कतारी नाकाबन्दीमा नेपाली चासो


होम कार्की, काठमाडौं
जेष्ठ २८, २०७४- छिमेकी देश साउदी अरब, यूएई र बहराइनबाट कतार नाकाबन्दीमा परेपछि भक्तपुरकी करुणा राउतलाई निद्रा परेको छैन । उनका श्रीमान् कतारमा काम गर्न थालेको ७ वर्ष भइसक्यो । भर्खरै घर बनाएर ऋणको भारी बोकेर परदेश हिँडेका श्रीमान्को कर्मथलोको सन्देश सुखद छैन । यो खबरले उनको मनमा एकै खालको प्रश्न बारम्बार आइरहन्छ, ‘यो नाकाबन्दी कति लामो समयसम्म जाला ? खानेकुरा कसरी आउला ? काम नपाएर त्यत्तिकै फर्किनुपर्ने हो कि ?’

विराटनगर घर भएका कतारमा कार्यरत होम बाँस्कोटाले नेपालबाट आउने दैनिक ४० वटा फोन उठाइरहेका छन् । उनका परिवार, आफन्त र साथीभाइले सोधिरहेका हुन्छन्, ‘हवाईजहाज पनि बन्द छ रे, समुद्र पनि बन्द छ । अब त्यहाँ के हुन्छ ?’ गएको सोमबार (जून ५) देखि कतारको अवस्थालाई लिएर त्यहाँभन्दा बढी नेपालमा चासो र चिन्ता एकसाथ बढिरहेको छ । ‘हामीले यहाँको अवस्था बुझिरहेका छौं । दैनिकी सामान्य छ । तर, नेपालका आफन्त साथीभाइ डराइडराई फोन गर्दा लाग्छ उता अनावश्यक चिन्ताले सताएको छ,’ उनले भने, ‘नेपालमा परेको मानसिक असरलाई कसरी चिर्ने होला ? कसरी सम्झाउने होला ?’

कतारमाथि भरोसा
अरब समन्वय समिति (जीसीसी) का सदस्य राष्ट्र साउदी, बहराइन र यूएईसँग कूटनीतिक सम्बन्ध विच्छेदपछि एक मात्रै जमिन जोडिएको साउदीको सीमा बन्द छ । आन्तरिक हवाई सम्पर्क पनि बिच्छेद छ । ताजा हरियो सब्जीदेखि दूधसम्मको मुख्य स्रोत साउदी अरब नै हो । कतारलाई पहिलो चुनौती बजारमा तरकारी र खाद्यान्य अभाव हुन नदिनु हो । उसले कुन सामान कहिले सकिन्छ भनेर सामान आपूर्तिमा ध्यान दिएको देखिन्छ । ‘नाकाबन्दी हुनेबित्तिकै बजारमा दूध सकिन्थ्यो । कतारले रातारात टर्कीबाट दूध–दही ल्याएर बजारमा अभाव सिर्जना हुन दिएन,’ १२ वर्षदेखि कतारमा रहेका झापाका माहमुद कार्कीले भने, ‘साउदीको दूधको बजार टर्कीले लिइसकेको छ ।’
चामल, पिठो, मासु, माछालगायत उपभोग्य वस्तु पाकिस्तान, भारत र बंगलादेशबाट नियमित रूपमा आपूर्ति भइरहेको छ । कतारसँग नजिक रहेको इरानले पनि कतारलाई चाहिने ताजा तरकारी पठाउने प्रस्ताव राखेको छ । इरानको बन्दरगाहाबाट १२ घण्टामा कतारमा सामान पठाउन सकिन्छ । कतारले इरानले प्रस्तावलाई स्वीकार गरिसकेको छैन । ‘कतारप्रति हामी ढुक्क छौं । संकटै आउने अवस्था भए पनि कतारसँग एक सयभन्दा बढी हवाईजहाज छ । विश्वको जुन देशबाट पनि सामान ल्याउने सामथ्र्य राख्छ,’ उनले भने, ‘खाद्यान्य अभाव होला भन्ने मलाई लाग्दै लाग्दैन ।’

कतारको राष्ट्रिय कल्याणकारी कोषमा ३ खर्ब ३५ अर्ब डलर छुटयाइएको छ । कतारको परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रमा समस्या देखिएमा कतारमा बस्ने सबैको हितका लागि यो कोष प्रयोगमा ल्याउने हो । हाइपरमार्केट र सुपरमार्केटमा मूल्य यथावत् छ । वकला (पसल) हरूले मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाएर सामान बेच्न थालेका छन् । ‘३५ केजी चामल १ सय ५ रियालमा पाइन्थ्यो ।
अहिले १ सय ३५ रियालमा बेच्न थालेको छ,’ हरि घिमिरेले भने, ‘वकलामा भर पर्नेहरू मारमा परेका छन् ।’ अर्थ तथा व्यापार मन्त्रालयले अनुगमनमा कडाइ थालेको छ । ‘सरकारले तोकेको भन्दा बढी मूल्यमा सामान बेच्न पाइन्न,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बलियो अर्थतन्त्रमा टिकेको रोजगार
साउदीले स्थलमार्ग र यूएईले आफ्नो बन्दरगाहबाट वञ्चित गरे पनि कतारसँग अन्तर्राष्ट्रियस्तरमा सम्पर्क राख्ने विकल्पहरू खुला छन् । ‘साउदीको एक मात्रै स्थल सीमा बन्द हुँदा असर त पर्छ,’ कतारका परराष्ट्रमन्त्री सेख मोहम्मद विन अब्दुलरहमानले भनेका छन्, ‘अन्तर्राष्ट्रिय हवाई उडान र समुद्री मार्ग कायमै छ । हामी त्यो प्रयोग गरिरहेका छौं ।’

यूएई र साउदीको हवाई क्षेत्र बन्द हुँदा उसले इरान र पर्सियन सागरको घुमाउरो बाटो प्रयोग गरेको छ । यूएई र साउदीसँग कतारको व्यापार १० प्रतिशत मात्रै छ । अरब क्षेत्रको सबैभन्दा ठूलो बन्दरगाह आबुधाबी (यूएई) मा छ । यही बन्दरगाहबाट निर्माण सामग्री आउने गर्छन् । कतारले आफ्नै ठूलो हमाद बन्दरगाहसमेत वनाएको हुँदा असर नगर्ने दाबी छ । कतारको आम्दानीको मुख्य स्रोत प्राकृतिक ग्यास हो । यो ग्यास उत्पादनमा कतार विश्वको तेस्रो ठूलो मुलुक हो । ‘जुन गतिमा ग्यास झिकिरहेको छ । यही गतिमा अगाडि बढदा पनि दुई सय वर्षलाई पुग्छ,’ कतारका लागि पूर्वराजदूत सूर्यनाथ मिश्रले भने, ‘कतारमा अन्तर्राष्ट्रियस्तरका बहुपक्षीय कम्पनीहरूको लगानी छ । यो मुलुकको अर्थतन्त्र सामान्य हिसाबले डग्मगाउँदैन ।’

