभित्र ‘प्रदेश साझा परिवहन सेवा’ सञ्चालनको कार्यक्रम पनि ल्याएको छ । त्यस्तै पूर्वाधारतर्फ जनकपुर–बर्दिवास औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन र प्रदेश गौरवका योजना पहिचान र लगानी गर्न प्रदेश २ को महत्त्वपूर्ण कार्यक्रम हो ।

मन्त्रिपरिषद्बाट लगानी भित्र्याउन विभिन्न कर छुटको निर्णय गरेकोमा बजेटमार्फत त्यसलाई अनुमोदन पनि गरेको छ । केन्द्रकै सिको गर्दै वितरणका कार्यक्रम पनि प्रदेश २ का छन् । उसले जनता आवास कार्यक्रम, खेतखेतमा पानी, हातहातमा काम जस्ता योजना ल्याएको छ । एक पालिका एक पोखरी सौन्दर्यीकरण, आपके सरकार, आपके द्वार जस्ता कार्यक्रम पनि ल्याएको छ ।

प्रदेश ३– सन् २०२०/३० भ्रमण दशक
बजेट नै उल्लेख नगरी सन् २०२० देखि २०३० सम्म प्रदेश भ्रमण दशक कार्यक्रम ल्याएको प्रदेश ३ ले धेरै कार्यक्रमहरू ल्याएको छ । बहुप्राविधिक महाविद्यालय स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ । ‘छोरी बुहारी छात्रवृत्ति कार्यक्रम’ पनि प्रदेश ३ मा छ । सामुदायिक अस्पतालमा पूर्वाधार विकास गर्न ४१ करोड रुपैयाँ र समुदायिक क्याम्पसहरूको भौतिक सबलीकरण गर्न २३ करोड बजेट विनियोजन गरेको छ । भीमफेदी–कुलेखानी सुरुङ मार्गदेखि प्रदेश चक्रपथ निर्माण कार्यक्रम आएका छन् ।

युवा स्वयंसेवक परिचालनका लागि दुई सय युवालाई व्यावहारिक सैद्धान्तिक तालिम दिई परिचालन गर्ने नीति घोषणा गरेको छ । स्पष्ट कार्यक्रम र कार्ययोजना बिना प्रदेशभित्रका १३ वटै जिल्लामा कम्तीमा एउटा कृषि प्रवर्द्धन कार्यक्रमका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै सर्वसाधारण नागरिकलाई सुसूचित गर्न प्रदेश जागरण अभियान सञ्चालन गर्ने जनाएको छ ।

गण्डकी– दुई वर्षमा साक्षरदेखि कनिका छराइ
केही पर्यटन पूर्वाधारमा जोड दिएको गण्डकी प्रदेशले २ वर्षमा पूर्ण साक्षर प्रदेश गराउने घोषणा गरेको छ । साथै उज्यालो प्रदेश, सबै घरमा खानेपानी र युवा लक्षित धेरै कार्यक्रमहरू ल्याएको छ । तर नीति तथा कार्यक्रमका प्राथमिकता नदिएको, वितरणमुखी, ठूलाभन्दा पनि साना योजना बढी बजेट यो प्रदेशमा छन् ।

प्रदेश ५– धेरै पुराना थोरै नयाँ
प्रदेश ५ ले केही नयाँसहितआफ्नो बजेट ल्याएको छ । चालु वर्षकै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम निरन्तरता दिएको छ । त्यस्तै यसै वर्षको स्मार्ट कृषि कार्यक्रमले पनि निरन्तरता पाएको छ । कृषिकर्मी रोजगार कार्यक्रम, किसानलाई ब्याजमा अनुदान र उत्पादनमा आधारित मूल्य शृंखला कार्यक्रम प्रदेश ५ को बजेटमा छ । औद्योगिक क्षेत्रका लागि प्रदेश ५ पर्याप्त सम्भावनाको क्षेत्र भए पनि प्राथमिकतामा नपरेको आरोप पनि लागेको छ ।

कर्णाली– धुलोमुक्तदेखि छोरीलाईबैंक खाता
कर्णाली प्रदेशले वीरेन्द्रनगरलाई धुलोमुक्त बनाउनेदेखि छोरीको बैंक खाता खोल्ने कार्यक्रम ल्याएको छ । सुब्बाकुनादेखि बांगेसिमलसम्म साइकल लेन निर्माण गर्ने, बजेट कार्यान्वयन गर्ने आर्थिक वर्षको अवधि ६ महिना थप्ने कर्णाली प्रदेशका योजना छन् ।

त्यस्तै बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेको छ । ‘हाम्मा मुख्यमन्त्री हाम्मा कुडा’ कार्यक्रममार्फत सरकार र जनताबीच सम्बन्ध जोड्ने भन्दै बजेटमा समावेश गरिएको छ ।

सुदूरपश्चिममा पनि गौरवका आयोजना
कृषिमा जोड दिएको भनेको सुदूरपश्चिम सरकारले धेरै विगतकै कार्यक्रमलाई निरन्तरता दिएको छ । यस वर्ष सुरु गरेका कृषि क्षेत्रको बजेटमा शतप्रतिशत बृद्धि गरेको जनाएको छ । हरेक स्थानीय तहमा ‘नमुना कृषि गाउँ आफैं बनाउँ’ कार्यक्रम ल्याएको छ । सार्वजनिक–निजी साझेदारीमा ३ मेगावाटसम्मको जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । प्रदेशस्तरका गौरवका सडक पनि छन् । युवाहरूलाई स्वरोजगारमूलक तालिम यो प्रदेशले पनि ल्याएको छ ।

प्रदेश १ः केचना–सगरमाथा आधारशिविर द्रुत सडक । धरान–मूलघाट सुरुङमार्ग, कोसी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन । कृषि, पर्यटन, उद्योग र सामुदायिक विद्यालयको गुणस्तरमा प्राथमिकता ।

प्रदेश २ः आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता । कृषि तथा गैरकृषि क्षेत्रमा आयआर्जन बढाउने योजना । गरिब, अल्पसंख्यकलाई संरक्षण ।

प्रदेश ३ः औद्योगिकक्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने कार्यक्रम । चार वर्षभित्र सबै स्थानीय तहबाट
केन्द्रसम्मै चल्ने सडक ।

गण्डकीः खानेपानी, सिँचाइ र ऊर्जामा पुरानै योजना । प्रशासनिक केन्द्रलाई डेढ अर्ब, पर्यटन गुरुयोजना बन्ने ।

प्रदेश ५ः आन्तरिकराजस्वतर्फ महत्वाकांक्षी लक्ष्य । सीमान्तकृत र लक्षित वर्गको आवास सुविधाका लागि ७५ करोड ।

कर्णालीः सुरुङ मार्ग, द्रुत मार्ग, विद्युत् उत्पादनजस्ता महत्वाकांक्षी योजनादोहोरिएनन् । राजस्वको लक्ष्य आधा घट्यो ।

सुदूरपश्चिमः कृषिलाई उच्च प्राथमिकता । बाजुरा र दार्चुलामा ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियान । (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.