५० गुणासम्म कर बढाइयो


रवीन्द्र उप्रेती, रमेशकुमार पौडेल
चितवनमा अनशन सुरु, महोत्तरीमा जनप्रतिनिधि नै आन्दोलनमा
काठमाडौँ — स्थानीय तहले ५ हजार प्रतिशतसम्म कर बढाएपछि कांग्रेसलगायत दलको नेतृत्वमा उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चितवनको रत्ननगर नगरपालिकामा कर घटाउन माग गर्दै आइतबारबाट अनशन सुरु भएको छ भने महोत्तरीको गौशाला नगरपालिकामा जनप्रतिनिधिकै अगुवाइमा बजार बन्द गराइएको छ । महोत्तरीको गौशाला नगरपालिकाले गरेको अप्रत्याशित कर वृद्धिको विरोधमा आइतबार स्थानीयवासी ।
गौशाला नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको विरोधमा कांग्रेस, संघीय समाजवादी फोरमलगायत दलबाट निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा उद्योगी–व्यवसायीले आइतबार प्रदर्शन गरेका छन्।

जनताले धान्नै नसक्ने गरी नगरपालिकाले अवैज्ञानिक र अस्वाभाविक ढंगले कर लाद्ने कोसिस गरेकाले आन्दोलन गर्नुपरेको वडा ९ का अध्यक्ष महेशप्रसाद सिंहले बताए। यसअघि कर बढाउने निर्णय पुनर्विचार गर्न आग्रह गर्दै आन्दोलनकारीले साउन १८ गते ९ सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएका थिए। ‘नागरिकको क्षमताले थेग्न नसक्ने करले संविधान र संघीयताविरुद्ध जनभावना तयार हुने भएकाले यसप्रति पुनर्विचार गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ। यसको बोधार्थ प्रशासन र प्रहरी कार्यालयलाई दिइएको छ।

ज्ञापनपत्रलाई बेवास्ता गरिएकाले चरणबद्ध आन्दोलन घोषणा गरेको सिंहले बताए। व्यवसायीले आइतबार जिल्लाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र गौशाला बजारका ९ सयभन्दा बढी पसल तथा व्यवसाय ठप्प रहे। विभिन्न प्लेकार्डसहित विपक्षी दल, व्यवसायी र सर्वसाधारणले बजार क्षेत्रमा प्रदर्शन गरे।

नगरसभाले पारित गरेको आव २०७५/७६ को बजेटमा गत वर्षको तुलनामा कर, दस्तुर र शुल्क अप्रत्याशित बढाइएको छ। सर्वसाधारणका लागि दिइने ३६ प्रकारका सिफारिस र प्रमाणीकरण सेवामा साविक दस्तुरको तुलनामा ५ सयदेखि साढे २ हजार प्रतिशतसम्म वृद्धि भएको छ। शिक्षा क्षेत्र, मोही र जग्गाधनीलाई सबैभन्दा बढी शुल्क थोपरिएको छ।

यसअघि यी ३६ प्रकारकै सिफारिस र प्रमाणीकरणका लागि २० रुपैयाँ दस्तुर तिरे पुग्थ्यो। नयाँ बजेटले मोही छुट सिफारिसका लागि एकैपटक एक हजार रुपैयाँ शुल्क बढाएको छ। बढेको दस्तुर गत वर्षको तुलनामा झन्डै ५ हजार प्रतिशतले बढी हो। जग्गा मूल्यांकन सिफारिस २० बाट ४ सय रुपैयाँ र विद्यालय कक्षा थपको सिफारिस माग्दा हजार रुपैयाँ दस्तुर बढाइएको छ।

नयाँ बजेटले गरिब, निमुखा, असहाय, बिरामी र मृतक परिवारलाई समेत पीडा दिएको वडा १० का अध्यक्ष बद्री श्रेष्ठले प्रदर्शनपछि आयोजित कोणसभामा बताए। उनका अनुसार बिरामीले स्वास्थ्य उपचारको सिफारिस र मृतक परिवारले नाता प्रमाणित गर्दा ४/४ सय तिर्नुपर्ने भएको छ। ‘यो दस्तुर गत आवको तुलनामा २ हजार प्रतिशत बढी हो,’ उनले भने। एकीकृत सम्पत्ति कर वृद्धिको व्यापारीदेखि मजदुरसम्मले विरोध गरेका छन्। नगरपालिकाले एकीकृत सम्पत्ति कर सयदेखि ६० हजार रुपैयाँसम्म लगाएको छ।

नगरपालिकाले ज्यानमारा कर लगाएकाले विरोध जनाएको वडा १० की फूलझरदेवी रामले बताइन्। ‘हामी भरपेट खान पनि नपाउने समुदायले कसरी तिर्ने कर?’ उनले प्रश्न गरिन्, ‘सुविधा केही नदिने, कर मात्र लिने यस्तो संघीयता चाहिँदैन?’

नगर प्रमुख शिवनाथ महतोले आफूले नभई परामर्श समितिले कर बढाउने निर्णय गरेको बताए। ‘कर समितिको निर्णय कार्यपालिकामा सर्वसम्मतिले पारित गरेपछि नगरसभाबाट पास भएको हो,’ उनले भने। कर नबढाए नगरपालिका आत्मनिर्भरै हुनै नसक्ने उनको धारणा छ। गत वर्षको तुलनामा माथिबाट बजेट कम आएकाले कर बढाउनुपरेको उनले जिकिर गरे। ‘वित्तीय समानीकरण शीर्षकमा गत वर्ष केन्द्रले ३१ करोड रुपैयाँ पठाएको थियो,’ उनले भने, ‘चालु आवका लागि घटाएर १७ करोड मात्र पठाइएकाले बाध्यताले कर बढाइएको हो।’

कर घटाउन माग गर्दै अनशन
चितवनको रत्ननगर नगरपालिकाले कर बढाएको विरोधमा कांग्रेससहित सात दलले आइतबारदेखि रिले अनशन सुरु गरेका छन्। नगरपालिकाले अस्वाभाविक रूपमा बढाएको एकीकृत सम्पत्ति कर, व्यवसाय कर र घर बहाल कर घटाउनुपर्ने उनीहरूको माग छ।

‘सय रुपैयाँ तिर्दै आएको ठाउँमा १४ सय रुपैयाँ तिर्नुपर्ने भएपछि विरोधमा उत्रेका हौं,’ कांग्रेसका रत्ननगर सभापति रूपनराज घिमिरेले भने, ‘कर नघटेसम्म अनशन जारी रहन्छ।’ बिहान ६ बजेदेखि १२ घण्टा अनशन बसेपछि अर्को टोलीले पालो दिने उनले जानकारी दिए।

उनीहरूले अन्य ११ वटा माग पनि नगरपालिकासमक्ष राखेका छन्। नगरपालिकामा जनप्रतिनिधि आउनुअघि सुरु भएका विकास–निर्माणका कामको भुक्तानी रोकेको, नगर शिक्षा ऐन जारी गरेर वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन खोजेको, नगरभित्रका विकास–निर्माणको काम उपभोक्ता समितिबाट नभएर ठेकेदारबाट गराउन थालेकाले विरोध गरेको घिमिरेले बताए। जल उपभोक्ता समितिको विधानलाई नगरपालिकाले नमानेको उनको जिकिर छ। ‘कर हजार प्रतिशतभन्दा धेरै बढ्यो, अन्य क्षेत्रमा पनि विसंगति सुरु हुन थालेपछि आन्दोलनमा लागेका हौं,’ उनले भने।

रत्ननगरका मेयर नारायण वनले भने नगरपालिकाले अस्वाभाविक कर नलगाएको बताए। मालपोत कार्यालयले जग्गाको मूल्यांकन परिमार्जन गर्दा एकीकृत सम्पत्ति करमा असर परेको उनको भनाइ छ। ‘हाम्रातर्फबाट कर बढेको होइन, मालपोत कार्यालयले जग्गाको मूल्यांकन परिमार्जन गरेपछि त्यसको असर एकीकृत सम्पत्ति करमा परेको हो,’ मेयर वनले भने, ‘केही वडामा एकीकृत सम्पत्ति कर घटेको पनि छ।’ वडा २ मा पहिला ८७ सय रुपैयाँ तिर्नेहरूले अहिले ७५ सय रुपैयाँ तिर्न थालेको उनले जानकारी दिए। तर वडा ३ र ४ मा सम्पत्ति कर बढेको उनले स्वीकार गरे। नगरवासीलाई मर्का परेको हो/हैन हेरेर उचित निर्णय लिने उनको भनाइ छ।

कांग्रेससँगै नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टी नेपालले संयुक्त रिले अनशन सुरु गरेका हुन्।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )