बनाउने हो १२५९ सांसद !


दुर्गा खनाल, काठमाडौं

असार २९, २०७४- निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका छन् । साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको सख्या मात्रै १ हजार २ सय ५९ पुग्नेछ ।

प्रधानमन्त्री निवासमा भएको मंगलबारको बैठकमा औपचारिक प्रवेश पाएको सांसद संख्या बढाउने बिषय थप अघि बढी त्यसअनुसार संविधान संसोधन गरिए गरिब देशको राज्यकोषमा अर्बौको व्ययभार थपिन्छ । दुई वटा संविधानसभामा ६०१ सभासद व्यवस्थापनको अनुभव समेतका आधारमा संविधानले संघीय संसदलाई छरितो बनाउने र बढीमा २५ सदस्यीय चुस्त मन्त्रिपरिषद् हुने संवैधानिक ग्यारेन्टी गरेको थियो । तर अहिले त्यही प्रावधान विपरितको बहस राजनीतिक दलका बैठकहरुमा छिरेको छ ।

संघीय संसदको तल्लो सदन, प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट संख्या २ सय ४० कायम गर्ने हो यो अनुपातमा समानुपातिक सिट संख्या थपिन पुग्छ । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई प्रदेस सभाको दुई क्षेत्र निर्धारण गर्ने, संघीय संसदमा जस्तै प्रदेशसभामा पनि प्रत्यक्ष र समानुपातिक सिटको अनुपात ६०/४० हुने संबैधानिक ब्यवस्था छ । तसर्थ तत्कालको सजिलोका लागि संविधान संसोधन गरी प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको सिट संख्या २४० कायम राखिए संघीय संसद र सात प्रदेशका प्रदेशसभाका सांसदहरुको संख्या मात्रै १ हजार २ सय ५९ पुग्नेछ ।

संविधानले सांसद संख्याको दश प्रतिशतभन्दा थोरै हुने सिद्धान्तमा संघीय मन्त्रिपरिषदको संख्या २५ मा सिमित गरेको छ । सांसदको संख्या बढाउँदै जाँदा नेताहरुको सहजताका लागि मन्त्रिपरिषदको संख्या पनि थपिन सक्छ । त्रिसंकु संसदका समयमा भएका जम्बो मन्त्रिपरिषदको कुरुप अभ्यास अन्त्यका लागि मन्त्रिपरिषदको अधिकतम सदस्य संख्या तोकेको संविधानले मन्त्रिपरिषद् भन्नाले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीसमेतलाई बुझाउने व्याख्या समेत गरेको छ । संविधान लागू भएपछि संक्रमणकालका नाममा मन्त्रिपरिषदको संख्याको सीमा उल्लंघन गरेका दलका नेताहरुले संविधानका थुप्रै संरचना, धारा र मर्ममा प्रहार हुनेगरी संसदको संख्या बढाउने वहस थालेका हुन् ।

संख्या बढाउँदा संविधान सभाले जारी गरेको संविधानको मर्ममा प्रहार त हुने नै छ, मुलुकलाई समेत ठूलो आर्थिक भार पर्नेछ । ‘हामीले संविधान जारी गर्ने बेलामा नै धेरै बहस गरेका हौ, धेरै ठूलो संसद ठिक हुदैन भनेर नै संख्या घटाइएको हो,’ संविधानको मस्यौदा निर्माण देखि नै सक्रिय कांग्रेस सांसद राधेश्याम अधिकारीले भने, ‘फेरी संसदको संख्या बढाउन खोजियो भने त्यो पाच्य हुदैन, जनस्तरमा समेत ठूलो आलोचनाको बिषय बन्छ । कुनै हालतमा त्यतातर्फ जानु हुदैन ।’

संविधानसभाले बनाएको संविधानलाई भताभुग पार्ने योजना अन्तर्गत नै यस्ता बिषय आएको संविधान निर्माणमा संलग्न एमाले सांसद अग्नि खरेलले बताए । ‘संविधानको मुल स्वरुपलाई कार्यान्वयन नै हुन नदिने प्रयास भइरहेको छ,’ खरेलले भने, ‘त्यही योजना अनुसार संविधानलाई भताभुंग पार्न खोजिएको हो । यो हाम्रा लागि मान्य हुन सक्दैन ।’

संविधानमा संघीय सदनको तल्लो सदन, प्रतिनिधिसभामा २ सय ७५ सदस्य रहने व्यवस्था छ । प्रतिनिधिसभाका कुल सदस्य संख्याको ६० प्रतिशत अर्थात् १ सय ६५ प्रत्यक्ष र ४० प्रतिशत अर्थात् १ सय १० समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने संवैधानिक व्यस्था छ । यो निर्वाचन क्षेत्र निर्धारण आयोग बनाएर त्यस मार्फत् २ सय ४० निर्वाचन क्षेत्रलाई घटाएर १ सय ६५ पुर्‍याउनुपर्ने हुन्छ । संविधानसभाबाट रुपान्तरित संसदले क्षेत्र निर्धारण आयोग सम्बन्धी ऐन समेत यसअघि नै पारित गरेको छ ।

बालुवाटार छलफलमा प्रवेश गराईएजस्तो संविधान संशोधन मार्फत् प्रतिनिधिसभाको क्षेत्र २ सय ४० बनाइए संघीय संसदको संख्या मात्रै ४५९ पुग्छ । यदि २ सय ४० निर्वाचन क्षेत्रलाई लाई ६० प्रतिशत (प्रत्यक्षतर्फ)मान्ने हो भने प्रतिनिधिसभामा समानुपातिक सांसदको सीट पनि १६० (४० प्रतिशत) पुर्‍याइने निश्चित छ । राष्ट्रिय सभाको संख्या ५९ छ । संविधानले संघीय संसदमा कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेका कारणले पनि प्रत्यक्षतर्फको सिट बढा समानुपातिक सिट बढ्ने अवस्था सिर्जना हुन्छ । यदी समानुपातिक सिट घटाइयो भने संविधान अनुसार महिलाको ३३ प्रतिशत संख्या नपुग्ने हुन्छ ।

संविधान र क्षेत्र निर्धारण आयोग ऐन अनुसार प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रलाई प्रदेश सभाको दुई क्षेत्र निर्धारण निर्धारण हुने व्यवस्थाका कारण केन्द्रमा सिटसंख्या थपिदा प्रदेशमा पनि त्यसको दोब्बर सिट थपिन्छ । त्यसो गरिएमा सात वटा प्रदेशमा गठन हुने प्रदेशसभाहरुमा प्रत्यक्ष निर्वाचित सांसदको संख्या मात्रै ४ सय ८० हुन्छ । प्रदेश सभामा पनि कुल सदस्य संख्याको ४० प्रतिशत समानुपातिक कोटाबाट चयन हुने प्रावधानले अनुसार सात प्रदेशसभामा समानुपातिक सांसदको संख्या मात्रै २ सय २० पुग्ने छ । अर्थात् सात प्रदेशका एक सदनात्मक संसद (प्रदेशसभा)मा मात्रै सांसदहरुको संख्या ८ सय हुनेछन् । प्रदेशको राजधानीमा आवश्यक प्रशासनीक भवन र सभाकक्षजस्ता न्यूनतम पूर्वाधार नभएका स्थानमा यस्तो जम्बो सदन सञ्चालनका लागि थपिने व्ययभार जनताको करबाट उठ्ने सञ्चित कोषमै पर्ने हो ।

प्रतिनिधिसभाको संख्या २ सय ४० नै कायम राख्दा समानुपातिक तर्फको सिट घटाउने सकिने विकल्पमा माथि पनि बसह सुरु भएको छ । तर संविधान अनुसार नै यो विकल्पमा जानै नसकिने अवस्था छ । संविधानमा अनिवार्य रुपमा महिलाको संख्या ३३ प्रतिशत हुनुपर्ने प्रावधान छ । ३३ प्रतिशत महिलालाई संसदमा पुर्‍याउनका लागि कम्तिमा ४० प्रतिशत समानुपातिक सिट हुनैपर्छ । यदि समानुपातिक सिटको संख्या घटाइयो भने महिलाको संख्या ३३ प्रतिशत पुग्दैन । ‘३३ प्रतिशतको महिलाको संख्या पुर्‍याउनुपर्ने संविधानको बाध्यता छ, यस्तो अवस्थामा समानुपातिक सिट घटाउने भन्ने हुँदैन’ सांसद अधिकारीले भने ।

दुईटा संविधान सभामा ६ सय १ सभासद् कामय गर्दा त्यसको व्यापक आलोचना भएको थियो । त्यस्ता आलोचना समेतलाई ख्याल गर्दै संविधान जारी गर्ने बेलामा निकै विवादकाबीच सांसदको संख्या घटाउने सहमति भयो । सबै दलले जम्बो संसद ठिक नहुने समझदारी गरेपछि प्रतिनिधि सभाका सांसदको संख्या २ सय ७५ हुने निर्धारण भएको थियो । त्यसको ६० प्रतिशत प्रत्यक्ष निर्वाचितबाट चयन हुने र बाँकी ४० प्रतिशत समानुपातिकबाट ल्याउने गरी संविधानमा समझदारी भएको थियो । उक्त समझदारी अनुसार प्रत्यक्ष तर्फ १ सय ६५ र समानुपातिकबाट १ सय १० जना चयन हुने प्रावधान संविधान राखियो । तर उक्त प्रावधान अनुसार एउटा पनि चुनाव नगर्दै संसदको संख्या बढाउने बिषयले प्रवेश पाएको छ । २०१५ मा भएको पहिलो संसदीय निर्वाचन प्रनिधिसभाका १०९ सिटमा भएको थियो भने २०४७ को संविधानमा २०५ सदस्यीय प्रनिनिधिसभा र ६० सदस्यीय राष्ट्रियसभाको अभ्यास भएको थियो । त्यसपछि संविधान सभाका दुई चुनावमा मिश्रित निर्वाचन प्रणाली अपनाइयो । त्यसमा २ सय ४० प्रत्यक्ष र ३ सय ३५ समानुपातिक प्रणालीबाट चयन गरिएको थियो । संविधान सभामा अन्य २६ जना मनोयनयन समेत गरी कुल ६०१ संख्या तय गरिएको थियो ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )