किन बढ्दैछ डलरकाे भाउ ?


काठमाडौँ — राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय १८ रुपैयाँ ८० पैसा तोक्यो  । यो हालसम्मकै उच्च हो  । सन् २०१८ सुरु भएपछि निरन्तर रूपमा डलर बलियो बन्दै गएको छ । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमय दर करिब एक सय १९ रुपैयाँ नजिक पुगेको हो । पछिल्ला दिनहरूमा डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ । सोमबार एक सय १८ रुपैयाँ ३३ पैसा पुगेको डलर मंगलबार एक सय १८ रुपैयाँ ८० पैसा पुगेको हो । राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको (खरिद दर) एक सय १८ रुपैयाँ २० पैसा तोकेको छ । यो पनि हालसम्मकै उच्च हो ।

किन बढ्दै छ डलर ?
१ जनबरी २०१८ मा एक अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दर एक सय दुई रुपैयाँ ५० पैसा थियो । त्यसपछिका महिनाहरूमा नेपाली मुद्रा डलरसँग निरन्तर रूपमा कमजोर बनिरहेको छ । यसको अर्थ डलर बलियो बन्दै गएको छ भने नेरु कमजोर ।

जानकार भन्छन्, ‘भारतीय अर्थतन्त्रको प्रभावका कारण नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर हुँदै गएको हो ।’ यो अवधिमा डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर बन्दै गएको छ । भारुसँग नेपाली मुद्रा (नेरु) को स्थिर विनिमय दर छ । यही कारण भारु अवमूल्यन हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेरुमा पनि परेको हो ।

नेपालमा वार्षिक करिब साढे १२ खर्ब रुपैयाँ बराबरको आयात हुन्छ । तर, निर्यात करिब ८१ अर्ब मात्र छ । कुल वैदेशिक व्यापारको ६४.७ प्रतिशत अंश भारतसँग छ । डलरको तुलनामा भारु कमजोर भयो । स्थिर विनिमय दरका कारण भारुको असर नेरुमा पर्‍यो । भारत र अन्य मुलुकबाट आयात गर्दा अधिकांश भुक्तानी डलरमा दिनुपर्छ । यसकारण डलर महँगो हुन्दा स्वत: विदेशबाट भित्रिने सामान पनि महँगो हुन्छ । अहिले पनि त्यही भइरहेको छ । यसकारण डलरको मूल्यवृद्धिमा संर्वसाधारणको चासो बढ्नु स्वाभाविक हो ।

भारु किन कमजोर ?

नयाँ अंग्रेजी वर्षको सुरुआतदेखि सेप्टेम्बरसम्म भारतीय रुपैयाँ डलरसँग १२ प्रतिशत बढीले अवमूल्यन भएको छ । सोमबारको सटही दरअनुसार एक डलर किन्न भारु करिब ७४.२ रुपैयाँ खर्चिनुपर्छ । जनबरी १ मा एक डलरबराबर भारु ६३.८ रुपैयाँ थियो । उक्त अवधिमा डलरको भाउ निरन्तर बढिरहेको छ भने भारुको घटिरहेको छ । आखिर किन अवमूल्यन भइरहेको छ भारु ? यसको एउटै उत्तर छैन तर विश्लेकषकहरू भन्छन्, ‘यसमा भारतभित्र र बाहिरका विभिन्न प्रभाव र कारणले काम गरिरहेको छ ।’

भारतीय बजारमा बढ्दो इन्धन खपत र विश्ब बजारमा इन्धनको बढ्दो मूल्य पनि हो । भारतले आफ्नो ८० प्रतिशत कच्चा तेल विभिन्न देशसँग आयात गरिरहेको छ । यसको कारोबार डलरमै हुन्छ । इन्धनको माग बढ्दा आयात बढ्नु र इन्धनको मूल्य बढ्दा आयात भुक्तानीका लागि तिर्नुपर्ने रकम पनि बढ्छ ।

भारतबाट यो वर्षअघिल्लो वर्षभन्दा बढी डलर बाहिरिएको छ । यसको अर्थ हो भारतलाई इन्धन खरिदका लागि पहिलेभन्दा बढी डलर चाहिएको छ । अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार माग बढी भए त्यसको मूल्य स्वत: बढ्छ । भारतीय सञ्चार माध्यमहरूले प्रकाशित गरेको तथ्यांकअनुसार भारतमा दैनिक खपत हुने इन्धन अघिल्लो वर्षको भन्दा दोब्बर हुने प्रक्षेपण छ । भारतमा अघिल्लो वर्ष दैनिक ९३ हजार ब्यारेल इन्धन खपत भएको थियो । यो वर्ष औसत दैनिक खपत दोब्बर बन्दै एक लाख ९० हजार ब्यारेल पुग्ने अनुमान छ ।

पहिलो, पेट्रोलियम प्लानिङ एन्ड एनालाइसिस सेल (पीपीएसी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतले इन्धन आयातमा हुने खर्च यो वर्ष २४ प्रतिशतले बढ्ने अनुमान छ । भारतले वर्ष २०१७/१८ मा इन्धन आयातमा ८८ अर्ब डलर खर्चिएको थियो । यो खर्च वर्ष २०१८/१९ मा एक सय ९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

केहीअघि भारतमा भएको आर्थिक सर्वेक्षणले पनि इन्धनको मूल्य बढ्दा भारतीय अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने निष्कर्ष निकालेको थियो । उक्त सर्वेक्षणअनुसार प्रतिब्यारेल १० डलर कच्चा तेलको भाउ बढे भारतीय अर्थतन्त्र ०.२ देखि ०.३ प्रतिशतले घट्छ । तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तथ्यांकअनुसार सन् २०१७ भर प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब ५१ डलर थियो ।

सन् २०१८ को अहिलेसम्म प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब साढे ६९ डलर छ । यो वर्ष कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १८ रुपैयाँले बढेको छ । भारतीय आर्थिक सर्वेक्षणको निष्कर्षलाई आधार मान्ने हो भने तेलमा बढेको मूल्यका कारण भारतीय अर्थतन्त्रलाई असर गरेको छ । पछिल्ला दिनहरूमा भारतको व्यापार घाटा र चालु खाता घाटा निरन्तर फराकिलो बन्दै जानुले पनि यो पुष्टि हुन्छ ।

दोस्रो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ व्यापार नीतिले पनि भारतीय अर्थतन्त्रलाई प्रभावित पारेको छ । ट्रम्पको चीन लक्षित नीतिले भारतीय बजार पनि प्रभावित भएको हो । अमेरिकाले मार्चदेखि क्यानडा र मेक्सिकोबाहेक अन्यत्रबाट आफ्नो देश छिर्ने स्टिल र आल्मुनियममा क्रमश: २५ र १० प्रतिशत भन्सार शुल्क लगाएको थियो । तथ्यांकअनुसार भारतले अमेरिकामा वार्षिक डेढ अर्ब डलर बराबरको स्टिल र आल्मुनियम निर्यात गर्छ ।

भारतले आफूलाई पनि क्यानडा र मेक्सिकोजस्तै सुविधा दिन माग गर्दै आए पनि अमेरिकाले अस्वीकार गरेको छ । त्यसको जवाफस्वरूप भारतले अमेरिकाबाट आफ्नो देश आयात हुने बदाम, ओखर र स्वाउसहित दुई दर्जन सामानमा भन्सार महसुल बढाउन निर्णय गरेको सामाचारहरूमा उल्लेख छ ।

तेस्रो, जुलाई ३१ म अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा अमेरिकाले भारतसँग सामान व्यापारमा करिब २३ अर्ब डलरको घाटा बेहोरेको छ । सेवातर्फ भने अमेरिकी घाटा करिब साढे ४ अर्ब छ ।

अमेरिकी नीतिका कारण चर्किएको व्यापार द्वन्द्वले भारतीय बजारमा सामानको भाउ बढेको छ जसका कारण भारतबाट बाहिरिने डलर परिणाम पनि बढेको छ ।

भारतको कुल व्यापार घाटा पनि भारू अवमूल्यनको प्रमुख कारण हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०१७/१८ मा भारतको व्यापार घाटना एक सय ५७ अर्ब डलर छ । यो सन् २०१२/१३ पछिको सबैभन्दा ठूलो व्यापार घाटा हो । सन् २०१६ मा भारतले एक सय १८ अर्ब डलर व्यापार घाटा बेहोरेको थियो । अन्तर्राष्ट्रिय व्यापारमा कारोबार डलरमा हुने भएकाले व्यापार घाटा हुनुको अर्थ देशबाट बढी डलर बाहिरिनु र कमडलर भित्रिनु हो । यस्तो अवस्थामा डलरको मागको तुलनामा आपूर्ति कम हुन्छ । त्यसले डलरको मूल्य बढाउँछ । अहिले भारतमा पनि त्यही भएको हो । त्यसको असर नेरुमा पनि पर्‍यो ।

चौथो, भारतमा रहेका विदेशी लगानीकर्ताले लगानी फिर्ता लैजानु पनि डलर बलियो बन्नुको अर्को कारण हो । भारतीय सञ्चार माध्यमका अनुसार यो वर्षको जनवरीदेखि जुनसम्मको अवधिमा कुल ४७ हजार करोडभन्दा बढी वैदेशिक लगानी भारतबाट फिर्ता भएको छ । यसरी फिर्ता हुने रकम लगानीकर्ताले डलरमै लैजाने हुनाले पनि डलरको भाउ बढ्छ । यो अवधिमा भारतबाट फिर्ता भएको विदेशी लगानी पछिल्लो एक दशककै उच्च हो ।

छोटो समयमा भारतबाट मात्रामा विदेशी लगानी बाहिरिनुको कारण त्यहाँको राजनीतिक अस्थिरता भएको भारतीय सञ्चार माध्यमहरूको विश्लेषण छ । आगामी वर्ष अप्रिल वा मेमा भारतमा आम चुनाव हँुँदै छ । पछिल्लो पटक भारतीय जनता पार्टी नेतृत्व सरकारको अलोकप्रियता बढ्दो छ । यसकारण आगामी चुनाव कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ । आगामी चुनावबाट सरकारको नेतृत्व परिवर्तन भए सरकारले वैदेशिक लगानीको नीति परिवर्तन गर्न सक्ने भएकाले पनि विदेशी लगानीकर्ताले भारतबाट ठूलो मात्रामा लगानी फिर्ता लगिरहेको अनुमान छ ।

यी कारणले डलरको तुलनामा भारु अवमूल्यन भइरहेको छ । यसको सीधा प्रभाव नेपाली रुपैयाँमा पनि परेकाले भारुसँगै नेरु पनि अवमूल्यन हुँदै गएको हो । (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )