इन्डोनेसिया भूकम्प : मृतकको संख्या ८३२ पुग्यो


बीबीसी
पालु — इन्डोनेसियाको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले सुरुमा आकलन गरिएको भन्दा निकै ठूलो क्षेत्र प्रभावित भएको जनाएको छ । संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले ‘कपितय भग्नावशेषमा अझै ठूलो संख्यामा मानिसहरू फसेको’ जनाएका छन् ।
इन्डोनेसियाको तटीय क्षेत्रमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि ६ मिटर अग्ला सुनामीका छालहरूले पालु सहर बगाएको थियो । अधिकारीहरूले पालु सहरमा पुरिएका तथा भग्नावशेषमा फसेकाको उद्धार जारी रहेको जनाएका छन् । सुनामीपछि अस्पताल, होटल, किनमेल केन्द्र तथा हजारौं घरहरू क्षतिग्रस्त भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले करिब १६ लाख मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जनाएको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले मृतकको संख्या केही हजार हुन सक्ने जनाए । उनका अनुसार उक्त क्षेत्रमा शक्तिशाली परकम्पहरू गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । राष्ट्रपति जोको विडोडोले पालुले हालसम्मकै विनाशकारी भूकम्प तथा सुनामीको सामना गरेको बताए । उनले मुख्य पर्यटकीय केन्द्र तालिसे सामुद्रिक तट ध्वस्त भएको जनाए ।
सुलावेसी टापु नजिकैको पालु करिब ३ लाख ३५ हजार मानिसहरूको बसोबास रहेको सहर हो । उद्धारकर्मीहरूले हातैले खनेर दुई दर्जन मानिसको उद्धार गरेका जनाइएको छ ।

सुनामीपछि कतिपय स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति जारी नै छ । जसका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको अधिकारीले जनाएका छन् । पहिरोका कारण पालु सहर जाने मुख्य बाटो अवरुद्ध हुनुका साथै पुलसमेत ध्वस्त भएको छ ।

सहरका विभिन्न स्थानमा राखिएका टेन्टमा घाइतेहरूको उपचार भइरहेको छ । पालुको मुख्य विमानस्थल बन्द भएको छ भने उद्धार शिविरमा बसिरहेका मानिसहरूलाई सेनाले कार्गो जहाजमार्फत राजधानी जाकार्ताबाट लगिएका उद्धार सामग्री बाँडेको छ ।

पटकपटक भूकम्प तथा सुनामीको चपेटामा पर्दै आएको इन्डोनेसियामा यसअघि लोम्बोक टापुमा शृंखलावद्ध भूकम्प गएका थिए । जसका कारण कम्तीमा ५ सय को ज्यान गएको थियो । त्यसैगरी २००४ मा सुमात्रा द्वीपमा गएको भूकम्पपछिको सुनामीका कारण १ लाख २० हजार इन्डोनेसियालीको मृत्यु भएको थियो । (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )