एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने


रामकृष्ण अधिकारी/गोविन्द लुइँटेल
काठमाडौं : एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय गरेको सहभागी नेताहरूले बताएका छन्। बैठकमा नेताहरूले पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल गठन सम्बन्धमा छलफल गरेका थिए।

कार्यदल गठनपूर्व दुई अध्यक्षबीच वैचारिक कार्यदिशामा सहमति गर्ने निष्कर्षमा नेताहरू पुगेको पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले बताए। ‘गृहकार्य अलिक पुगेन, थप छलफल गर्न हामीले अर्काे बैठकसम्मका लागि समय लिएका हौं। पार्टी एकतामा कुनै विवाद र विमति छैन, वैचारिक र संगठनात्मक विषयमा सहमति खोज्न दुई अध्यक्षबीच छलफल हुन्छ र त्यसपछि मात्रै कार्यदल गठन हुन्छ’, उनले भने।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि ओली-दाहालबीच फेरि छलफल भएपछि मात्र कार्यदल गठन हुने बताए। ‘दुई अध्यक्षबीच छलफल गरी वैचारिक र राजनीतिक विषयमा सहमति गर्ने कोसिस हुन्छ, त्यसपछि मात्रै अभिलेखन गर्न र थप सल्लाह-सुझाव लिन कार्यदल गठन गर्ने निष्कर्षमा हामी पुगेका छौं’, उनले भने, ‘त्यसपछि कार्यदलले तयार पार्ने दस्तावेज एकता संयोजन समितिबाट अनुमोदन गरिनेछ।’

संयोजन समितिका अर्का सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार वैचारिक र संगठनात्मक मोडालिटी तय गर्न गठन गरिने कार्यदलको अवधारणा बैठकले टुंगो लगाएको छ।

पार्टी एकतामा कुनै विवाद र विमति छैन, वैचारिक र संगठनात्मक विषयमा सहमति खोज्न दुई अध्यक्षबीच छलफल हुन्छ र त्यसपछि मात्रै कार्यदल गठन हुन्छ।’ माधवकुमार नेपाल, वरिष्ठ नेता एमाले

‘कार्यदलले के-कसरी काम गर्ने अवधारणा तयार भएको छ’, उनले भने, ‘केही गृहकार्य नपुगेकाले कार्यदल गठन भएन। अब बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गर्ने तथा संगठनात्मक संरचना र सिद्धान्त’bout निर्णय लिनेछ।’

अध्यक्ष ओली बुधबार स्वास्थ्योपचारका लागि बैंकक जाँदैछन्। उनको अनुपस्थितिमा कार्यदल गठनको गृहकार्य हुनेछ। उनी माघ १ गते काठमाडौं फर्केलगत्तै दुई अध्यक्षबीच छलफल हुने र संयोजन समितिको बैठक बस्ने नेता खनालले बताए। १७ असोजमा एमाले-माओवादीले पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गर्दै एकता संयोजन समिति गठन गरेका थिए। समितिको पहिलो बैठक कात्तिक १५ यता बस्न सकेको थिएन।

समितिको बैठक बस्न नसक्दा विभिन्न आशंका उत्पन्न भएका थिए। तर मंगलबारको बैठकपछि त्यस्ता आंशका चिरिएको समितिका अर्का सदस्य तथा एमाले उपाध्यक्ष वामदेव गौतमले बैठकपछि सञ्चारकर्मीहरूसँग भने। ‘कुनै विवाद र प्रश्न छैन, एकतामा हामी ढृढ छौं’, उनले भने।

राष्ट्रियसभा र प्रदेश सरकारका लागि कार्यदल

समितिले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी चयन, प्रदेश सरकार गठनको गृहकार्य गर्न संयुक्त कार्यदल बनाएको छ। एमालेका ३ र माओवादी केन्द्रका ३ जना रहने गरी ६ सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलमा एमालेका सुवासचन्द्र नेम्बाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन्।

कार्यदलले माघ २४ मा हुने राष्ट्रियसभाको चुनावमा संयुक्त रूपमा उम्मेदवार चयन गर्ने, प्रदेशको मुख्यमन्त्री र सरकार गठन दुई पार्टीको सहमतिमा हुने नेता नेपालले जानकारी दिए।

बैठक बस्नुअघि एमालेको स्थायी समिति बैठकले एकीकृत पार्टीको वैचारिक तथा संगठनात्मक मोडालिटी कार्यदलमार्फत टुंगो लगाउन म्यान्डेट दिएको थियो। माओवादी केन्द्रका नेताहरू पनि शीर्ष नेताबीच छलफल गरी संयोजन समिति बैठकमा सहभागी भएका थिए।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )