अाज जननेता बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती मनाईँदै


काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानिया राणा शासनको बिरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भए । भारत निर्वासनकै क्रममा जहानिया राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बिच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।

क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।

विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनर्स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए ।

उनले अपनाएको मेलमिलापको नीति अहिले पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवम् मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पुर्याएको छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।
(नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )