राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी


आयोग र मौसमविदसँग सल्लाह गरेर सरकारले नयाँ तिथि तोक्नेछ : निधि
बसन्त बस्नेत/कुलचन्द्र न्यौपाने, काठमाडौं
जेष्ठ १४, २०७४- दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार रातिसम्म बसेको सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव गरिएको छ । राजपा चुनावमा आउने सर्तमा प्रमुख प्रतिपक्ष एमालेपनि सरकारको प्रस्तावमा लचक देखिएको छ ।

लिखित सहमति नभए पनि चुनावलगत्तै संविधान संशोधनमा एमाले पनि लचक देखिएपछि दोस्रो चरणको चुनावमा राजपा सहभागिता, त्यसलगत्तै गर्ने भनिएको संविधान संशोधन दुवैका लागि आवश्यक कानुनी र प्राविधिक तयारीका लागि सोमबार र मंगलबार सरकारले गृहकार्य गर्ने समझदारी भएको छ ।

‘राजपालाई चुनावमा समेटेर लैजानेमा एमाले पहिलेभन्दा सकारात्मक देखियो, अब राजपालाई निर्वाचन आयोगमा दल दर्ताका लागि कानुनअनुसार हस्ताक्षर बुझाउन समय लाग्ने प्राविधिक समस्या देखिएकाले त्यसलाई सम्बोधन गर्नका लागि चुनावको मिति केही समय सार्ने समझदारी भयो,’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘आयोग र मौसमविदसँग सल्लाहमा सरकारले नयाँ तिथि तोक्नेछ ।’ निधिले असारको १० गते नकाट्नेगरी नयाँ चुनाव मिति तोक्ने सरकारी तयारी रहेको जानकारी दिए ।

माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले राजपा चुनावमा आउने सुनिश्चित हुनेगरी चुनाव मिति सार्न लागिएको बताए । त्यसका लागि हाल रहेको निर्वाचन ऐनमा कायम दल दर्ता र हस्ताक्षर प्रमाणीकरणका लागि आवश्यक १५ दिनलाई छोट्याएर तीन वा पाच दिनमा झार्नेगरी सोमबारै संसदमा संशोधन प्रक्रिया अघि बढाउन सत्ता घटक सहमत रहेको जानकारी दिए ।

‘हामीले यति भनिसक्दा पनि राजपा नेताहरुले चुनावमा आउने सुनिश्चितता भने गरिसक्नु भएको छैन, तर उहाँहरुलाई सकारात्मक दबाब परोस् भनेर चुनाव मिति सार्ने र ऐन संशोधन गर्ने ठहरमा हामी पुगेका हौं,’ श्रेष्ठले भने, ‘यसमा प्रतिपक्षी एमाले पनि लचिलो भएको छ । अब राजपा चुनावमा आउनेमा सकारात्मक हुने हाम्रो विश्वास छ ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने चुनाव सार्ने प्रस्तावमा एमाले तयार नभए पनि राजपालाई चुनावमा ल्याउन आवश्यक वातावरणका लागि एमाले लचिलो भएको बताए । ‘चुनावको मिति सार्ने’bout समझदारी नै भईसकेको होइन तर राजपालाई चुनावमा सहभागिता गराउँदै राजनीतिक सहमतिको वातावरण बनाउन सरकारले नै ५/६ दिन को समय थप्ने प्रस्ताव गर्‍यो,’ नेम्वाङले भने, ‘तपाईहरुले मधेसी दल आउँछन भनेर जेठ ३१ को समय दिनु भयो । अहिले फेरी समय पुग्ने भन्ने कुरा गर्नुहुन्छ । यसले चुनाव हुने सुनिश्चता खै भनेर हामीले भन्यौं ।’

एमाले नेताहरुले बर्षादको समय सुरु हुने भएकाले चुनाव सार्न नहुने धारणा पनि बैठकमा राखेका थिए ।
तर, प्रधानमन्त्री दाहालले राजपालाई नयाँ दलको हैसियत दिएर जाँदा चुनावमा आउने विश्वास व्यक्त गरेपछि एमालेका नेताहरु सकारात्मक भएका थिए । उपप्रधान तथा गृहमन्त्री निधिले राजपालाई नयाँ दल दर्ताका लागि निर्वाचन ऐनलाई संशोधन गरिने बताए । आईतबार बालुवाटारमा भएको समझदारी अनुसार मंगलबार सम्म निर्वाचनको मिति सार्ने र निर्वाचन ऐन संशोधनको प्रकृया अघि बढाईने निधिले बताए ।

राजपा नेताहरुको भनाईमा एमाले अध्यक्ष केपी ओली छलफलहरुमा पहिलोपल्ट लचकतापूर्वक प्रस्तुत भएका थिए । उनले दोस्रो चरणको चुनाव कुनै पनि हालतमा हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक सहमतिको वातावरण आफू तयार रहेको बताए । ओलीले चुनावअघि संविधान संशोधन गर्न नसकिने, बरु त्यस लगत्तै गर्नेमा एमाले सकारात्मक रहेको बताएपछि राजपा नेताहरुले आश्वासनले नपुग्ने अडान लिँदै लिखित नै हुनुपर्ने शर्त राखे । त्यसपछि ओलीले भने, ‘लिखित सहमति नै चाहिन्छ भने पनि हामी तयार, तर चुनाव चाहिँ गर्नुपर्‍यो ।’

बैठकमा राजपा नेता महन्थ ठाकुरले सहमति हुन्छ भन्नेमा आफू विश्वस्त नरहेको भन्दै सरकारले गरेको सहमति संसदले नमान्ने, सरकार र संसद दुवैले माने पनि अदालतले नमान्ने जटिलता देखिएको गुनासो गरेका थिए । आफूहरु आन्दोलनकारी पक्ष भएकाले कसरी माग सम्बोधन हुन्छ भन्नेमै मूख्य चासो रहेको भन्दै ठाकुरले प्रक्रिया टुंगो लगाउन माग गरे ।

‘सरकारले संविधान संशोधन गर्छु भन्यो, संसदमै दुई तिहाई नपुग्ने कुरा आएपछि अडकयो,’ ठाकुरको भनाई उद्धृत गर्दै राजपा स्रोतले भन्यो, ‘अदालतले त स्थानीय तहको संख्या बढाउने निर्णय पनि रोकिदियो, अब हामीले कुन सहमतिको कुरा गर्ने ?’ ठाकुरले ठूला दलहरुले सहमतिको ठोस खाका लिएर आए राजपा चुनावमा जान तयार रहेको भन्दै आफ्ना लागि चुनाव चिह्नको प्रश्न गौण रहेको दोहोर्‍याए ।

राजपा नेता अनिल झाले बैठक सकारात्मक मोडमा प्रवेश गरेको भन्दै एमाले ‘समाधानका लागि सहयोग गर्ने मुडमा देखिएको’ बताए ।

‘एमाले नेताहरु यसअघि भन्दा लचिलो ढंगले आउनुभयो, संविधान संशोधनका लागि आवश्यक निर्णय लिनेमा उहाँहरुको सकारात्मक कुरा रह्यो,’ झाले भने, ‘सहमति भएर हामी चुनावमा जाने परिस्थिति बनेमा आवश्यक प्राविधिक तयारीका लागि मौसमको अनुकुलता’bout मौसम विभागसित बुझेर, अनि कानुनी लगायत विषयमा महान्यायाधीवक्तासित परामर्श गरेर भोलि या पर्सि नयाँ निर्णय हुन सक्छ ।’

बैठक सकिएपछि प्रधानमन्त्री दाहाल र राजपा नेताहरुबीच केही बेर छुट्टै कुराकानी भएको नेता श्रेष्ठले बताए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )