यसरी चम्कियो खनाल ‘दाजुभाई’को भाग्य


रामकुमार शाही
काठमाडौँ, २७ चैत । नेपाल प्रहरी (जनपद)को महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रमुख बनाउने निर्णय गर्‍यो । संयोग नै मान्नुपर्छ, फरक फरक प्रकृतिका दुई फौजको कमाण्ड खनालद्वयले सम्हाल्ने अवसर पाएका छन् । यसअघि मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा आइजिपीका विषयले प्रवेश नै पाउन सकेको थिएन । अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा बादलबीच छलफल भयो । छलफलमा खनालद्वयको नाममा सहमति जुटेको थियो । यसलाई मन्त्रिपरिषद् बैठकले औपचारिकता दियो ।

नेपाल प्रहरीमा आइजीका लागि डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुस्कर कार्की र धिरु बस्न्यात तीब्र प्रतिष्पर्धामा थिए भने सशस्त्रमा एआइजीद्वय खनाल र पुष्पराम केसी दाबेदार थिए । तर, खनालद्वय नै वरियतामा पहिलो नम्बरमा थिए ।

सशस्त्रभन्दा जनपद प्रहरीमा आइजी छनोटमा सकस परेको थियो । आइजीका लागि दाबेदार मानिएका सबै अब्बल थिए । यो पटक आइजी नियुक्तिमा देखिने गरी शक्तिकेन्द्रको चलखेल हुन पाएन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाबेदारहरुलाई बालुवाटार प्रवेशमा समेत रोक लगाएका थिए । उनले वरियतालाई पनि तोडेनन् ।

खासगरी राष्ट्रपति विद्यादेवी भण्डारीको रोजाईमा पुस्कर कार्की थिए । उनलाई प्रहरी प्रमुख बनाउनुपर्ने सन्देश भण्डारीले ओलीसम्म पुर्‍याइसकेकी थिइन् । कार्की राष्ट्रपतिका गृहक्षेत्रका हुन् । तर, पहिलो नम्बरमा रहेका सर्वेन्द्र खनाललाई बनाउनुपर्ने माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री थापाको अडान थियो । यसकै प्रभाव स्वरुप मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न सकेन ।

दिउँसो फेरि बालुवाटारमा ओली, प्रचण्ड र बादलबीच छलफल भयो । उनीहरुसँग सहमति गर्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । ओली सर्वेन्द्र खनालको पक्षमा पनि सकारात्मक नै थिए । तर, राष्ट्रपतिका कारण उनी केही अफ्ठेरोमा परेको स्रोतको भनाई छ ।

निर्णायक ईश्वर पोखरेल

सत्ताको नेतृत्व गरेको दल एमालेभित्र समेत कसलाई प्रहरी प्रमुख बनाउने भन्ने विषयमा कुनै सहमति भएको थिएन । यसबीचमा प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि परामर्श गरेको बुझिएको छ । पोखरेलले पनि वरियता क्रममा पहिलो नम्बरमा नै रहेकालाई प्राथामिकतामा राख्न सुझाव दिएका थिए । पोखरेल आफै पनि सर्वेन्द्रलाई नै आइजी भएको हेर्न चाहन्थे । किनकी, खनाल एमाले महासचिव समेत रहेका पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं ५ निवासी हुन् र उनको पोखरेलसँग निकट सम्बन्ध छ । यस हिसाबले सर्वेन्द्र खनाल आइजिपी हुनुमा पोखरेलको भूमिका निर्णायक जस्तै देखिएको छ ।

ओली–प्रचण्डको छलफलमा पनि वरियता क्रममा पहिलो नम्बरमै रहेकालाई प्रमुख बनाउने सहमति भएको थियो । शीर्ष नेताद्धयको बैठकमा प्रचण्डले बरियता क्रम मिच्दा प्रहरी संगठनभित्र फेरी बिबाद आउन सक्ने भन्दै अडान लिएपछि प्रधानमन्त्री ओलीले सहमति जनाएका थिए ।

शैलेन्द्रको भाग्य

२०४६ सालमा इन्स्पेक्टरबाट सर्वेन्द्रले नेपाल प्रहरीमा जागिर सुरु गरेका थिए । जबकी शैलेन्द्र २०४९ सालको इन्स्पेक्टरकै ब्याची हुन् । २०५८ सालमा सशस्त्र प्रहरी खुलेपछि उनी नेपाल प्रहरीबाट सशस्त्रमा पुगेका थिए । उनी यस्ता भाग्यमानी यस्ता हुन्, उनका ब्याचीहरु अहिले पनि नेपाल प्रहरीमा एसएसपी पनि हुन सकेका छैनन् । तर, उनी एआइजी हुँदै सशस्त्र प्रहरीको प्रमुख बनेका छन् ।

एआइजी भए पनि शैलेन्द्रले डीआइजी सर्वेन्दलाई दाजु भनेर बोलाउने गर्थे । उनीहरुको निकै बलियो सम्बन्ध छ । समयक्रमले यी दुई दाजुभाई दुई प्रहरी संगठनको कमाण्डर बनेका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण बुधबारबाट अनिवार्य अवकाश पाउँदैछन ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )