संघीय संसद्ले काम थाल्दै


दुर्गा खनाल
२६ गते सभामुख चुनाव
२७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने
३० गते राष्ट्रिय सभा अध्यक्ष चुनाव
काठमाडौँ — निर्वाचन सकिएको झन्डै तीन महिनापछि संघीय संसद्ले औपचारिकता पाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूले आइतबार ज्येष्ठ सदस्यबाट शपथ लिएका छन् । यससँगै नयाँ संविधान जारी भएपछिको संसद्ले सोमबारबाट औपचारिक रूपमा काम थाल्नेछ ।
प्रतिनिधिसभाका लागि गत मंसिर १० र २१ गते दुई चरणमा चुनाव भए पनि परिणाम घोषणाका लागि कानुनी अड्चनका कारण संघीय संसद्ले औपचारिक काम सुरु गर्न झन्डै तीन महिना लागेको हो । प्रतिनिधिसभाका सांसदलाई राजपाका अध्यक्ष ७५ वर्षीय महन्थ ठाकुरले शपथ गराए । राष्ट्रिय सभाका सदस्यलाई कांग्रेस सांसद ६९ वर्षीया तारादेवी भट्टले शपथ गराइन् । यसअघि दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।

नयाँबानेश्वरस्थित संसद् भवनमै व्यवस्था गरिएका दुइटा छुट्टाछुट्टै हलमा पहिले प्रतिनिधिसभाका सांसदको शपथ करिब साढे ४ बजे भएको थियो भने साँझ ५ बजे राष्ट्रिय सभाका सांसदको शपथ गराइएको थियो । आ–आफ्ना समुदायका वेशभूषासहित पुगेका सांसदहरूले प्रतिनिधिसभामा नेपालीसहित १२ भाषामा शपथ लिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ठाकुरले राष्ट्रपतिसमक्ष मैथिलीमा शपथ लिए पनि सांसदहरूलाई शपथ गराउँदा नेपालीमै लेखिएको शपथपत्र वाचन गरेका थिए ।

राष्ट्रिय सभामा भने सांसदहरूले नेपालीसहित तीन भाषामा शपथ लिएका थिए । आ–आफ्नो मातृभाषामा शपथ लिन पाउने संवैधानिक व्यवस्थाअनुसार सांसदहरूले शपथअघि नै संसद् सचिवालयमा शपथ लिन चाहेको मातृभाषा र नाम दर्ता गराएका थिए । त्यही आधारमा सचिवालयले फरक–फरक भाषाको शपथपत्र सांसदहरूलाई उपलब्ध गराएको थियो ।
संविधानसभाको २०६४ र २०७० सालको चुनावपछि एक सदनात्मक संसदको अभ्यास हुँदै आएको थियो । नयाँ सविधानले दुई सदनात्मक व्यवस्था गरेपछि अब संसदका कारबाही प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट चल्नेछन् । २०१५ साल र २०४७ सालको संविधानमा पनि दुई सदनात्मक व्यवस्था रहेकाले यस्तो संसदीय अभ्यास नयाँ भने होइन ।

शपथग्रहणपछि प्रतिक्रिया दिँदै प्रमुख दलका नेताहरूले संघीयता कार्यान्वयनमा संघीय संसद्ले सक्रिय रूपमा काम गर्नुपर्ने बताए । ‘सिंगो देशलाई एकताबद्ध बनाएर पाँच वर्षमा जनतालाई अब मुलुक ठीक ढंगबाट अघि बढ्छ भन्ने सन्देश दिने गरी काम गर्नुपर्छ,’ पूर्वसभामखु सुवास नेम्बाङले भने, ‘संविधान कार्यान्वयन गराउन धेरै कानुन बनाउनुपर्नेछ । त्यसका लागि संसद् आफैंले कुन–कुन कानुन, कहिलेसम्म पारित गरिसक्नुपर्ने निरन्तर ध्यान दिनुपर्छ ।’ कांग्रेस सांसद राधेश्याम अधिकारीले पनि संघीयतालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न दुवै सदनको महत्त्वपूर्ण भूमिका रहने बताए । ‘धेरै कानुन बनाउनुपर्ने अवस्था छ, त्यसका लागि यो संसद्ले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ,’ सांसद अधिकारीले भने, ‘स्थानीय, प्रदेश र संघबीचको सम्बन्ध विस्तारमा पनि संसद्ले विशेष दायित्व बहन गर्न‘पर्छ ।’

एमाले उपमहासचिवसमेत रहेका सांसद विष्णु पौडेलले सरकारका कामकारबाही प्रभावकारी बनाउन संसदको सक्रिय भूमिका आवश्यक रहेको बताए । ‘संविधानले अपेक्षा गरेअनुसार समृद्धि र सामाजिक न्याय प्राप्त गर्न सरकारलाई झक्झक्याउने काम हुन्छ,’ पौडेलले भने, ‘विगतका दिनमा जनप्रतिनिधि रहने संस्थाको आलोचना पनि भएको थियो, अब यो संस्था आम नेपालीले विश्वास र भरोसा गर्न सक्ने र समस्याहरूको समाधान खोज्ने निर्णायक थलोका रूपमा रहनुपर्छ ।’

कसरी बने ठाकुर ज्येष्ठ सदस्य ?
नागरिकतामा रहेको मितिका आधारमा राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवको उमेर ८० वर्ष छ । तर उनी जन्मेको ६३ वर्ष मात्र भयो । नागरिकता बनाउँदा त्रुटि भएकाले कानुनी रूपमा उनको उमेर ८० वर्ष देखियो । सरकारी कामकाज व्यक्तिको अनुहार हेरेर हँ‘दैन । कानुनी आधार पहिल्याउँदा यादवको उमेर ८० वर्ष हुने देखिएपछि संसद् सचिवालयले ज्येष्ठ सदस्यका रूपमा उनैबाट शपथग्रहण गराउने तयारी गर्‍यो । सचिवालयले पहिले यादवलाई नै शपथ गराउन राष्ट्रपति कार्यालयलाई खबर गरेको थियो । सचिवालयको तयारीअनुसार राष्ट्रपति कार्यालयले पनि तयारी बढायो । शनिबारबाट यादवको उमेरको विषय धेरै आलोचनात्मक बन्न पुग्यो । प्रधानमन्त्री ओलीले नै एमाले र माओवादी संसदीय दलको संयुक्त बैठकमा ‘आफूले भाइ भन्दै आएका व्यक्तिलाई ज्येष्ठ सदस्य मानेर शपथ लिनुपर्ने अवस्था आएको भन्दै जन्ममिति’bout सार्वजनिक रूपमा असन्तुष्टि जनाए । ‘एउटा मात्र जन्ममिति भएको त म मात्रै रहेछु’ भन्दै ओलीले व्यंग्य गरे ।

प्रधानमन्त्रीबाटै यस्तो टिप्पणी आएपछि अन्य नेताहरूले पनि यो विषयलाई गम्भीर रूपमा लिए । यादव स्वयंले पनि ज्येष्ठ सदस्यका रूपमा शपथ गराउन जानु हुँदैन भन्ने महसुस गरे । ‘कानुनी रूपमा त शपथ गराउने मेरो अधिकार थियो, राष्ट्रपति कार्यालयबाट पनि खबर आएको थियो,’ यादवले कान्तिपुरसँग भने, ‘तर म जनताको प्रतिनिधि भएको हैसियतले नागरिकतामा भएको त्रुटिलाई आधार मानेर मैले सार्वभौम संसदको गरिमा घटाउनु हँ‘दैन भन्ने महसुस गरें ।’

प्रधानमन्त्री ओलीले आइतबार बिहान राष्ट्रिय जनता पार्टीकै अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा झन्डै दुई घण्टा कुराकानी गरे । राजपालाई सरकारमा आउन आग्रह गर्दै उनले ज्येष्ठ सदस्यको विषयमा पनि ठाकुरको ध्यानाकर्षण गराए । राजपाभित्र पनि ठाकुर नै ज्येष्ठ सदस्यका रूपमा शपथ गराउन योग्य भएकाले यादवलाई अनुपस्थित गराउने अनौपचारिक सहमति भयो । त्यसका आधारमा यादवले संसद् सचिवालयलाई आफू उपस्थित हुन नसक्ने र अर्कोव्यक्तिलाई ज्येष्ठ सदस्यका रूपमा शपथ लिने व्यवस्था मिलाउन अनुरोध गरे । त्यसपछि७५ वर्षीय ठाकुरलाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउन सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी गरायो । ठाकुरले राष्ट्रपति कार्यालय पुगेर शपथ लिए ।

‘घरमा नागरिकता टोली आएर बसेको थियो, दाइहरूले सबैको नागरिकता बनाइदिने क्रममा मेरो पनि बनाइदिनुभएको हो, जन्ममिति निकै फरक पर्न गएछ,’ यादवले भने, ‘म कतै नोकरी गर्न गइनँ । त्यसैले सुरुमा मैले नागरिकताको जन्ममिति जति भए पनि खासै मतलब राखिनँ ।’ सांसद, मन्त्री भएपछि सार्वजनिक पदमा पुगेको व्यक्तिको नागरिकता र वास्तविक जन्ममिति धेरै फरक पर्नु ठीक हुँदैन भन्ने महसुस यादवलाई भयो । त्यसपछि उनले नागरिकता सच्याउन पहल पनि गरे । ‘मैले सच्याउन पहल गरें तर एक पटक बनाएको नागरिकता फेरि फरक–फरक जन्ममिति बदल्न मिल्दैन भन्ने कुरा आयो । अनि मैले पनि छाडिदिएँ,’ सांसद यादवले भने, ‘मेरोजस्तो समस्या अन्य धेरै व्यक्तिलाई भएको हुन सक्छ, यसमा सरकारले ध्यान दिनु आवश्यक छ ।’ यादवले सोमबार ठाकुरसँग शपथ लिनेछन् ।

यस्तो छ कार्यसूची
सोमबार ४ बजेबाट औपचारिक रूपमा सुरु हुने संसद्को पहिलो बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार दुवै सदनको पहिलो बैठकको कार्यसूची करिब तय भएको छ । दुवै सदनको पहिलो बैठकमा आ–आफ्नो सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत हुनेछ । त्यसपछि संसद्को बैठक आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने कार्यसूची छ । प्रतिनिधिसभाले फागुन २६ गतेका लागि सभामुख चयनको मिति तय गर्नेछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ ।

संविधानमा राष्ट्रपतिबाट बहुमतप्राप्त दल वा दुई दलको समर्थनप्राप्त व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । संसद् सुरु भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले सभामुखको निर्वाचनको भोलिपल्ट यो कार्यसूची राखिएको हो । राष्ट्रिय सभाले फागुन ३० गते अध्यक्ष चयन गर्ने गरी सोमबारको बैठकले मिति तय गर्ने निश्चित भएको छ । सभामुख र अध्यक्षको चयनपछि मात्र उपसभामुख र उपाध्यक्ष चयनको मिति तय हुने प्रवक्ता गौतमले जानकारी दिए ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w