हाम्रो संचार संवाददाता
कुवेत, अक्टोबर १- हिन्दु धर्मालम्बीहरुको महान चाड दशैंले खाडी मुलुक कुवेतमा पनि छुट्टै रौनक देखिएको छ |कुवेतमा कार्यरत नेपालीहरुले दशैं सामुहिक शुभकामना आदानप्रदान तथा टिकाटालो कार्यक्रम गरेर भब्य रुपमा मनाएका छन् |
कुवेतमा शुक्रबार सरकारी बिदा हुने भएपनि दशैं टीका शनिबार परेको थियो | सम्भव हुनेले बिशेष कार्यक्रम गरेरै ठुलाबढ़ाको हातबाट सामुहिक रुपमा टिका ग्रहण गरी एक आपसमा खुसियाली साट्दै शुभकामना आदान प्रदान गरेका छन् ।
नेपाल कुवेत साँस्कृतिक मंचका उपाध्यक्ष डोलराज न्यौपानेले आफ्नै निवासमा सामुहिक टिकाटालोको आयोजना गरेका थिए | टिका लगाउन आउने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई डोल राज न्यौपाने र सचिब माया न्यौपानेले टीका र जमरा लगाइ आशीर्वाद दिएका थिए ।
न्यौपाने संस्थाका पाको व्यक्ति भएकाले दशैं र तिहार उनकै निवासमा मनाइने गरिन्छ । साँस्कृतिक मंचका पदाधिकारी, सल्लाहकार, पत्रकार, समाजसेवी, ब्यबसायी तथा कुवेतमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको थियो | टिकाटालो कार्यक्रममा नेपालको झल्को मेटाउने खानाका परिकारहरुको पनि स्वाद लिन पाइएको थियो |
अन्यले नेपालीले पारिवारिक भेटघाट गरी र आफ्ना आफन्तकोमा गएर मनोरन्जन गर्दै दशैं मनाएका थिए |