ब्लग : एउटा गीत पचाउन नसक्ने कस्तो पाचनशक्ति ?


विश्वास बाबु पोखरेल
दुई दिनअघि पशुपति शर्माको ‘लुट कान्छा लुट’ गीत सुनें। ती सबै अभिव्यक्ति मेरो मनबाट निस्केको जस्तो लाग्यो । केवल आवाज थियो, पशुपति शर्माको। रिलिज भएको दुई दिनमै त्यति लोकप्रिय गीत उनले किन हटाए ? सोचनीय छ। सँगसँगै सोही गीतलाई लिएर, भोलिका दिनमा आफूले देशको बागडोर सम्हालौँला भन्ने सपना बोकेका केही परिचित अनुहारहरुको आक्रोश देखेँ। उदेक लाग्यो, र सम्झेँ- विगतका निरंकुश शासकहरुलाई। जसको शासनकालमा जीवन शर्मा, रामेश जस्ता कलाकारले मौलाउने अवसर पाएका थिए।

साँच्चै नै सुशासनप्रति प्रतिवद्ध नेतृत्व हुन्थ्यो भने पशुपति शर्मालाई अभिनन्दन गरेर आफूलाई जिम्मेवार छु है भन्ने सन्देश दिन्थ्यो। तर, यहाँ त श्रष्टा स्वयं त्रासमा बाँची-बाँची आफ्नो सिर्जनाको हत्या गर्नुपर्ने दिन आयो।

एउटा गीत, एक लाइन आलोचना र एक पप्फ्लेट विरोध पनि पचाउन नसक्ने कस्तो पाचनप्रकृया हो हाम्रो ? कस्तो समृद्धि हो हजुर भ्रष्टाचारीलाई समात्दैमा भुइँचालो जाने ? कस्तो शुन्य सहनशीलता हो, पत्रिकाका पानाभरि कुशासनले भरिँदा पनि चुँइक्क नबोल्ने ? बोल्नै परे पनि केवल विपक्षीमाथि तुस पोख्ने ?
सामाजिक सञ्जाल र सरकारले तयार पारेको आउँदो नीतिलाई लिएर अनेकौँ सवालहरु उठेका छन्। अहिलेलाई यत्ति भन्छु, यी सञ्जाल आवाजविहीनहरुको गुनासो अभिब्यक्त गर्ने थलो हुन्

म (जनता) आजभोलि राजनैतिक दलहरु (बिशेष गरी सत्तापक्ष) का लागि बोझ बनेको आभास हुन थालेको छ। मजस्ता भुक्कारामहरुको आवाज कस्तो पट्यारलाग्दो हो है तपाईंहरुलाई ? अबको ४ बर्ष त थारै हुँ, म, सुक्खा पराल पाउँदा त चुप्प लागेर बस्नुपर्ने नि। सामाजिक संजालमा ड्याउँ-ड्याउँ कराउँदा कति झर्को लाग्दो हो तपाईंहरुलाई ? माफ गर्नुहोला हजुर, रहर त मलाई पनि उग्राउँदै बस्न मन छ नि। तर, भोक, रोग र तिर्खाले अचेटेपछि के गरौँ ? पापी पेटको जो सवाल छ।

सामाजिक सञ्जाल मेरो प्राण

तीन दिनअघि अस्ट्रेलियामा बस्ने एकजना दाइ गुनासो गर्दै थिए। भाइ, यहाँका स्थानीयले गर्ने विभेद त छँदैछ, अन्य गोरो छालाले समेत हेप्छ हौ सार्वजनिक स्थलमा। सहन सक्ने, नसक्ने मनपरी भन्छन्। जति रीसले चुर भए पनि,मनको भँडास पोख्न त्यति नै मात्राको गालीसम्म गर्न सकिन्छ । तर, हात लगाइयो भने त गइयो। जसले हात हाल्यो, गल्ती उसैको हुन्छ।

आफ्नो रित्तो गोजीमा हातले सुम्सुम्याउँदै फ़ुईं लगाएँ। क्यार्छौ त दाइ, पैसैका पछि लागेर आफ्नो आत्मसम्मान नै भुल्यौ। देश होस् त हाम्रोजस्तो, भोको पेटै सही, अजीर्णहरुको पेटमा ढ्याङ्ग्रो बजाउन त मज्जाले पाइञ्छ। अझ दलको छत्रछायाँमा त विभिन्न कुकृत्य पनि क्रान्तिको लेपले सुन्दर देखिएकै छन्।

हाँसेरै बार्तालाप टुङ्ग्याइयो ’cause यथार्थ दुबैलाई थाहा थियो।

०६२ सालमा काठमाडौँ आउँदा र फर्कँदा महेन्द्र राजमार्गमा हुने तत्कालीन शाही सेनाको चेकजाँच र आफ्नो झोला काँधमा बोकेर झन्डै १ किलोमिटर परसम्मको हिँडाईले दिने सास्ती सम्झँदा आज पनि ऐठन हुन्छ। जबसम्म आफूलाई केही पर्दैन नि, तबसम्म सबैकुरा सामान्य लाग्छन्। त्यो अघिसम्म मलाई राजाको प्रत्यक्ष शासनको कुनै मतलव थिएन।

मिडियामा लागेका सेन्सर, कहीँ भेला हुँदा मनमा उत्पन्न हुने भय, तथा गाउँमा हुने हतियारधारीहरुको परेडले मनमा एक किसिमको बेचैनी हुन्थ्यो। त्यसबेला महसुस भएको थियो, स्वतन्त्रता भनेको त वास्तवमै प्राण रैछ भनेर।

फलस्वरुप, नागरिक स्वतन्त्रताका लागि ०६२ चैत्रमा तराईको तातो गर्मीको परवाह नगरी तत्कालीन ७ दलले गरेको राजतन्त्र विरुद्दको आन्दोलनमा गाउँका युवाहरुसँगै सहभागी भइयो। त्यतिखेरको एउटै स्वार्थ भनेको मैले चुनेको व्यक्तिले शासन गरिदेओस, र म (जनता) प्रति पूर्णत: जवाफदेही भइदियोस् भन्ने थियो।

नागरिकको उल्लेख्य सहभागिता तथा कैयौंको बलिदानी पश्चात यो देशले नयाँ संबिधान पायो, नागरिकका हक-अधिकारहरु त्यसमा लिपिवद्द भए जुन ऐतिहासिक छ। देश गणतन्त्रमा गयो, कानुनत: कुनै बंशको हातमा रहेको सत्ताको साँचो नागरिकले चुनेको ब्यक्तिको हातमा पर्‍यो।

यो परिवर्तनको मुल्य कतिपयले आफ्ना आफन्त गुमाएर तिरे भने कतिपयले आफ्नो शरीरको अङ्ग। कैयौँका आफन्त आज पनि बेपत्ता छन्। त्यो तप्का शान्ति प्रक्रियाको दशक बितिसक्दा पनि अझै न्यायको झिनो आशमा बाँचिरहेकै छ।

गणतन्त्रपश्चात पनि संविधानमा अपनत्व ग्रहण गर्न नसकेका समुदाय संघर्षरत रहे। बलिदानीको क्रम गणतन्त्र घोषणा भएपस्चात पनि चलिरह्यो। नागरिकमाथि दमनको सिलसिला रोकिएन, चर्को आवाज उठेपछि त्यसलाई छानविन गर्ने आयोगहरु पनि बनि नै रहे।

कारबाहीको सिफारिसहरु पनि भइरहे। तर सत्ता र कुर्शीको उन्मादमा लट्ठ दलहरुलाई त्यस्ता प्रतिवेदन केवल कागजका खोस्टा सावित भए। शक्तिको टीठलाग्दो रुप त्यही कालखन्डमा देख्न पाइयो।

यो देशमा कोही योग्य ब्यक्ति नै छैनन् जस्तो गरी राजनीतिमै नलागेका तथा राजतन्त्रको पक्षपोषण गर्नेहरुलाई नै लोकतन्त्रमा पनि दलहरुले बुईमा बोक्न छोडेनन्। हेर्दा लाजैमर्दो भए पनि जनताले आँखा चिम्लिदिइरहे, केवल दलहरुप्रतिको आशा अनि भरोषामा।

खिलराज र लोकमान उदाहरण हुन् । खिलमानको खिल निकाल्न दलहरुलाई पछी निकै हम्मे-हम्मे भयो भने, लोकमान तिनै दलहरुको त्रास बनी घुमिरहे यद्यपि दलहरुले चुईँक्क ‘चुं’ गर्न समेत सकेनन् । अन्त्यमा एक नागरिक (डा केसी) को एक्लो सत्याग्रहका पछि लागेर, मै हुँ भन्ने पार्टीहरुले लोकमानलाई बैतरणी त तराए, तर कारबाहीको नाममा बोलाएर प्रश्न गर्ने हिम्मतसम्म गर्न सकेनन्।

कुनै बेला थियो, नागरिकका लागि समाचारका स्रोत सीमित थिए, अधिकांश सरकार नियन्त्रित थिए, जे सुनिन्थ्यो, त्यही साँचो लाग्थ्यो।

पछील्लो समय जनतामा राजनीतिको चेत निक्कै बढेको छ। सामाजिक सञ्जालहरुले धेरै हदसम्म एक तह-तप्काको ज्ञानको दायरा बढाइदिएका छन्। भलै केही अफवाह फैलाउने तत्वहरु पनि छन्, जसलाई प्रहरीले छानविन गरी कारवाही पनि गरेको छ, जुन सह्राहनीय नै मान्नुपर्छ।

अब नागरिकहरु एकीकृत हुन केवल दलीय झन्डाको आवश्यकता छैन, सामाजिक सञ्जालको माध्यम प्रयोग गरी सरकारसँग जवाफदेहिता खोज्ने क्रम बढेको छ। यदि कुनै मुद्दा कोही ब्यक्तिलाई सही लाग्यो भने श्वस्फुर्तरुपमा नागरिक भेला आयोजना गरेर पम्प्लेट तथा ब्यानरको प्रयोग गरी बिरोध गर्ने चलन पनि बढ्दो छ। तर, विगतमा आगजनी र तोडफोडलाई आफ्नो बायो बनाएर राजनीतिमा उदाएका हालका नेतृत्वलाई त्यस किसिमको भद्र आन्दोलन वा बिरोध किन पच्न नसकेको हो, बुझी नसक्नु छ।

विगतका सरकारसँग हालको जस्तो स्पष्ट २ तिहाइको बहुमत थिएन। सरकार अस्थिर रहन्थ्यो। प्रतिपक्ष सरकारप्रति हावी हुन्थ्यो। हरेक मुद्दा प्रतिपक्षीले उछाल्थे, जनता (वा केहि तप्का) सही थप्दै सडकमा कुर्लन्थे। सरकार झुक्थ्यो।

यसपटक यो मुलुकमा प्रतिपक्ष पनि छ है भन्ने कुरा बिरलै सुनिन्छ/ महसुस गरिन्छ। ३३ किलो सुनकाण्डको छानविन ऊ बेला रत्नपार्कमा जादुगरले देखाउने जादुजस्तै भयो।

कन्चनपुरकी किशोरी निर्मलाको बलात्कारपछिको हत्यामा हत्यारा को हो भन्ने पहेली ज्युँ का त्युँ छ।

पर्यटन तथा हवाई क्ष्येत्रमा क्रान्ति ल्याउने दाबीसहित ल्याईएका खरबौँका वाइडबडी जहाज अनिमियतासम्बन्धी खबरको तापले जनतालाई जाडोको खासै महशुस हुन दिएन तर सत्तापक्ष- प्रतिपक्ष तैँ चुप, मै चुप जत्तिकै छन्।

मेरो ब्रतबन्ध हुँदादेखि सुनेको मेलम्चीको पानी, मेरो विवाहका बेला जन्तीलाई खुवाउँला भन्ने ठुलो आशा थियो, अब त छोरोको ब्रतबन्धमा नुहाईदिन पाइएला कि नपाइएला भन्ने सन्देह रह्यो। सरकार त के बोल्थ्यो, यस्ता विषयमा बोल्न प्रतिपक्षले पनि खासै रुची देखाएन।

तीन दिन अघि उद्घाटन भएको पानीजहाज कार्यालय, २ दिनअघि नै बन्द भएको समाचार भाइरल भयो।

मन्त्री तथा सांसदहरुले राज्यबाट लिईरहेका दोहोरो सुविधाको समाचार, संचार माध्यममा महामारीजस्तो फैलिएपश्चात भ्रष्टाचारमा सुन्य सहनशीलता अपनाउने प्रधानमन्त्रीज्युले केही त बोल्नुहोला कि भन्ने आशा थियो। अहँ, वहाँका लागि यस्ता कुरा झिनामसिना नै भए। भो, छायाँ सरकारका प्रधानमन्त्रीको त झन् के कुरा गर्नु!

प्रधानमन्त्री ज्यु, कहिलेकाहीँ ग्लानी महसुस हुन्छ मलाई, तपाईंको सपना पछ्याउन नसकेकोमा। सारा उर्जा लिएर दगुर्न खोज्छु, तपाईंको सपनासँगै। तर, जाक्किन्छु, कहलिएको राजमार्गको ठूलो भ्वाङभित्र। जेनतेन उठेर पुन: दगुर्ने प्रयत्न गर्छु, हराउँछु कालो मुस्लोभित्र । अनि ठोक्किन्छु तपाईंले किनेर ल्याउनुभएको ठूलो ब्रुमरसँगै।

खोकी लागेर अस्पातल गएँ भने तल र माथि कुद्दा-कुद्दै टीबी लाग्ला कि भन्ने डर लाग्छ। मालपोतमा धाउँदा-धाउँदै कहाँको कित्ता कहाँ पुग्छ पत्तै हुँदैन। २-४ हजार घुस त टीका लगाएर दिएको दक्षिणाजस्तो छ।

एउटा रिचार्ज कार्डको पैसा ‘मेरो लाइसेन्स छापिएको छ कि छैन ?’ भनेर सोध्दा-सोध्दै सकिइसक्यो । तर, जवाफ पाएको छैन। तैपनि गर्व लाग्छ, कमसेकम रातो चिर्कटो त पाएको छु। त्यही पनि नपाएर कहिले अनलाइन खुल्ला र भरौँला भन्नेको जमात सानो छैन।

प्रधानमन्त्री ज्यु, म तपाईंको फ्यान नै हुँ, त्यही भएर घुमिरहन्छु तपाईंकै हरेक आश्वासनसँगै। तपाईं महान लाग्छ मलाई जबसम्म बैँकको किस्ता तिर्नुपर्दैन।

७.५ प्रतिशत ब्याजमा लिएको बैंकको कर्जाको ब्याज १ बर्षमा ११ प्रतिशत र २ बर्ष नपुग्दै १४ प्रतिशत पुग्यो। हेल्लो सरकारको निरीहता थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ यसो मन बुझाउन गुनासो गर्थेँ, बरा ! आश्वासनको नम्बर थमाइदिन्थ्यो। त्यही आश्वासनको सिरानीमा हरदिन निदाउन थालेको छु अचेल र देख्छु समृद्ध नेपालको सपना। निदाउन्जेल त वास्तवमै आफूलाई सार्है सुखी पाउँछु, त्यही भएर होला, हरदम निदाइरहुँ जस्तो लाग्छ, कम्तिमा बैँकको किस्ता त तिर्नुपर्दैन, झल्यास्स ब्युझनासाथ सब चकनाचुर।

खाना खाएर घरमै बेमत्तले लडिरहने हो भने बेग्लै कुरा, नत्र घरबाट बाहिर पाईला राख्नासाथ चढ्न थाल्छ, असन्तुष्टिको पारो।

सरकारी कार्यालय छिर्यो भने त मिटर पड्केला भन्ने पीर। त्यति हुँदा-हुँदै पनि मन शान्त हुन्छ, यही समाजिक सञ्जालका कारणले।

कहीँ कतै हेरेको थिएँ, कुनै विकसित देशमा आफ्नो रीस शान्त पार्न पैसा तिरिकन उपलब्ध सरसमान तोडफोड गर्ने सुविधा प्राप्त हुँदोरैछ र मान्छेहरुले आफ्नो मनभित्रको आगो बुझाउँदा रैछन्। सोचेँ, विगतमा हाम्रा प्रिय दलका भातृसंगठनहरुले यसै तोडफोड र आगजनी गरेका हैन रैछन। रीस भन्ने चिज वास्तवमै अप्रिय हुन्छ।

आज सत्तामा हुँदा, आफ्नो आलोचना सुनिरहनुपर्दा तपाइँलाई पनि रिस उठ्दो हो। मैले केहि गल्ति पो गरें कि भनेर आत्मसमीक्षा हुने भन्दा, तिनलाई ठेगान लगाउन पाए हुन्थ्यो भन्ने कुण्ठा जाग्दो हो, वा तपाइका विश्वासपात्रबाट त्यस्तो परिस्थितिको सिर्जना हुँदो हो। दोष तपाइहरुको हैन, त्यो स्थानको हो। जो-जो त्यहाँ थिए, सबैको हाल लगभग उस्तै छ। तर, यत्ति बुझ्नुस्, प्रसंसा वा आलोचना केही हुनेकै हुने हो। जसले जन-भावनालाई आफ्नो जिम्मेवारीको कसीले जाँचेर हेर्छन, सफल हुने उनै हुन्। केहि नहुनेका पछि को पो लाग्छ र ?

हाम्रोजस्तो गरीब बाहुल्य देशमा मनको कुण्ठा सहजै पोख्ने माध्यम बनेको छ सामाजिक संजाल। थाहा छैन, यो माध्यम नहुन्थ्यो भने म आफ्ना दैनिक असन्तुष्टिहरु कहाँ र कसरी पोख्थेँ होला ?

सामाजिक सञ्जाल र सरकारले तयार पारेको आउँदो नीतिलाई लिएर अनेकौँ सवालहरु उठेका छन्। अहिलेलाई यत्ति भन्छु यी सञ्जाल आवाजविहीनहरुको गुनासो अभिब्यक्त गर्ने थलो हुन्। कतिपय पहिलो चरणका आक्रोश यिनै भित्ताहरु चर्किएर साम्य हुन्छन्। फलस्वरूप सडकमा अवरोध हुन पाउँदैन।

स्वतन्त्रताका लागि आफ्नो जीवननै सुम्पेका हालका राजनैतिक नेतृत्वबाट यस्ता थलोको केवल संरक्षण र संवर्धन हुनेछ भन्ने विश्वास राखेको छु, बाँकी सब हल्ला भैदिउन्।
(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.