गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सक्नुपर्ने समयमा ६० प्रतिशत मात्रै काम


उत्तम काप्री/ राधेश्याम विश्वकर्मा
काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने निर्धारित समयमा ६० प्रतिशत मात्र काम हुने भएको छ। नेपाल सरकार र ठेकेदार कम्पनीबीच सन् २०१८ को जुलाईभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो। ठेकेदार चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीले पछिल्लो सयम बुझाएको प्रगति विवरणमा जुलाईसम्म ६० प्रतिशतमात्र काम गर्न सकिने उल्लेख भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए।

निर्माण समयमै सम्पन्न नहुने निश्चित भए पनि समय थप्ने कि ठेक्का सम्झौता रद्द गर्ने भन्ने विषयमा छलफल भएको छैन। अबको ६ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण कम्पनीले अहिलेसम्म २९ प्रतिशत मात्रै काम गरेको छ। निर्माण कम्पनी आफैले सन् २०१७ को डिसेम्बरसम्म ६५ प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो।

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको औपचारिक उद्घाटन गरेका थिए। तर, विमानस्थल निर्माण सुरु भएको चार वर्षमा निर्माण कम्पनीदेखि सरकारी निकायसम्मको लापरबाहीका कारण काम सुस्त भएको हो। कुल ८५.५५७ मिलियन डलरको परियोजना प्राधिकरणले सन् २०१४ नोबेम्बर १३ मा चिनियाँ कम्पनीसँग आईसीबी एक नम्बर कामका लागि ७८.३ मिलियन डलरका निर्माण सम्झौता गरेको थियो।

निर्माण सम्झौता भएको करिब एक महिनापछि सन् २०१४ डिसेम्बर ३१ मा निर्माण सुरु भएको थियो। निर्माण सम्झौतामा सन् २०१७ को डिसेम्बरमा काम सम्पन्न गर्नुपर्ने उल्लेख थियो। तर, सन् २०१५ अप्रिलको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण काममा अवरोध गरेको निष्र्कषसहित निर्माण कम्पनीलाई सन् २०१८ को जुलाईसम्मको समय थपिएको थियो।

नेपाल सरकार र ठेकेदार कम्पनीबीच सन् २०१८ को जुलाईभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो।

समय थपपछि पनि निर्माण कम्पनीको लापरबाही र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हस्तक्षेपका कारण काममा ढिला भएको श्रेष्ठको आरोप छ।

प्राधिकरणकाले पनि समय-समयमा अनुगमन तथा निरीक्षण गरी आयोजनाको काम अघि बढाउन दबाब दिन नसक्दा निर्माणमा ढिलाइ भएको श्रेष्ठ स्वीकार गर्छन्। विमानस्थल निर्माण खर्चदेखि व्यवस्थापन गर्ने निकाय प्राधिकरण भए पनि काममा मन्त्रालयले हस्तक्षेप गरेको उनको भनाइ छ। आयोजनाको काम र खर्चका ’boutमा पनि प्राधिकरणलाई कुनै खबर नभएको श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘सीधै मन्त्रालयलाई भन्ने र मन्त्रालयले अर्थसँग सहमति लिने गर्दा प्राधिकरण बेखर बनेको हो।’

निर्माण कम्पनीसँग तीन हजार मिटर रन वे निर्माण, प्यारलल ट्याक्सी वे, रन वे र प्यारलल ट्याक्सी वे जोड्न ‘एग्जिट वे’ निर्माण र खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्राससनिक भवन, आगो नियन्त्रण कार्यालय र जेनेनेटर घर निर्माणको जिम्मा दिइएको श्रेष्ठले बताए। यसमा निर्माण कम्पनीले खोला फकाउने बाहेक अन्य काममा प्रगति गर्न सकेको छैन।

विमानस्थल निर्माणका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने पनि सन्तुष्ट छैन। तर, उनले निर्माणलाई गति दिन कुनै कदम चालेका छैनन्। प्राधिकरणका महानिर्देशक सन्जीव गौतम पनि आयोजनाको काममा सन्तुष्ट छैनन्। गौतम मन्त्रालयले आफ्नो काममा हस्तक्षेप गरेको कारण कुनै काम गर्ने नसकेको आरोप लगाउँछन्।

यस कारण भयो ढिला
विमानस्थल निर्माणमा ढिलाइ हुनुमा एक निकायले अर्कोलाई ओरोपप्रत्यारोप लगाइरहेको छन्। प्राधिकरणले मन्त्रालयले हस्तक्षेप गर्दा ढिलाइ भएको आरोप लगाइरहेको छ। मन्त्रालयले भने प्राधिकरणले काममा चासो नलिएकै कारण ढिलाइ भएको आरोप लगाउँदै आएको छ। प्राधिकरणले आयोजनाको काममा अनुगमन र निरीक्षणलाई प्राथमिकता नदिएको मन्त्रालयको आरोप छ। यता निर्माण कम्पनीले भने अघोषित रूपमा काममा सहभागी गराइएको सहायक निर्माण कम्पनीका अवरोधले दुई वर्षसम्म काम गर्न नसकेको आरोप लगाएको छ।

पूर्वप्रधान मन्त्री झलनाथ खनालका छोरा निर्भिक खनालको कम्पनीले आफूलाई काम गर्न नदिएको निमार्ण कम्पनीको भनाइ छ। तर, अहिले सहायक कम्पनी बाहिरिसकेको छ। योसँगै सुरुवाती चरणमा कच्चा पदार्थ माटो, ढुंगा र गिट्टी संकलनमा समस्या आउँदा निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेनले पनि निर्माणमा समस्या ल्याएको छ। तर, निर्माण कम्पनीले अहिले दैनिक एक सय ५० भन्दा बढी कामदार काममा प्रयोग गरिरहेको छ। यसैगरी आवश्यक सबै उपकरण पनि प्रयोगका ल्याएको श्रेष्ठ बताउँछन्। निर्माण कम्पनीलाई काममा कुनै समस्या छैन। आवश्यक सामान पनि सहज रूपमा लिइरहेको छ।

निर्माणमा कसको कति लगानी

प्राधिकरणले कुल ८५.५५७ मिलियन डलरमा यो विमानस्थल निर्माण पूरा गर्ने लक्ष्य राखेको छ। यसमा आईसीबी १ अन्तर्गत ७८.३ मिलियन डलरमा काम थालिएको हो। यो काम समयमै सम्पन्न हुन नसक्दा आईसीबी २ अन्तर्गतको टेन्डर पनि हुन सकेको छैन। आईसीबी २ अन्तर्गको कामका लागि प्राधिकरणले ७.२५७ मिलियन रकम राखेको छ। यो आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ।

यसैगरी ओएफआईडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ। ऋण प्राधिकरणले सन् २०५१ को मार्चसम्म चुक्ता गरिसक्नुपर्नेछ। प्राधिकरणले सरकारलाई पाँच प्रतिशत ब्याजदरका दरले ४८ किस्तामा आठ वर्षको समय राखेर ऋण चुक्ता गर्नुपर्ने हुन्छ। प्राधिकरणले पहिलो ऋणको किस्ता सन् २०१९ को मार्चमा तिर्नुपर्नेछ।

एडीबीको चेतावनीले अन्योल

भैरहवा : भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य फेरि अन्योलमा परेको छ। चिनियाँ ठेकेदार कम्पीले व्यवस्थापन परिवर्तन गरी काम अगाडि बढिरहेको अवस्थामा एसियाली विकास बैंक (एडीबी) को चेतावनीका कारण निर्माण अन्योलमा परेको छ।

निर्धारित समयमा काम नसकिएको भन्दै एडीबीले विमानस्थलका लागि प्रदान गर्दै आएको अनुदान र ऋण दुवैमा रोक लगाउने चेतावनी दिएको छ। चिनियाँ ठेकेदारले सन्तोषजनक काम नगरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एडीबीले ऋण र अनुदान रोक्ने चेतावनीसहित पत्र लेखेको विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्माले जानकारी दिए।

काम अगाडि बढिरहेको अवस्थामा एडीबीको चेतावनीले चिन्ता थपिएको छ। अहिलेसम्म विमानास्थल निर्माणको करिब ३३ प्रतिशत काम सकिएको भन्न मिले पनि प्रगति प्रतिवेदनमा भने २९ प्रतिशत रहेको शर्माले जानकारी दिए। करिब ६ महिना समय थप भएको अवस्थामा निर्माण कम्पनीले सन २०१८ को अन्तिमसम्म आयोजना सकिने सम्भावना रहेको उनको भनाइ छ। यस्तो अवस्थामा एडीबीले असहयोग गरे सरकार आफैले आयोजना सम्पन्न गर्नुपर्ने उनको सुझाव छ। शर्माका अनुसार विमानस्थलमा रन वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन, ओभरहेड ट्यांकीलगायत काम भइरहेका छन्।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w