उदीयमान शक्तिको मिलन: के गर्दै छ नेपाल ?


चन्द्रशेखर अधिकारी
नेपालमा परम्परागत शक्तिको प्रभाव बढ्न सक्छ’
काठमाडौँ — २१ औं शताब्दी अब एसियाको नेतृत्वमा रहने ‘भाषा’ लाई पछिल्ला दुई कूटनीतिक घटनाक्रमले आशामा परिणत गरिदिएको छ । चीन र दक्षिण कोरियामा भएको फरक–फरक तर महत्त्वपूर्ण राजनीतिक घटनाक्रमले यस्तो आशा जगाएको हो । विश्व राजनीतिको नेतृत्व फेरि एक पटक एसियाले लिने सशक्त संकेतका रूपमा यो घटनाक्रमलाई लिइएको छ । केही महिनायता यस क्षेत्रमा अप्रत्याशित कूटनीतिक घटनाक्रम देखा परिरहेको छ । कूटनीतिक भेटघाट र छलफलले तीव्रता पाइरहेको छ । ६ दशकभन्दा अघिदेखि शत्रुवत व्यवहारमा रहेका उत्तर र दक्षिण कोरियाका नेताहरूले संसारलाई नै आश्चर्यमा पारे । दक्षिण कोरियामा नयाँ राष्ट्रपति मुन जे इन आएदेखि नै आकलन गरिएअनुरूप दुई कोरियाली नेताको अंगालोले विश्वलाई सकारात्मक सन्देश दिएको छ । कैयन् शक्ति मुलुकलाई भने अलमलमा पारिदिएको छ । लगातार आणविक परीक्षण गर्दै अमेरिकालाई आणविक प्रहारको समेत धावा बोल्दै आएको उत्तर कोरियाले अर्को महिनादेखि आणविक परीक्षण नगर्ने घोषणा मात्र गरेन, अब आपसी युद्धसमेत कहिल्यै नगर्ने वाचा दुवैले गरे । जुन अपेक्षाभन्दा निकै अगाडिको विषय थियो ।

यससँगै एसियाकै ठूला र उदीयमान शक्ति मुलुक भारत र चीनले आपसी मतभेद हटाउँदै अप्रत्याशित रूपमा सम्बन्ध सघन पारेका छन् । सहकार्य बढाउँदै लैजाने सहमति गरेका छन् । कोरियाली प्रायद्वीपपछि भारत र चीनबीच यस्तो परिघटना देखा परेको हो । यी दुई घटनाले विश्व राजनीति र अर्थव्यवस्थालाई समेटेर शक्तिसन्तुलन गर्ने संकेत मात्रै होइन, विश्व नेतृत्वका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको सन्देशसमेत दिएका छन् ।

भारत र पाकिस्तानबीच पनि यस्तै सकारात्मक सहकार्यको अवस्था आए एसिया साँच्चै अघि बढ्ने अड्कल गर्न थालिएको छ । पछिल्ला दुई घटनाले पश्चिमा शक्तिलाई ठूलो धक्का दिएको हुन सक्छ, जसले उनीहरूको प्रभाव नेपालजस्तो बीचमा रहेका मुलुकमा बढ्न सक्ने आकलन कूटनीतिज्ञहरूको छ ।

यही विषयलाई लिएर परराष्ट्र अधिकारीहरूले अनौपचारिक छलफलसमेत गरेका छन् । नेपाल यतिबेला दुवै मुलुकको सहयोगमा विकास प्रक्रिया अघि बढाउन उद्यत छ । सरकारले चिनियाँ सहयोगमा निर्माण गरिने परियोजनाहरूको छनोट गरिरहेको छ भने भारतसँग भएका सम्झौतालाई कार्यान्वयन तहमा लैजाने गरी काम अघि बढाएको छ । दुवैको नेतृत्वले यसै वर्ष नेपाल भ्रमण गर्ने परराष्ट्रमन्त्रीले प्रदीप ज्ञवालीले यसअघि नै बताइसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २८ गते नेपाल आउँदै छन् भने चिनियाँ राष्ट्रपति सीको भ्रमण गराउन पनि नेपालले पहल गर्ने भएको छ । दुवै भ्रमणमा नेपालले आफ्नो विकासको छिमेकी मुलुकको सहकार्य खोज्ने छ । भारत र चीनको मिलन अनि नेपालले उनीहरूको सहकार्य खोजीले पश्चिमा शक्तिहरू उपेक्षित हुँदै जाने देखिन्छ । जुन नेपालका लागि राम्रो विषय नहुन पनि सक्छ । तर अहिले त्यही अवस्था देखिएको छ । उदीयमान शक्तिहरू र बलिया अर्थतन्त्र भएका मुलुकबीच सहकार्य हुँदा विश्व शक्ति एवं पश्चिमा शक्ति झस्कनु स्वाभाविक हो । उनीहरूलाई यसबाट ठूलो असर पर्न सक्ने देखिएको छ । यद्यपि कोरियाली घटनाक्रम भने अमेरिकी पकडअन्तर्गत नै भएको विश्लेषणसमेत गरिएको छ ।

हुन त अमेरिकाले विश्वको शक्ति आफ्नो अनुकूल बनाउने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यतिबेला एसियामा भइरहेको नयाँ दृश्यलाई नियाल्दै यसमा आफ्नो स्थान खोज्न थालेको पनि देखिन्छ । उनी जति भुत्तेझैं देखिएका छन्, त्यति नै रूप फेर्न सक्ने व्यापारिक गुण भएका व्यक्ति हुन् । अमेरिकीहरू सहज रूपमा शक्तिबाट बाहिर नजाने हुनाले पनि त्यसका लागि यहाँको शक्तिहरूलाई मिलाएर अघि बढ्न चीन उद्यत रहेको आकलन पनि विद्वान्हरूले विभिन्न कोणबाट गरिरहेका छन् ।

पश्चिमा शक्तिले पहिले भारतलाई साथ लिएर चीन घेर्ने नीति लिएका थिए । त्यहीअन्तर्गतको हो– अमेरिका, भारत, जापान र अस्ट्रेलियाबीचको सहकार्य । उनीहरू अहिले त्यो सहकार्यबाट छुटेर चीनसँग दुईपक्षीय पहल सुरु गरिसकेका छन् । जापानले समेत चीनसँग सहकार्यको हात बढाएको अवस्था छ । तर चीनसँग जुन सहकार्यको प्रयास भइरहेको छ, त्यसमा केही अड्चन भने हुने देखिन्छ । अमेरिका लगायतको पश्चिमा शक्ति लयमा फर्कन निकै अब्बल र अनुभवी रहेकाले पनि अहिले नै एसियाको युग आयो वा आइहाल्छ भनिहाल्न सकिँदैन ।

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको सम्बन्ध विकास आफ्नो मुलुकका लागि अस्थायी खपत मात्र होइन भने पश्चिमा शक्तिमाथि अवश्य असहज अवस्था निम्नते देखिन्छ । आर्थिक वृद्धिदर दुईपक्षीय व्यापार र बजारका हिसाबले पश्चिमाहरू मारमा पर्न सक्छन् । यी दुई नेताको सम्बन्धमा रसियाले समेत साथ दिए विश्व फेरि दुई ध्रुवमा विभाजित हुनेछ । जसले समस्या झन् टकरावमा परिणत हुँदै जाने र विश्वका अन्य मुलुक दुईतिर विभाजित हँुदै शीतकालीन समयमा फर्कने देखिन्छ ।

यसरी दुई ध्रुवमा विश्व शक्ति बाँडिँदा अमेरिकाको सुपर पावर शैलीमा पनि परिवर्तन हुने अडकलबाजी हुन थालेको छ । यद्यपि, अमेरिकी अर्थतन्त्रमा थोरै मात्र सुधार भए शक्ति क्षीण नहुने अर्को विश्लेषण पनि छ । विश्वका बेस्ट माइन्ड, अपार उर्वर भूमि र प्रविधिले मत्त, सुरक्षा क्षेत्रमा खर्बौं डलर बजेट र विश्व सुरक्षामा पहुँच रहेको अमेरिका सहज रूपमा पछि पर्न नसक्ने बुझेका भारत र चीनले सहकार्यमा जोड दिएका हुन् । यता सहकार्यसँगै अमेरिकासँगको उनीहरूको दुईपक्षीय सम्बन्ध र प्रभाव पनि अर्को पाटोका रूपमा रहने हुनाले बाहिर विश्लेषण गरिएजस्तो सहज छैन ।

चीनमा विकसित घटनासँगै दलाई लामाले आफ्नो उत्तराधिकारी तोक्ने र त्यसलाई कामको केही जिम्मेवारी दिनेजस्ता कार्यले पनि त्यस्तो विषयलाई पछ्याउँछ । पश्चिमा प्रभावमा रहेको भारतमा आन्तरिक रूपमा मोदीको आलोचना सुरु भएको छ । सञ्चार माध्यममा मोदीविरुद्ध धारणा आउन थालेका छन् । मोदीको चीन भ्रमणले भारतको आन्तरिक राजनीतिमा नयाँ मोड दिन सक्ने अड्कलबाजीसमेत भएका छन् ।

सन् २०१९ मा हुने आम निर्वाचनको खपतका लागि मोदीले चीनसमक्ष विशेष सम्बन्ध राखेको तर्कसमेत बाहिर आएको छ । भारतको संसद्मा वर्तमान सरकारको चीन नीति र भ्रमण’bout व्यापक बहसको संकेत देखिएको छ । भारतमा स्वतन्त्रतापछि नेहरूले लिएको नेतृत्वको अवस्थामा झैं पछिल्लो पटक मोदीसँग जोडिएर चीन विषय भारतको बहसमा आएको छ ।

चीनलाई यस क्षेत्र (दक्षिण एसिया) मा प्रवेश नै दिन हुँदैन भन्ने शक्तिको वर्चस्व भारतमा अझै रहेकाले मोदीलाई सहज भने छैन । चीन पुग्ने निर्धारित अर्को कार्यक्रम हुँदाहँुदै अचानक भ्रमण तय गर्दै मोदीले अनौपचारिक रूपमा चीनकै अर्को सहर उहानको भ्रमण गर्नु र भेटघाट हुनु आफैंमा अर्थपूर्ण छ । यस क्षेत्रका साना मुलुकले चीनलाई भारत र भारतलाई चीन देखाएर आफ्नो स्वार्थ पूरा गर्दै आएका छन् । कतिपयले व्यक्तिगत स्वार्थसमेत । यी दुई शक्तिकै मिलनले त्यो विषयमा भने फरक अवस्था सिर्जना गरिदिन सक्छ । चीनले सार्कमा समेत चासो राख्दै आफूलाई सदस्यसरहको हैसियत मागिरहेको अवस्थामा यसले केही प्रगति हुन सक्ने देखाएको छ । बेलायत र चीन तथा अन्य युरोप र चीनको सहकार्यमा पनि नाटकीय रूपमा सकारात्मक परिणाम देखिन थालेको छ ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w