कतारले विश्वकपसँगै ठूला राजमार्ग, रेल र ठूला स्तरका आयोजनाहरू निर्माणाधीन छ । यो वर्ष कतारले १३ अर्ब डलर भौतिक पूर्वाधारमा खर्च गर्ने प्रक्षेपण छ । तेलको मूल्यमा आएको गिरावटका बाबजुद पनि उसको विकासमा कमी आएको छैन । नाकाबन्दीले निर्माणाधीन आयोजनामा कस्तो प्रभाव पर्ला भन्ने चिन्ता छ । ‘अहिले त रमजानको महिना हो । प्रोजेक्टका कामहरू कमै चालु छन् । निर्माण सामग्री पनि धेरै चाहिएन । यो नाकाबन्दी लामो समयसम्म जान्छ जस्तो लाग्दैन । यदि गयो भने निर्माण सामग्री आपूर्ति गर्ने रणनीति कतारसँग योजना होला । यी सामग्री अभाव हुन नदिएमा हाम्रो रोजगारीमा असर पर्दैन,’ एक कम्पनीमा व्यवस्थापक रहेका दाङका कमलमणि गुरागाईले भने ।
कतारका साना पुँजी भएका कम्पनीले यूएईमा रहेका कम्पनीमार्फत सामग्री आपूर्ति गर्छ । ‘अब ती कम्पनीले सीधै सामान आपूर्ति गर्न सक्नुपर्छ । त्यसका लागि कतारको आफ्नै बन्दरगाह छ,’ उनले भने, ‘कतारले यो बन्दरगाहबाट सीधै सामान ल्याउन सकिन्छ भनिरहेको छ ।’ समान अभाव भएमा सबैभन्दा पहिला लेबर सप्लाई गर्ने कम्पनी मारमा पर्छन् । ‘मुख्य कम्पनीले आफ्ना मात्रै कामदार राखेर सप्लाइ कम्पनीबाट कामदार लिन छोड्न सक्छ,’ एक कम्पनीका सञ्चालकले कान्तिपुरसँग भने, ‘अहिले यस्ता कम्पनीहरू हिक्कहिक्कको अवस्थामा चलेका छन् । त्यतिखेर कामदार कटौती हुने अवस्था आएमा कामदारले तलब नपाउने अवस्था बढ्न थाल्ला ।’

ती व्यवसायीका अनुसार कामदार कटौती हुने अवस्था एकैपटक आउँदैन । नाकाबन्दी जारी भएमा कतार मात्रै होइन, साउदी र यूएईमा कार्यरत नेपालीको रोजगार पनि प्रभावित हुन जान्छ । निर्माण कम्पनी सञ्चालन गर्दै आएका एक नेपाली व्यवसायी भन्छन्, ‘ठूला आयोजनालाई चाहिने सामान त जसरी पनि आउँछ । व्यक्तिगत भिल्लाहरूमा भने सबैभन्दा बढी प्रभाव पर्छ जस्तो लाग्छ ।’ यूएईमा बेस भएर सामान आपूर्ति गर्ने कम्पनीहरू नयाँ रुटमा सामान ल्याउनुपर्ने भएकोले केही समय व्यवस्थापनमा बित्ने जानकारहरूको भनाइ छ ।

पर्ख र हेरको रणनीति
पूर्वराजदूत मिश्र बदलिँदो घटनाक्रम हेरेर नयाँ कामदारलाई श्रमस्वीकृति दिने कार्य स्थगित गर्नुपर्ने बताउँछन् । कतारमा ४ लाख ६ हजार नेपाली कार्यरत छन् । खाडीमा आएको कूटनीतिक संकटपछि श्रम बजार कस्तो हुन्छ भन्ने यकिन गर्न सकिएको छैन । ‘एकपटक जारी भएको भिसा ६ महिनासम्म म्याद हुन्छ । अवस्था थप बिग्रिन्छ जस्तो त लाग्दैन । तैपनि सरकारले केही समयसम्म हेर र पर्खको रणनीति अपनाउँदा उयपुक्त हुन्छ जस्तो लाग्छ,’ उनले भने ।

कूटनीतिक संकट तुरुन्तै हट्ने अवस्था देखिइहालेको छैन । कतारले आफ्नो परराष्ट्र नीति सच्चाए आफूहरू सम्बन्ध स्थापना गर्न तयार रहेको यूएईको सर्त छ । ‘कसैको दबाबमा हाम्रो स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्दैनौं,’ कतार परराष्ट्रमन्त्री अब्दुलरहमानले भने । यसलाई हटाउन कुवेतले मध्यस्तता गरेको छ । नेपाली कामदार कतारको बलियो संयन्त्र पनि अझै आशा गरेर बसेका छन् । ‘कतार सानो देश त हो । तर, बलियो र व्यवस्थित संरचना छ,’ कार्कीले भने, ‘आफूलाई बलियो स्थापित गर्न पनि उसले आफूलाई चाहिने सामग्री आपूर्ति गर्छ ।’

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )