काठमाडौं, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै बसेर भ्रष्टाचार गरेको अभियोग लागेका राजनारायण पाठकलाई कारबाही नहुने संकेत मिलेको छ । कारबाहीबाट उम्किन पाठकले आयुक्त पदबाट राजीनामा दिएको रहस्य बाहिर आएको छ । सरकार र संसदले पनि पाठकलाई कारबाही गर्ने विषयमा खासै ध्यान नदिएको आरोप लाग्न थालेको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले पनि पाठकलाई कारबाही गर्ने विषयमा कुनै चासो नदेखाएको आरोप छ । प्रमुख आयुक्त घिमिरेले पाठकलाई कारबाही नगर्ने हो भने अख्तियार र अख्तियारका जिम्मेवारपूर्ण पदमा बसेकाहरूमाथिका विश्वास गुम्नेछ ।
पाठकलाई कारबाही नहुने देखेपछि सामाजिक सञ्जालमा ‘ठूला माछा’हरूलाई कारबाही कसले गर्ने भनेर प्रश्नहरू उठेका छन् । ठूला माछाहरू अदालतबाटै धरौटीमा उम्कने क्रम चलिरहेको बेला पाठकको काण्ड बाहिर आएको छ । पाठकले अख्तियारमा बसेर भ्रष्टाचारको मुद्धा मिलाइदिने भनेर लाखौँ रकम उठाएको एउटा प्रमाण मात्रै बाहिर आएको छ । पाठकले अबैध रुपमा कमाएको सम्पत्ति पनि बैध हुन एकजना कानून व्यवसायीले बताए ।
त्यस्ता काण्डहरूले उनले कति गरेका छन् त्यो त छानविन गरेपछि बाहिर आउने हो । भ्रष्टाचारीलाई कारबाही गर्ने ठाउँमा बसेर आफूले भ्रष्टाचार गर्ने यस्ता ठूला माछालाई हदैसम्मको कारबाही गर्नुपर्छ भनेर आवाज उठ्न थालेको छ ।
पाठकको चर्तिकलाले अख्तियाको जिम्मेवारपूर्ण ठाउँमा बसेर बार्गेनिङ गर्ने, चरित्र हत्या गर्न मुद्धा चलाउने जस्ता कार्यले अख्तियारमाथि ठूलो प्रश्न उठेको छ ।
पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग ७४ करोड रुपैयाँ घुस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार सार्वजनिक भएपछि उनको घुस प्रकरणको विषय अहिले चर्चामा छ ।
अख्तियारले अदालतमा मुद्दा चलायो र त्यो प्रमाणित भयो भने पाठक कम्तीमा ९ देखि १२ वर्षसम्म जेल जान सक्छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ले घुस लिने व्यक्तिलाई बिगोबमोजिम जरिमाना गर्नुपर्ने भनेको छ ।
दफामा ५० लाखदेखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ वर्षदेखि ८ वर्षसम्मको कैद हुने भनिएको छ ।
यही ऐनको उपदफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घुस लिएको प्रमाणित भए थप तीन वर्षसम्म कैद सजाय पाउने उल्लेख छ ।
अख्तियारको आयुक्त हुँदा पाठकले घुस लिएको प्रमाणित भए यी दुवै व्यवस्थाअनुसार ९ देखि १२ वर्षसम्म कैद र ७८ लाख रुपैयाँ नै जरिमाना बापत तिर्नुपर्नेछ ।
त्यसमाथि उनले घुस लिएको रकमबराबरको सम्पत्ति जफत हुनेछ । सो विषय अब अख्तियारको छानबिनको घेरामा रहेको छ ।(दैनिक नेपाल )