चालकको लापरबाहीले त्रिशूलीमा खस्यो बस, कम्तीमा ३१ को मृत्यु


केही यात्रु नदीमा बेपत्ता । घाइते भन्छन्– ‘चालकले रक्सी पिएका थिए ।’
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त । गृह मन्त्रालयद्वारा छानबिन समिति गठन ।
– हरिहरसिंह राठौर, घाटबेसी (धादिङ)
कार्तिक १२, २०७४-सप्तरीबाट काठमाडौं आइरहेको तीव्र गतिको बसलाई चालकले घुम्तीमा मोड्न नसक्दा शनिबार बिहान त्रिशूली नदीमा खसेर कम्तीमा ३१ यात्रुको मृत्यु भएको छ । नदीमा बेपत्ता यात्रुको संख्या साँझ अबेरसम्म पनि यकिन हुन सकेको छैन । सहचालकको मृत्यु भएको छ भने लापरबाही गर्ने चालक सन्तोष चौधरी फरार छन् ।

धादिङ गजुरी–५ बाङ्गे मोडमा बिहान करिब साढे ५ बजेतिर ना६ख १४६७ नम्बरको बस खस्न पुगेको थियो । यो त्यही स्थान हो, जहाँ २०६० सालमा भएको बस दुर्घटनामा बेलायती सेनामा काम गर्ने ५२ जनाको मृत्यु भएको थियो ।

बसबाट ३१ जनाको शव निकालिएकोमा पाँच बालक, पाँच बालिका, ८ महिला र ११ पुरुष गरी २९ जनाको मात्र सनाखत हुन सकेको छ । ज्यान गुमाउनेमा अधिकांश सप्तरीवासी छन् ।

‘मलगायत श्रीमती र छोरा मनीष सबैभन्दा पछाडि सिटमा थियौं । कसरी निस्किएँ, थाहै भएन, उपचार गराइरहेछु,’ भारतको विहार मोतीहारी निवासी मनोज ठाकुरले भने, ‘श्रीमती र छोरा जोगाउन सकिनँ ।’

घाइते श्रवण ठाकुरका अनुसार घुम्तीमा बस नमोडिई सीधै नदीमा खसेको थियो । ‘बस नारायणगढदेखि तीव्र गतिमा हुइँकिएको थियो, खाल्डाखुल्डी सडकमा समेत चालकले गति घटाएका थिएनन्,’ उनले भने ।

घाइते यात्रुका अनुसार चन्द्रनिगाहपुर लालगढमा खाना खानेक्रममा चालकले मदिरा सेवन गरेका थिए । त्यसपछि बसको गति अस्वाभाविक रूपमा बढाएको उनीहरूको भनाइ छ ।

चालकछेउ क्याबिनमा बसेका यात्रु उछिट्टिएर बचेका थिए । अन्य यात्रु भने बससँगै त्रिशूलीमा डुबेका थिए । चालक चौधरी भागेका छन् ।

परिवारका ४ जना गुमाएका ८० वर्षे वृद्ध सोधिरहेछन्– छोराले फोन गर्‍यो ?
शुक्रबार राजविराजबाट आएको ना ६ ख १४६६ नम्बरको सन्देश ट्राभल्सको रात्रिबसले १७ यात्रु हेटौंडामा ना ६ ख १४६७ नम्बरको बसलाई दिएको थियो । उक्त बस हेटौंडामा थप यात्रु चढाएर काठमाडौंका लागि हिँडेको थियो ।

बस खस्नासाथ घटनास्थलको २ सय मिटर पर पोखरेमा रहेका युवाले देखेका थिए । स्थानीय आशिष अधिकारी, छत्रबहादुर महर लगायतले डुब्दै गरेको बसबाट १६ जना यात्रु निकालेका थिए । अगाडिको सिसा फुटेपछि ८ जना बाहिर उछिट्टिएका थिए । ‘पर्खाल लगाएको जालीमा बस ठोक्किएपछि अगाडिको सिसा फुटेर म नदीमा खस्न पुगें,’ घाइते श्रवणले भने, ‘त्यसपछि पौडिएर बाँचें ।’

उद्धारमा स्थानीयवासीका साथै सेना, सशस्त्र, नेपाल प्रहरी र रेडक्रस खटिएको थियो । नदीमा डुबेको बसलाई क्रेनले आधा भाग निकालेको छ । बिहानैदेखि प्रहरीसहित गोताखोर टोली उद्धारमा खटिएको थियो । बसमा रहेका यात्रुसंख्या यकिन नहुँदा त्रिशूलीमा बेपत्ता हुनेको संख्या पनि अन्योल छ । प्रहरीले बेपत्ताको खोजी आइतबार पनि जारी राख्ने बताएको छ ।

उद्धार गरिएकामध्ये दुर्गानन्द चौधरी र उनका छोरा आशिष चौधरीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइते १४ लाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र निजी अस्पतालमा उपचार भइरहेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले मृतकको सनाखत गरी सम्बन्धित क्षेत्रमा पठाउने बताए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का पण्डित रमानाथ झाको सिंगो परिवारकै मृत्यु भएको छ । उनका दुई छोरा, बुहारी, दुई नातिसहितको ज्यान गएको हो । झाका छोराहरू सन्जितकुमार र अन्जितकुमार, सन्जितकी श्रीमती सिमी र सन्जितका छोरा अभिनवको मृत्यु भएको तिलाठीका वडाध्यक्ष दिनेश्वर मिश्रले बताए । सन्जितका कान्छा छोरा प्रतीक बेपत्ता छन् । यस्तै सन्जितका सालो बिटु झा र ठूली सासूआमा चन्द्रिकादेवी झाको समेत ज्यान गएको छ । सन्जितकी साली पूजा बेपत्ता छिन् । सन्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा सातौं तहमा कार्यरत थिए ।

घाइते हुनेमा दुर्गानन्द यादव, अमन ठाकुर, दुर्गानन्द चौधरी, अभिशेष चौधरी, विवशकान्त पण्डित, सुजिल र सुरेन्द्र यादव, निमिदिता र शुभम चौधरी, सिद्धार्थ यादव, उद्धव ठाकुर, मनोज ठाकुर, श्रवणकुमार ठाकुर, गौरीशंकर ठाकुर, सन्तोष सरदार र गणेश ठाकुर छन् ।

मृतकहरूको नाम
नाम वर्ष ठेगाना

१. राजकपुर यादव ५० गोलबजार ८, सिरहा

२. चन्द्ररेखा प्रमाणी १५ बोधेबर्साइन, सप्तरी

३. चन्द्रावती झा ७४ राजविराज १६, सप्तरी

४. अन्जितकुमार झा ३० तिलाठी कोइलाडी, सप्तरी

५. सन्जितकुमार झा ३५ तिलाठी कोइलाडी, सप्तरी

६. नरेश मुखिया १८ देउरिया भरुवा १८, सप्तरी (सहचालक)

७. सुशान्त चौधरी ३ नरैया, सप्तरी

८. रामानन्द यादव २४ नरैया, सप्तरी

९. ममतादेवी ठाकुर २९ बिहार, भारत

१०. आदित्य यादव ६ बोधेबर्साइन २, सप्तरी

११. पार्वती चौधरी २६ नरैया, सप्तरी

१२. सिम्मीकुमारी झा ३५ तिलाठी कोइलाडी, सप्तरी

१३. प्रमोद इसार २७ महादेवा ९, सप्तरी

१४. सुधीरकुमार यादव २९ कृष्णसरोवन ४, सप्तरी

१५. मनीष ठाकुर १२ बिहार मधुवनी, भारत

१६. उदय मण्डल ३० बोधेबर्साइन २, सप्तरी

१७. आशिकीकुमारी यादव ३५ बोधेबर्साइन २, सप्तरी

१८. समीक्षा यादव ५ कृष्णसरोवन ४, सप्तरी

१९. प्रभा चौधरी ३७ लहान ६, सिरहा

२०. ऋषि आनन्ददेव ३० राजविराज १३, सप्तरी

२१. आदित्य झा २० राजविराज, सप्तरी

२२. समीक्षाकुमारी यादव १३ बोधेबर्साइन २, सप्तरी

२३. सुदीप चौधरी ५ शम्भुनाथ नपा, सप्तरी

२४. चित्रलेखा प्रमाणी ९ बोधेबर्साइन, सप्तरी

२५. मानवी यादव १ बोधेबर्साइन ३, सप्तरी

२६. सुरेन्द्र चौधरी ३५ बोधेबर्साइन २, सप्तरी

२७. चित्ररेखा प्रमाणी ११ बोधेबसाईन ३, सप्तरी

२८. पशुपति चौधरी ६ बोधेबर्साइन २, सप्तरी

२९. चन्द्रलेखा प्रमाणी १५ बोधेबर्साइन, सप्तरी स्रोत : जिल्ला प्रहरी कार्यालय, धादिङ

‘आमालाई तान्न सकेनौं’

निमिदिता चौधरी (वर्ष १३)

सिग्रही, सप्तरी

हामी आमासँगै बी साइडको ११ र १२ नम्बर सिटमा थियौं । बाबा कतारमा काम गर्नु हुन्छ । भाइ शुभम चौधरी र म निदाएका थियौं । एक्कासि आवाज आयो, हामी खसेको पनि पत्तो भएन । नजिकै भाइलाई पौडेको देखें । अनि भाइको हात समातेर पौडी खेल्दै किनारामा पुग्यौं । आमा प्रभा बसमै निदाउनुभएको थियो । उहाँ डुब्नु भो, निकाल्न सकेनौं । हामीलाई उद्धार गरी अस्पताल ल्याइयो ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )