गोरखा–चीन सडक : सात वर्षमा तीन प्रतिशत प्रगति


शिव उप्रेती
छेकम्पारबाट नल्याङभञ्ज्याङतर्फ निर्माण हुँदै गरेको गोरखा–चीन सडक ।
गोरखा : गोरखादेखि छेकम्पार हुँदै चीनको तिब्बत जोड्ने सडक निर्माण सुरु भएको सात वर्षमा करिब तीन प्रतिशत प्रगति भएको छ । नल्याङभञ्ज्याङ छेकम्पार चुम्चेत सिर्दीबास माछाखोला बारपाक सडक नामको सो सडकका लागि यस वर्ष विनियोजित छ करोड रुपैयाँ मध्ये ४५ प्रतिशत मात्र प्रगति भएको सडक योजना कार्यालयले जनाएको छ । सो सडक निर्माणको काम तीन वटा खण्डमा भइरहेको छ । ‘पाँच करोड रुपैयाँको एउटा कामको ४५ प्रतिशत मात्र प्रगति भएको छ । एक करोडको अर्को प्याकेजको कामको करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ’, एघारकिलो–छेपेटार–बारपाक सडक योजना कार्यालय प्रमुख अमृतमणि रिमालले भने, ‘बारपाकदेखि माछाखोलासम्मको खण्डमा भने केही प्रगति देखिएको छ ।’ लप्सीबोट माछाखोला जोड्ने काम भने बाँकी रहेको उनले बताए । सो खण्डको बारपाकदेखि लप्सीबोटसम्म ट्रयाक खन्ने काम सम्पन्न भएको उनले बताए ।

सो सडकको लम्बाइ १ सय २० किलोमिटर छ । तीन खण्ड गरेर हालसम्म ३० किलोमिटर ट्र्याक खन्ने काम मात्र भएको प्रमुख इन्जिनियर रिमालले जानकारी दिए । ‘सरकारले अन्य उत्तरदक्षिण सडक भनेर कम प्राथमिकतामा राखेको छ’, रिमालले भने ‘छेकम्पारदेखि नल्याङभञ्ज्याङसम्मको एउटा खण्डमा १८ किलोमिटर र बारपाकदेखि लप्सीबोटसम्मको १२ किलोमिटर मात्र ट्र्याक खनिएको छ ।’ बजेट पनि कम आउने गरेको उनले बताए ।

करिब पाँच हजार दुई सय मिटर अग्लो हिमाल पार गरेर चीन जोड्ने सडक निर्माण गर्न लागिएको छ । छेकम्पारको म्हु गुम्बादेखि माथि सडक खन्ने काम गत वर्षदेखि रोकिएको निर्माण कम्पनी गोरखा एप्रोप्रियटका उत्तम भट्टले जानकारी दिए । सडक निर्माण गर्न हेलिकोप्टरबाट डोजर बोकेर लगिएको थियो । ‘गतवर्ष म्हुगुम्बादेखि माथि पुगेपछि ठूलो पहिरो गयो’, भट्टले भने, ‘माटो कटिङको ठेक्का थियो तर त्यहाँ पहरा फेला प¥यो । पहरा कटिङ गर्न ठेक्का नै परिवर्तन गर्नु परेकाले काम ढिला भएको हो ।’ यो वर्ष पहिरोमा तालजाली लगाउने काम भएको उनले बताए ।

सरकारी प्राथमिकतामा पनि नपरेर काम ढिला भएको सडक योजना कार्यालयका प्रमुख रिमालले बताए । ‘यो सडकको चार अर्ब ५९ करोड रुपैयाँ लागत अनुमान हो’, उनी भन्छन्, ‘सरकारको प्राथमिकतामा पनि पर्दैन । बजेट पनि कम विनियोजन हुन्छ । विनियोजन भएजति पनि काम हुन सक्दैन । भौगोलिक विकटता तथा हावापानीको प्रतिकूलताका कारण काम ढिलो भएको हो ।’

चीन सरकारले तिब्बतको छेकम्पार सीमा नजिकै रहेको ‘स्याक’ भन्ने ठाउँसम्म सडक ल्याइपु¥याएको छ । स्याकबाट करिब १३ किलोमिटर दूरीमा गोरखाको सीमा नल्याङभञ्ज्याङ पर्छ । छेकम्पारबाट निर्माण सुरु गरिएको सडक आठ वर्षमा जम्मा १८ किमि ट्र्याक खन्ने काम मात्र भएको छ ।

गोरखादेखि नल्याङभञ्जायाङसम्मको १ सय २० किलोमिटरमध्ये गोरखादेखि नौ किलोमिटर सडक कालोपत्रे भएको छ । सोही सडकखण्डमा पर्ने चार वटा मोटरेबल पुल जापानी सहयोग नियोग जाइकाले निर्माण गर्नेछ ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )