जाँदाजाँदै खेम शर्माले भने– विमानस्थल फेरि फोहोर नहोस्


यसरी फेरियो त्रिभुवन विमानस्थलको स्वरुप
१७ साउन, काठमाडौं । केही दिनयता त्रिभुवन विमानस्थलका भित्री तस्वीरहरु सामाजिक सञ्जालमा हेरेर संसारभर रहेका नेपाली मख्ख परिरहेका छन् । नपरुन् पनि किन ? विश्वकै फोहोरीमध्येमा गनिने हाम्रो विमानस्थल अहिले छुँदा पनि दाग लाग्लाजस्तो बनेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो एक महिनामा आफ्नो हुलिया फेरेको हो । पसिनसक्नु गरी गन्हाउने शौचालय सफा भएका छन्, झ्यालका सिसाहरु टिलिक्क टल्किएका छन् । कार्पेटहरु आजै ल्याएर ओछ्याएजस्ता देखिएका छन् । बल्ल अलिकति विमानस्थलजस्तो भएको छ विमानस्थल ।

एकाएक कसरी आयो यो परिवर्तन ? उत्तर खोज्ने क्रममा हामी ठोक्किन पुग्यौं गैरआवासीय नेपाली खेम शर्मासँग । उनी आफ्नो एक महिने ‘मिसन’ पुरा गरेर सोमबार अष्ट्रेलिया फर्किसकेका छन् ।

फर्किनुअघि एयरपोर्ट अगाडिको एयरपोर्ट होटलमा हाम्रो उनीसँग भलाकुसारी भयो ।

‘मैले कुनै नयाँ काम गरेको होइन,’ कुराकानीको सुरुवातमै उनले भने, ‘भइरहेको कामलाई परिणाममुखी बनाएको मात्र हो ।’

त्रिभुवन विमानस्थल सफाई गर्न उनी कसरी उत्प्रेरित भए त ? यो जान्नुअघि उनको पृष्ठभूमिमा जाउँ ।

३२ वर्षीय शर्माको स्थायी घर चितवनको भरतपुरमा छ । सरसफाइ र सूचना–प्रविधि दुई विधामा संलग्न रहेर उनी १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । ‘सन् २००८ मा आइटी पढ्नलाई अष्ट्रेलिया उडेको,’ उनले सुनाए, ‘उतै सेटल भइयो ।’

अष्ट्रेलिया जानासाथ उनले आइटीको पढाईसँगै काम पनि थालेका थिए । उनले गरेको पहिलो काम नै सरसफाइको थियो । एक जना दाई पर्नेले उनलाई सिड्नी युनिभर्सिटीको सेन्ट एन्ड्रयुज कलेजमा क्लिनिङको काम लगाइदिएका थिए । क्लिनरबाट सुपरभाइजर, त्यसपछि म्यानेजर हुँदै क्लिनिङ कम्पनीको जनरल म्यानेजरसम्म भए ।

यतिञ्जेलमा उनी सरसफाइका विज्ञ नै भइसकेका थिए र उनको जनसम्पर्क पनि राम्रो बनिसकेको थियो । यसैका आधारमा सन् २०१३ मा उनले आफ्नै क्लिनिङ विजनेस स्टार्ट गरे, ‘खेम्स क्लिनिङ’ नाममा ।

पहिले जागिर खाने क्रममा राम्रो जनसम्पर्क बनाएकाले उनलाई आफ्नो कम्पनीलाई स्थापित गर्न गाह्रो परेन । अहिले सिड्नीमा करिव ४० कार्यालयको सफाई जिम्मा उनकै कम्पनीको छ । ५० नेपालीसहित करिब ७० जनाले रोजगारी पाएका छन् । सिड्नीभन्दा बाहिरका शहरमा पनि आफ्नो कम्पनीले काम गरिरहेको शर्मा बताउँछन् ।

त्रिभुवन विमानस्थल सफा गर्ने सोच

सन् २०१२ को अक्टोबरको कुरा हो । शर्मा अष्ट्रेलियामा ईंगेजमेन्ट गरेर विवाहका लागि आफ्नी हुनेवाली श्रीमतीसहित नेपाल फर्कँदै थिए । प्लेनमा आउँदा उनकी हुनेवालीले टिशर्ट–पाइन्ट लगाएकी थिइन् । तर, एयरपोर्टमा आफ्नो हुनेवाला सासु–ससुरा स्वागत गर्न आएकाले उनले लुगा फेरेर कुर्ता सुरुवाल लगाउने विचार गरिन् ।

तर, लुगा फेर्न भनेर एयरपोर्टको शौचालय छिरेकी उनी भित्र टिक्नै नसकेर नाक थुन्दै बाहिर निस्किइन् । ‘म पराई मुलुकमा बसेर सरसफाइको काम गरिरहेको व्यक्ति,’ शर्मा सम्झिन्छन्, ‘आफ्नै मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको यो दुर्दशाले मलाई सोच्न वाध्य बनायो ।’

त्यतिबेलै आफूले त्रिभुवन विमानस्थललाई सफा बनाउने योजना बुनेको शर्माले बताए । तर, सुरुमा उनले आफ्नो गृहजिल्लामा रहेको भरतपुर विमानस्थलमा आफ्नो बहादुरी देखाए । बिमानस्थलबाट कुनै शुल्क नलिई आफैंले दुई मजदुरलाई तालिम दिएर भरतपुर विमानस्थलको सफाइमा लगाएको शर्मा बताउँछन् ।

उनले सरसफाइको जिम्मेवारी लिएदेखि विमानस्थलभित्रको परिदृष्य फेरियो । सबैले उनको वाहवाही गरे र यो कामलाई निरन्तरता दिन आग्रह गरे । फलस्वरुप अहिलेसम्म आफैंले तलव खुवाएर दुई जना मजदुर सफाइमा खटाइरहेको उनी बताउँछन् ।

भरतपुर विमानस्थलको चर्चा मिडियामा पनि भयो । एउटा मिडियाले यस विषयमा १५ मिनेटको डकुमेन्ट्री भिडियो बनाएर यूट्यूबमा पोष्ट ग¥यो । उक्त भिडियोलाई विश्वभर रहेका नेपालीहरुले हेरे र शर्माको वाहवाही गरे । यसबाट उनको हौसला बुलन्द भयो ।

भवन भट्ट बने सारथि

भरतपुर विमानस्थलको सफलतापछि उनी अब त्रिभुवन विमानस्थलमा हात हाल्ने बाटो खोजिरहेका थिए । यसका लागि उनलाई कसैको बलियो ब्याकसपोर्ट आवश्यक थियो । उनले एनआरएनएका उपाध्यक्ष भवन भट्टलाई सम्झिए, जसले नेपालमा पर्यटन प्रवद्र्धनको उद्देश्यले अतिथि देवो भवः नामक अभियान सञ्चालन गरिरहेका थिए । यो अभियानको एउटा प्रमुख पाटो भनेको सरसफाइ नै थियो ।

शर्माले एक दिन अष्ट्रेलियाबाटै भट्टलाई फोन गरे । भरतपुर विमानस्थलको डकुमेन्ट्री यूट्यूबमा हेर्न उनलाई आग्रह गरे र त्रिभुवन विमानस्थलको सरसफाइका लागि सहकार्य प्रस्ताव राखे । गाडी चलाइरहेका भट्टले तत्कालै गाडी साइड लगाएर डकुमेन्ट्री हेरे ।

शर्माको कामबाट प्रभावित भए । उनको अभियानका लागि पनि विमानस्थलको सरसफाई महत्वपूर्ण थियो ’cause नेपाल आउने विदेशी पर्यटकहरुको प्रवेशद्वार भनेको विमानस्थल नै हो ।

शर्माको कम्पनीमार्फत एक महिना विमानस्थल सफाई गर्ने योजना फोनबाटै तयार भयो । त्यसपछि शर्माले प्रपोजल बनाए, जसलाई भट्टले नेपालका उच्च अधिकारीहरुसमक्ष पु¥याए । यसक्रममा पर्यटन बोर्डका सीईओ दिपकराज जोशी र तत्कालिन पर्यटनमन्त्री दिलनाथ गिरीबाट ठूलो साथ पाएको शर्मा बताउँछन् ।

मन्त्रीले सो प्रपोजल स्वीकृत गरेपछि एनआरएनए उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष रहेका भट्ट र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले एमओयूमा हस्ताक्षर गरे । सोही सहमति बमोजिम गत १५ असारबाट शर्माले आफ्नो काम प्रारम्भ गरे । आफूले विमानस्थलमा कार्यरत ३० जना कामदारलाई तालिम दिएर सरसफाइमा लगाएको शर्मा बताउँछन् ।

‘मैले आफ्ना कामदार लगेको होइन, त्यहीँका कामदारलाई सीप सिकाएको हुँ,’ उनले भने ।

एयरपोर्टमा सरसफाइका काम त पहिले पनि हुन्थे । तर, शर्माले के फरक अभ्यास गरे यो परिवर्तन ल्याए त ?

उनी भन्छन्, ‘सबैभन्दा पहिले मैले सरसफाइ गर्ने कामदारहरुमा आफ्नो कामप्रतिको हिन भावना हटाउने र आत्मसम्मान जगाउने काम गरेँ ।’

उनी कामदारहरुलाई अह्रनखटन गर्ने काम मात्रै गरेनन् । आफैं घुँडा धसेर सरसफाइमा जुटे । ‘ठूला मान्छे’ ले यसरी काम गरेको देखेपछि मजदुरहरुको आत्मबल बढ्ने नै भयो ।

त्यसैगरी सरसफाइमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र गुणस्तरीय रसायन प्रयोग गरेकाले पनि फरक नतिजा आएको शर्मा बताउँछन् ।

तेस्रो कारण हो काम गर्ने समय । पहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म सरसफाइको काम हुन्थ्यो । त्यो समयमा धेरै भिडभाड हुने भएकाले कामदारहरुले झारा टार्ने हिसाबले मात्र सरसफाइ गर्थे । तर, शर्माले राति ११ बजेदेखि बिहान ५ बजेसम्म काम गर्ने सेड्यूल बनाए । यो अवधिमा आधा घन्टा खाजा खाने ब्रेक बाहेक कामदारहरु ननस्टप खटिन्थे । ‘राति ढुक्कसँग काम गर्न पाइन्छ र नतिजा पनि राम्रो आउँछ,’ शर्माले भने, ‘दिनमा त फोहोर टिपटाप गर्ने मात्र हो ।’

शर्माका अनुसार बिमानस्थलको सरसफाइमा सिलिङको कबवेवदेखि हाइ डस्टिङ, स्टिनलेस पोलिस गर्नेदेखि सामानहरुको प्रिजेन्टेसन कसरी राम्रो बनाउन सकिन्छ भन्ने लगायत पर्छन् ।

‘हामीले नयाँ सामान केही पनि थपेका होइनौं,’ शर्मा थप्छन्, ‘भएका सामानलाई नयाँ जस्तो बनाइदिएका मात्र हौं । ’emको रखाईलाई मिलाएका मात्र हौं ।’

शर्माका अनुसार प्रत्येक रात वाथरुमलाई केमिकल र सावुन पानीले धुने गरिन्थ्यो । फ्लोरमा मोब गरिन्थ्यो । झ्यालका सिसाहरुमा स्क्वीजिङ गरिन्थ्यो । कार्पेट एरियामा भ्याकुम लगाइन्थ्यो । प्रत्येक स्टेनलेसको छुट्टै पोलिस गरिन्थ्यो । टेबुल कुर्सीहरुलाई सिधा मिलाइन्थ्यो । शर्मा आफैं रातभर बसेर कामको अनुगमन गर्थे । बिहान होटलमा आएर सुत्थे ।

शर्माको एक महिने सफाइ अभियान सोमबार समाप्त भएको छ । यस क्रममा लागेको सम्पूर्ण व्ययभार एनआरएनए र नेपाल पर्यटन बोर्डले व्यहोरेको शर्माले जानकारी दिए ।

अब के होला ?

‘तपाईंहरु हिँडेपछि विमानस्थल पुरानै अवस्थामा फर्किने त होला नि ?’ हामीले सोध्यौं । शर्माले त्यस्तो नहुने विश्वास व्यक्त गरे ।

‘हामी एक महिना सफा गरेर मात्र हिँडेका होइनौं’ उनले भने, ‘आफूले जानेको प्रविधि सिकाएका छौं र सरसामान हस्तान्तरण गरेका छौं । अब हाम्रो अनुपस्थितिमा पनि यहाँका कामदारहरु पूर्ववत ढंगले सरसफाई गर्न सक्षम छन् । यो सिप हस्तान्तरणको व्यवाहारिक प्रयोग हो । अब विमानस्थल फेरि फोहोरी बन्नुहुँदैन ।’

यद्यपि आगामी दिनहरुमा बिमानस्थलको सरसफाईलाई मिडियाले पनि निरन्तर फलोअप गर्नुपर्ने उनको सुझाव छ ।

बिमानस्थलको सफाइले सकारात्मक प्रतिक्रिया पाएपछि शर्मा पनि निकै हौसिएका छन् । उनले भने, ‘मैले विमानस्थलमा पुर्‍याएको सानो योगदानबाट ठूलो रेस्पोन्स पाएँ । यसले मलाई भविश्यमा अरु कामहरु गर्न प्रेरणा मिलेको छ । तर, अहिले नै कुनै योजना बनाइसकेको छैन ।’

‘बिमानस्थलपछि नेपालमा तपाईंका भावी योजना के छन् ?’ कुराकानीको अन्त्यमा हामीले सोध्यौं ।

उनले अहिलेसम्म कुनै योजना नबनाइसकेको बताए ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )