दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय


काठमाडौं : प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक÷दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । निर्वाचन आयोगले २१ भदौमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, भदौ २४ मा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
कांग्रेसले छान्यो
सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले उम्मेदवार टुंगो लगाए पनि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । शनिबारदेखि २ नम्बर प्रदेशका नेतासँग लगातार छलफल गरेको कांग्रेस महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताले उम्मेदवार टुंगो लगाएका हुन् । उम्मेदवार छनोट गर्ने छलफलमा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगानालगायत सहभागी थिए ।
कृषिमन्त्री एवं केन्द्रीय सदस्य रामकृष्ण यादवले करिब दुई नम्बरका सबै ठाउँको उम्मेदवार टुंग्याएको जानकारी दिए । ‘अन्य पार्टीका उम्मेदवार हेरेपछि बुधबार साँझ वा बिहीबार बिहानसम्म हाम्रा उम्मेदवार सार्वजनिक गर्छैाँ’, उनले भने । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाबाट आएको नामबाट उम्मेदवार तय गर्न महामन्त्री कोइराला र विमलेन्द्र निधिलाई दिएका थिए । देउवाको यो निर्णयप्रति २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेपछि उनीहरूलाई पनि छलफलमा सहभागी गराइएको थियो ।
यसअघि उम्मेदवार छनोट’bout पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता जनकपुर पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए । उम्मेदवार टुंगो नलगाएको भन्दै आइतबार कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले फेसबुकमा असन्तुष्टि पोख्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।
पार्टी स्रोतका अनुसार उम्मेदवारी छनोटमा पार्टीभित्रका गुटले प्रभाव पारेपछि नाम टुंग्याउन पार्टीलाई हम्मे-हम्मे परेको थियो । निधिले देउवा खेमाको उम्मेदवारलाई प्राथमिकतामा राखेपछि पौडल समूहका महामन्त्री कोइराला तथा केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना र कोषाध्यक्ष सीतादेवी यादवले असन्तुष्टि व्यक्त गरेका थिए ।
माओवादी केन्द्रले दुई दिनभित्रै टुंग्याउने
जनकपुरमा मंगलबार बसेको माओवादी केन्द्र केन्द्र्रीय सचिवालय सदस्यको बैठकले १५ भदौभित्र उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । उम्मेदवार छनोट, चुनावमा सहकार्यलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको सचिवालयको बैठक जनकपुरमा बसेको थियो ।
‘अब ढिला नगर्ने निर्णयमा हामी पुगेका छौं,’ सचिवालय सदस्य जोखकुमार वर्वरिया यादवले अन्नपूर्णसँग भने, ‘१५ भदौभित्रै सबै तहको टुंगिन्छ ।’ माओवादीले वीरगन्ज महानगरपालिका र जितपुर सिमरा, कलैया र जनकपुर उपमहानगरपालिकामा भने उम्मेदवार टुंगो लगाइसकेको छ ।
वीरगन्जमा रहबर अन्सारी, जितपुर-सिमरामा राजन पौडेल मेयर, गायत्रीदेवी थरुनी उपमेयर, कलैयामा मुकेश शाह मेयर, मेजुमा खातुन उपमेयर र जनकपुरमा दीपक यादवलाई मेयरका रूपमा अगाडि सारेको छ ।
उम्मेदवार छनोटका लागि यसअघिका मापदण्डमा पनि माओवादीले फेरबदल गरेको छ । ‘सामाजिक सम्बन्ध प्रभावकारी नभएका तर पार्टीको वरिष्ठताका आधारमा उम्मेदवार बनाउँदा पराजय हुनुपर्‍यो’, पोलिटब्युरो सदस्य युवराज भट्टराईले भने, ‘तर यसपटक पार्टीको वरिष्ठताभन्दा पनि समाजमा अन्तरघुलन भएका सामाजिक चरित्रका व्यक्तिलाई उम्मेदवार बनाइएको छ ।’
तालमेल रणनीति
जनकपुरमा अध्यक्ष पुष्पकमल दाहाल, शीर्ष नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, मात्रिका यादव, उर्मिला अर्याल, विश्वनाथ शाह, रामकुमार शर्मा, रामचन्द्र झालगायत सहभागी बैठकले चुनावी तालमेलको विषयमा पनि छलफल गरेका छन् । संघीयता विरोधीहरूसँग चुनावी तालमेल नगर्ने केन्द्रीय नीतिअनुसार उसले त्यस प्रदेशभित्र एमाले र राप्रपासँग कही पनि चुनावी तालमेल नगर्ने नीति बनाएको छ ।
सत्ता सहकार्यमा रहेको कांग्रेस र मधेसी मुद्दामा सँगै रहेको राष्ट्रिय जनता पार्टी, मधेसी जनअधिकार फोरमलगायतसँग भने आवश्यकताका आधारमा तालमेल गर्ने नीति माओवादीको छ । माओवादीले अन्य पार्टीका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराउने योजनालाई प्राथमिकतामा राखेको छ ।
नयाँ शक्तिमा रहेका मधेसका नेतालाई पार्टीमा फर्काइसकेको माओवादी केन्द्रले जनकपुरको कार्यक्रमबाट सद्भावना पार्टीका संस्थापक महासचिव अनिस अन्सारीलाई पार्टी प्रवेश गराएको छ । बुधबार सर्लाहीमा फोरम लोकतान्त्रिकका सहसंयोजक रामेश्वर राय यादवलाई पनि पार्टी प्रवेश गराउने कार्यक्रम छ।
एमालेको १० प्रतिशत बाँकी
एमालेले ९० प्रतिशत उम्मेदवार छनोट गरिसकेको छ । एमालेले ५९ वटा गाउँपालिकाको उम्मेदवार टुंग्याइसकेको छ भने ७३ नगरपालिकाको उम्मेदवार घोषणा हुन बाँकी रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार अध्यक्ष केपी ओली स्वदेश फर्केपछि उम्मेदवार छनोट हुन बाँकी स्थानीय तहमा पनि उम्मेदवार टुंग्याइनेछ । अब उम्मेदवार छनोटको काम १० प्रतिशत मात्रै बाँकी रहेको ज्ञवालीले बताए ।
एमालेले वीरगन्ज महानगरपालिका प्रमुखमा मेडिकल सञ्चालक बसुरुद्दिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्यको टुंगो लगाएको छ ।जनकपुर, कलैया र सिमरा उपमहानगरपालिकाको उम्मेदवार भने एक÷दुई दिनमै स्थायी कमिटीको बैठक बसेर टुंग्याइने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

राजपामा सकस
काठमाडौं : दुई चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई उम्मेदवार टुंगो लगाउन सकस भएको छ । उम्मेदवारका आकांक्षी धेरै देखिएपछि राजपालाई उम्मेदवार छान्न सकस भएको नेताले बताएका छन् ।
राजपाले केन्द्रीयस्तरका विशेष समिति बनाएर उम्मेदवार टुंगो लगाउने प्रयास गरेको छ । केन्द्रबाट खटिएका पदाधिकारीले १५ गतेसम्म उम्मेदवार छनोट गर्ने राजपाका प्रवक्ता सन्तोष मेहताले जानकारी दिए ।
‘१५ गतेसम्म टुंगो नलागे १६ गते सबै नामावली केन्द्रमा आउनेछ, अध्यक्ष मण्डलले त्यसलाई टुंग्याउनेछ’, उनले भने ।
संसद्बाट संविधान संशोधन विधेयक असफल भएपछि राजपाले तेस्रो चरणको निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो । राजपाले निर्वाचनमा जाने निर्णयसँगै उम्मेदवारी छान्ने प्रक्रियासमेत सार्वजनिक गरेको थियो ।
उम्मेदवार छनोटका लागि केन्द्रबाट हरेक जिल्लामा एक÷एक पर्यवेक्षक खटाएको थियो । वीरगन्जसहितका प्रमुख सहरमा उम्मेदवारका आकांक्षी अत्यधिक देखिएपछि राजपाले केन्द्रबाट आठै जिल्लामा विशेष समिति बनाएको थियो ।
राजपाले गाउँपालिका तथा वडाको उम्मेदवार टुंगो लगाए पनि प्रमुख सहरमा अझै टुंग्याउन सकेको छैन । वीरगन्जको प्रमुखमा विमल श्रीवास्तव, राजेशमान सिंह र सुरेन्द्र कुर्मीले आकांक्षा देखाएका छन् । राजपा केन्द्रीय टिमले एक जनालाई स्थानीय निर्वाचन, अर्का एकलाई प्रदेशसभा र बाँकी एकलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने गरी सहमति प्रयास गरिरहेको छ ।
राजपाले बाराको कलैयामा रामबाबु साह, रौतहटको गौरमा अजय गुप्ता र शेखजंग शेखमध्ये एक जनालाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ । यस्तै, जनकपुर उपमहानगरमा लालकिशोर साह र शिवशंकर साह हीरामध्ये एकलाई उम्मेदवार बनाउने बताएको छ । जनकपुरका लागि पूर्वमेयर वजरंग साहले समेत इच्छा देखाएका छन् ।
सर्लाही मलंगवामा अख्त्तर हुसेन मिकरानी, डा.अब्दुल रहिम र प्रमोद साहले आकांक्षा देखाएका छन् । महोत्तरीको जलेश्वरमा ९ जना आकांक्षी देखिएका छन् । सिरहा, सप्तरीमा समेत राजपाको तर्फबाट उम्मेदवारको आकांक्षी बढेपछि सहमति प्रयास भइरहेको प्रवक्ता मेहताले जानकारी दिए । गाउँपालिका र वडास्तरका उम्मेदवारी स्थानीय तहमै टुंग्याउन अध्यक्ष मण्डलले निर्देशन दिएको छ भने प्रमुख सहरमा २ जनाको नाम केन्द्रमा पठाउन भनिएको छ ।
फोरम नेपालद्वारा नामावली घोषणा
संघीय समाजवादी फोरम नेपालले मंगलबार दुई नम्बरका अधिकांश ठाउँका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।फोरम नेपालको केन्द्रीय सचिवालयले मंगलबार वीरगन्जको मेयरमा व्यापारी विजय सरागवीलाई उठाएको छ । सरागवी केही समयअघि मात्रै फोरम प्रवेश गरेका थिए । यस्तै, बारा-कलैयामा प्रमोद गुप्तालाई मेयर उम्मेदवार बनाइएको छ । गुप्ता पहिलो संविधानसभामा सभासद् थिए । सिरहाको लहानमा वैद्यनाथ साह, गोलबजारमा कृष्णकुमार सिंह, रौतहटको गौरमा गौरीशंकर यादव, सप्तरीको राजविराजमा भीमराज यादवलाई प्रमुखमा उम्मेदवार बनाइएको छ ।पार्टीले जनकपुरसहित केही प्रमुख ठाउँका लागि चाँडै उम्मेदवार घोषणा गर्ने जनाएको छ ।
लोकतान्त्रिक फोरम अन्तिम तयारीमा
मधेस आन्दोलनताका मधेसीकै निशानामा परेको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले समेत २ नम्बर प्रदेशको उम्मेदवार एक÷दुई दिनभित्रै टुंग्याउने तयारी गरेको छ ।
उसले राजपा र फेरम नेपालले उम्मेदवार घोषणा गरेपछि आफ्ना उम्मेदवारको नामावली घोषणा गर्ने रणनीति बनाएको छ । ‘हामीले नाम संकलन गरिसकेका छांै’, फोरम लोकतान्त्रिकका एक नेताले भने, ‘बिहीबारसम्म हामी पनि टुंगोमा पुग्छौं ।’
(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )