बाढीले तिलाठीमा १५ सय बढी घर डुबायो


सशस्त्र प्रहरी हवलदारको मृत्यु, २३० घर बगायो
अवधेशकुमार झा, तिलाठी
‘घरभित्रै पानी बगिरहेको छ, खाद्यान्न पनि बगायो, चुल्हो पनि रहेन, भोकै बस्नुपर्ने भएको छ’
असार १८, २०७४- शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन् । बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्‍याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन ।

कोसीको भंगालोमा सशस्त्र प्रहरीका एक हवलदारको शव भेटिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका एसपी रामाधार यादवका अनुसार इलाम घर भई सशस्त्र प्रहरी बीओपी तिलाठीस्थित बेल्ही भन्सारमा कार्यरत सहायक हवलदार सुमन आचार्यको डुबेर मृत्यु भएको हो । उनको शव बीओपी कार्यालयबाट ४ सय मिटरपूर्व कोसीको भंगालोमा देखिएपछि पूर्वी मुख्यालय, पकलीबाट आएको गोताखोर टोलीले निकालेको थियो । शनिबारै लौनिया बस्तीनजिक आडो खोलाको बाढीले ल्याएको एक बेवारिस शव फेला परेको स्थानीय गजेन्द्र मण्डलले जनाए ।

शनिबार बिहानसम्म निरन्तर भएको थियो । बाढीले सयौं घर बगाएको एसपी अनुराग द्विवेदीले बताए । उनका अनुसार महुली खोलाको बाढीले सप्तरीको त्रिकौलका १५०, तिरहुत गाउँपालिका–५ भेडियाका ७० र दुधैला खोलाको बाढीले रूपनी गाउँपालिका–६ वीरेन्द्रबजारका ६ घर बगेका छन् । रूपनी बसबिटीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा बस्ती जलाम्य भएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको द्विवेदीले जनाए । रूपनी गाउँपालिकाअन्तर्गत पौवामा स्थानीय मनोज यादवको ५ सय कुखुरासहितको फर्म खाडो खोलाले बगाएको छ ।

तिलाठीमा ३ सय घर जलमग्न भएको तिलाठी कोइलाडी–८ का मिथलेश झाले जनाए । तिलाठी कोइलाडी गाउँपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको छ । तिलाठी गाउँपालिकाको कार्यालय, वडा नम्बर ८ को कार्यालय तथा तिलाठी स्वास्थ्य चौकीसमेत डुबानमा परेको छ । तिलाठीमा निर्माणाधीन खानेपानी कार्यालयमा बाढीले क्षति पुर्‍याएको छ । आयोजनाको पर्खाल भत्केको र ५० बोरा सिमेन्ट नष्ट भएको उपभोक्ता समितिमा अध्यक्ष सतीष मिश्रले जानकारी दिए ।

खाडोखोलाको बाढीका कारण डुबानमा परेको तिलाठी स्वास्थ्य चोकी ।
कञ्चनरूप नगरपालिका–१ रघुनाथपुरका अवधी यादव, देवु यादव र राजकुमार यादवका ४ वटा घर पनि बगाएको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत तिलाठीस्थित बेल्ही भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट डुबानमा परेको छ । घरभित्र २–३ फिट पानी पस्दा खाना बनाउन नपाएको स्थानीय बाबुनारायण मिश्रले बताए । ‘घरभित्रै पानी बगिरहेको छ, चुल्होमाथि समेत पानी छ, कसरी पकाउनु खानेकुरा ?’ उनले भने, ‘खाद्यान्न पनि बगायो, चुल्हो पनि रहेन, भोकै बस्नुपर्ने भएको छ ।’

सदरमुकाम राजविराज नगरपालिकाको डुमरी शिवथान, मधवापुर, मयनाकरेडी, रायपुरको पौवाटोल, पोर्ताहा, मलेठलगायत स्थानमा पनि कैयौं घरभित्र पानी पसेको छ । बाढी पसेका घरबाट खाद्यान्नसमेत बगाएको छ । एसपी द्विवेदीले बाढीका कारण जिल्लाका एक हजार ५ सय घर डुबानमा परेको बताए । ‘प्रारम्भिक तथ्यांकले एक हजार ५ सय घर डुबानमा परेको जानकारी आएको छ,’ उनले भने, ‘बाढीबाट भएको डुबान, कटान र क्षतिको विवरण संकलन भइरहेको छ ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बाढीपीडित परिवारलाई स्थानीय स्तरबाट तात्कालका लागि राहत व्यवस्था मिलाइएको बताए । उनले मयनाकरेडी त्रिकौलका ३ सय र मलेठमा २ सय ५० परिवारलाई जिल्ला समन्वय समितिले भुजा र च्युरा वितरण गरेको बताए । प्रजिअ कटुवालकै नेतृत्वमा स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख द्विवेदी, सशस्त्र प्रहरी प्रमुख रामाधार यादव, नेपाली सेनाका कर्नेल डम्बर बोहोरालगायतले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । विभिन्न स्थानमा एकैसाथ बाढी आएपछि शनिबार बिहानैदेखि स्थानीय इकाई र जिप्रकाबाट थप प्रहरी परिचालन गरी ५ सय जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको एसपी द्विवेदीले जनाए ।

दर्जन स्थानमा कटान
खाडो र महुली खोलाको बाढीले दर्जन स्थानमा कटान गरेको छ । डमुरी शिवथानमा खाडो खोला बस्तीतर्फ सोझिएको छ । रायपुर र मलेठमा पनि तटबन्ध क्षतिग्रस्त बनाउँदै खाडो खोला बस्ती छिरेको स्थानीय दिनेश यादवले जनाए । खाडो खोलाको पूर्वी तटबन्धअन्तर्गत तोपामा बाँधको आधा भाग बाढीले कटान गरेको पूर्ववडाध्यक्ष सत्यनारायण यादवले बताए । ‘न स्लोपिङ बनाएको छ न त बाँधमाथि घाँस नै लगाइएको छ,’ पूर्ववडाध्यक्ष सत्यनारायणले भने, ‘बाँधछेउबाट नै खाडोको बालुवा झिकेर बनाइएको बालुवाको बाँध बाढीका अगाडि कति समय टिक्ला ?’

यस्तै खाडो खोलाअन्तर्गत नै लौनियाका ३ स्थानमा कटान लागेको छ । स्थानीय गजेन्द्र मण्डलका अनुसार शनिबार बिहान अत्यधिक बाढी आउँदा बाँधमाथि ओभरफ्लो भई पानी बस्ती र खेतीयोग्य जग्गामा पसेको थियो । पानीको बहाव दिउँसो केही कम भएपछि बस्तीमा पानी कम भएको उनले बताए । यस्तै तिलाठीमा नयाँ बाँध निर्माण नभएको र पुराना बाँध भत्काउँदै बाढी बस्ती पसेको तिलाठीका पूर्वगाविस अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिए । खाडो खोलाको पूर्वी र पश्चिमी तटबन्धअन्तर्गत यस वर्ष निर्माण भएको बाँध बालुवाको मात्र भएकाले सामान्य बाढी आउँदा पनि कटान लाग्ने अवस्थाको रहेको स्थानीयहरूले बताए ।​
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )