सनसनीपूर्ण जित: नेपाल विश्वकप छनोटमा


विनोद पाण्डे
काठमाडौँ — क्यानडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को राउन्ड रोबिनको पाँचौं तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनोटमा पुग्ने स्थिति थियो । क्यानडामाथि सनसनीपूर्ण जित हात पार्दै बुधबार विश्वकप छनोटको यात्रा तय गर्न सफल नेपाली क्रिकेट टोली नामिबियाको खेल मैदानमा सेल्फी खिचेर खुसी साट्दै ।

नेपाल सर्वाधिक ८ अंक बोक्दै विश्वकप छनोटमा पुगेको हो । यूएई, नामिबिया र क्यानडाको समान ६ अंक भए पनि राम्रो रन रेटका आधारमा यूएई छनोट हुन सफल भएको छ । नेपाल र यूएईले बिहीबार फाइनल खेल्नेछन् ।
जित हात पार्न नसकेको भए नेपाल डिभिजन–२ मै रोकिने थियो । २०१९ को विश्वकप छनोटको आधार रहेको डिभिजन–२ का शीर्ष दुई टोली विश्वकप छनोटमापुगेका हुन् ।
नेपाल लगातार दोस्रो पटक विश्वकप छनोटमा पुगेको हो । विश्वकप छनोट मार्चदेखि जिम्बावेमा हुनेछ । विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्ससहित १० टोलीको सहभागिता रहने छ । छनोट प्रतियोगिताका शीर्ष दुई टोली २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा पुग्नेछन् । त्यसबाहेक स्कटल्यान्ड, हङकङ, पपुवा न्युगिनी छनोटमा सहभागी अन्य राष्ट्र हुन् ।
वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान टेस्ट मान्यता प्राप्त राष्ट्र हुन् । नेदरल्यान्ड्ससँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ । यीबाहेक विश्वकप छनोटको शीर्ष तीनमा पर्ने राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने छन् । पुछारका दुई टोलीले फेरि डिभिजन–२ मै फर्कनुपर्ने छ ।
नेपालले बुधबार टस जितेपछि ब्याटिङ पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । चार पटक एकदिवसीय विश्वकप खेलिसकेको क्यानडा यो अवस्थामा ११ औं पटक विश्वकप छनोटमा पुग्ने निश्चितजस्तै देखिएको थियो । तर करणले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गरी नटआउट ४२ रन बनाएपछि नेपालले अन्तिम बलमा विजय लक्ष्य पूरा गरेको थियो ।
अन्तिम २ ओभरमा २० रन चाहिने अवस्थामा करणले ४९ औं ओभरमा एक चौका र एक छक्कासहित १२ रन बनाएपछि नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । अन्तिम ओभरको पहिलो चार बलमा कुनै रन लिन नसक्दा पराजयको नजिक पुगिसकेको नेपाल पाँचौं बलमा करणले छक्का प्रहार गरेपछि सनसनीपूर्ण जितको आस ब्युँतिएको थियो । त्यसपछिको अन्तिम बल वाइड हुँदा नेपालको पोल्टामा १ रन थपियो । र, अन्तिम बलमा सहज १ रन प्रहार गरेर करणले नेपाललाई जित दिलाए । करणले सन्दीपसँग १०औं विकेटमा ५१ रनको साझेदारी गरेका थिए ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w