१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् ।बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् । फास्ट ट्याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए । ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । यो द्रुत मार्गलाई ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।
सेनाले फास्ट ट्याक निर्माणलाई १० क्षेत्रमा विभाजन गरेर निर्माण गर्न लागेको जानकारी शिलान्यास कार्यक्रममा दिइयो । सेनाले अन्तर्राष्टिय परामर्श दाता नियुक्त गरेर यसका लागि आवश्यक उच्चस्तरीय दक्ष जनशक्ति प्रवन्ध गर्ने तयारी गरेको छ ।
खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने फास्ट ट्याक काठमाडौंबाट १ घन्टामा पुग्न सकिने बताइएको छ ।
सेनाले यसको निर्माणको कार्यविधि बनिरहेको र निर्धारित समयमै निर्माण सक्ने जनाएको छ ।
फास्ट ट्याक ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । यो मार्गको विभिन्न ९९ स्थानमा पुल बन्नेछन् भने ६ वटा आकासे पुल हुनेछन् ।मकवानपुरको एक खण्डमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बन्ने जानकारी शिलान्यास कार्यक्रममा दिइयो ।(अन्लाईनखबर )