बेरोजगारलाई निर्वाह भत्ता


बेरोजगारी हटाउने ३ विकल्प– 1. रकम दिएर स्वरोजगार बनाउने  2. रोजगारी खोजिदिने 3. बेरोजगार निर्वाह भत्ता दिने
मकर श्रेष्ठ
काठमाडौँ — सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको हो । १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने गरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदै छ । संविधानको धारा ३३ मा उल्लिखित रोजगारीको हकको व्यवस्था कार्यान्वयन गर्न यो विधेयक बनाइएको हो । संविधानले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने प्रत्याभूत गरेको छ । रोजगारीको सर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने संवैधानिक व्यवस्था भएअनुसार नै सरकारले कानुन बनाउन लागेको हो ।

रोजगारीको हकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा कानुन मन्त्रालयले समेत सहमति दिएपछि मन्त्रिपरिषद् पठाउन लागिएको हो । ‘मैले सदर गरिसकें, अब मन्त्रिपरिषद्मा पठाउँछौं,’ श्रम, रोजगार तथा सामाजिक कल्याणमन्त्री गोकर्ण बिष्टले भने, ‘विधेयकमा भएको व्यवस्थाले बेरोजगार युवाको समस्या समाधान गर्नेछ ।’ बेरोजगारलाई रोजगार बनाउन सरकारले तीन विकल्प अघि सारेको छ । पहिलो, सहायता रकम प्रदान गरेर स्वरोजगार बनाउने । दोस्रो, रोजगारी खोजिदिने र तेस्रो, रोजगारी दिन नसके बेरोजगार निर्वाह भत्ता उपलब्ध गराउने ।

सरकारले स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी अनलाइनमार्फत बेरोजगारको तथ्यांक संकलन गर्नेछ । ‘बेरोजगारले खोजेजस्तो जागिर नभई सरकारसँग जे उपलब्ध छ, त्यही काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘रोजेकोमा जान्छु भन्न पाइँदैन । हामीले जागिर दिनै नसकेमा बेरोजगार भत्ता दिने कानुनी व्यवस्था गर्न लागिएको हो ।’ बिष्टका अनुसार भत्ता दिनेभन्दा पनि बेरोजगारलाई सरकारले लगानी गरेर स्वरोजगार बनाउने नीतिलाई प्राथमिकता दिनेछ । सरकारले यस वर्षको नीति तथा कार्यक्रममा देशभित्रै रोजगारी सिर्जना गरेर पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको छ ।

यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि सरकारले यस वर्ष ३ अर्ब १० करोड बजेटसमेत छुट्याएको छ ।
मुलुकको बेरोजगारको सूचना संकलन गर्न, रोजगारीको अवसर पहिचान गर्न र रोजगारदाताका लागि आवश्यक कामदार उपलब्ध गराउन हरेक गाउँपालिका र नगरपालिकामा रोजगार सेवा केन्द्र स्थापना गरिने विधेयकमा उल्लेख छ ।

सेवा केन्द्र संघीय श्रम मन्त्रालय मातहत रहनेछ । कुनै व्यक्ति बेरोजगार हो वा होइन भन्ने विवाद भएमा स्थानीय तहले प्रमाणित गर्नुपर्ने हुन्छ । बेरोजगार व्यक्तिले आफ्नो सीप, शैक्षिक योग्यता वा क्षमता उल्लेख गरेर हरेक वर्ष साउन १ देखि कात्तिक मसान्तभित्र केन्द्रमा निवेदन दिनुपर्ने प्रावधान विधेयकमा राखिएको छ । केन्द्रले वास्तविक बेरोजगार व्यक्तिको अभिलेख अध्यावधिक गर्नुपर्ने हुन्छ । निवेदन दिएको कुनै पनि व्यक्ति रोजगारीका लागि सिफारिस नहुँदै अन्यत्र रोजगारीमा सहभागी भएमा वा स्वरोजगार भएमा केन्द्रमा जानकारी गराउनुपर्नेछ ।

केन्द्रमा बेरोजगार भएको निवेदन दर्ता भएको व्यक्तिलाई रोजगारी दिन नसकेमा सरकारले १ सय २० दिनको न्यूनतम पारिश्रमिक वा जिल्लाले निर्धारण गरेको दररेटका आधारमा निर्वाह भत्ता उपलब्ध गराउने विधेयकमा उल्लेख छ । बेरोजगार व्यक्तिले एक वर्षमा एक सय २० दिनभन्दा कम अवधि मात्रै काम गरेमा पनि निर्वाह भत्ता पाउने छन् । कुनै व्यक्तिले वर्षमा ६० दिन काम गरेमा बाँकी ६० दिनमध्ये ३० दिनको निर्वाह भत्ता दिने गरी व्यवस्था विधेयकमा छ ।

निर्वाह भत्ता बेरोजगार हुनेबित्तिकै पाइने छैन । परिवारको कुनै पनि सदस्य रोजगारी नभएमा, नेपालीको वार्षिक औसत आयभन्दा न्यून भएको परिवारलाई, सरकारले तोकिएको भन्दा कम क्षेत्रफल जग्गा भएका जग्गाधनीको परिवारलाई मात्रै निर्वाह भत्ता दिने आधार तय गरिएको छ । सरकारी कोषबाट मासिक निवृत्तिभरण पाएको व्यक्तिको परिवारले निर्वाह भत्ता नपाउने व्यवस्था गरिएको छ । यो व्यवस्थाले परिवारका कुनै एक सदस्यले पेन्सन पाउँछन् भने अरूले निर्वाह भत्ता पाउने छैनन् ।

स्थानीय तहमा स्थापना भएको केन्द्रले स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, संघसंस्थालाई रोजगारदाताको विवरण माग गर्नेछ । केन्द्रले पत्राचार गरेको निकायले रोजगारदाताको विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ । रोजगारदातालाई आवश्यक जनशक्ति पनि सेवा केन्द्रमा माग गर्नुपर्ने हुन्छ । विधेयकको मस्यौदामा भनिएको छ, ‘कामदार माग गर्दा कामदारको संख्या, योग्यता, क्षमता, सीप र कामको प्रकृति खुलाई रोजगार सेवा केन्द्रमा लेखी पठाउनुपर्ने हुन्छ ।’ केन्द्रले योग्यता, सीप र अनुभवका आधारमा बेरोजगारलाई रोजगारीका लागि पठाउनुपर्ने हुुन्छ ।

विधेयकमा बेरोजगार सहायता कोषको पनि परिकल्पना गरिएको छ । कोषमा संघ, प्रदेश र स्थानीय सरकारले रकम छुटयाउनेछ । विदेशी सहयोग र अनुदान पनि यही कोषमा राख्ने सरकारको योजना छ । कोषको रकमले स्थानीय तहमा रहेको केन्द्र व्यवस्थापन, बेरोजगारलाई तालिम सञ्चालन, स्वरोजगार बनाउन सहायता रकम प्रदान गर्न, बेरोजगारलाई निर्वाह भत्ता प्रदान गर्ने गरी विधेयक तयार गरिएको हो ।

बेरोजगारलाई स्वरोजगार बनाउन सरकारले दिने सहायता रकम पाउन पनि मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । बेरोजगार परिवारको बढीमा एक जना १८ देखि ६० वर्ष उमेर समूहका हुनुपर्छ । सहायता रकम कति हुने भन्ने विधेयकमा उल्लेख छैन । विधेयकमा भएको व्यवस्था लागू गर्न संघ र प्रदेश सरकारले कानुन सुरु भएको एक वर्षभित्र रोजगार योजना तयार गरी कार्यान्वयन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

मदिरा सेवन गरे जागिर चट्
रोजगारमा लागेको व्यक्तिलाई बिनाकारण हटाउन नसक्ने प्रावधान राखिएको छ । आफ्नो जिम्माको काम नगरेमा, कामको समयमा मादक पदार्थ सेवन गरेमा, अनुमति नलिई एक साताभन्दा बढी बिदा बसेमा रोजगारीबाट हटाउन सक्ने प्रावधान राखिएको छ । त्यस्तै काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको सर्त पालना नगरेमा रोजगारदाताले कामबाट हटाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । रोजगार दिने कम्पनीले श्रमिकलाई भेदभाव गरेमा १० हजार जरिवानासमेत हुने व्यवस्था गरिएको छ ।

त्यस्तै बेरोजगार सहायता वा निर्वाह भत्ता प्राप्त गर्न झूटो विवरण पेस गरेमा उसले लिएको रकम असुल गरी सरकारबाट लिएको रकमबराबर नै जरिवाना गर्ने प्रावधान राखिएको छ । त्यस्तै सरकारबाट जुन उद्देश्य पूरा गर्न सहायता लिएको हो, त्यही प्रयोजनमा खर्च गर्नुपर्ने हुन्छ । अन्यत्र प्रयोग गरेमा सरकारबाट लिएको बराबर असुल गरी त्यति नै जरिवाना गर्ने व्यवस्था पनि राखेको छ ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )