११ वर्ष साउदीमा उँट चराएर फर्किएका हैदरले नेपाली बोल्नै बिर्सिए


दाजुभाइले विमानस्थलमा एक अर्कालाई चिनेनन्
रवीन्द्र घिमिरे
२९ चैत, काठमाडौं । सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलमा ओर्लिए सुनसरीका ३१ वर्षीय हैदर अली । साउदी अरबको मरुभूमिमा ११ वर्ष उँट चराएर स्वदेश फर्किएका उनी रित्तो हात थिए ।

लामो जगल्टे कपाल, छातिसम्म लत्रिएको दाह्री, सुकेर जीर्ण भएको शरीर र विक्षिप्त अनुहार । विमानस्थल बाहिर प्रतिक्षारत दाइ अयूबले हैदरलाई नचिन्नु स्वभाविकै थियो । तर, अचम्म यो भयो कि हैदरले पनि आफ्ना दाइलाई चिनेनन् । उनले दाइको अनुहारै बिर्सिसकेछन् ।

सँगै रहेका साथीले हैदरलाई ठम्याए । उनले चिनाएपछि दाजुभाइ एकअर्काको अंगालोमा बाँधिए र निकै भावुक बने ।

तर, हैदरका शब्दहरु फुटेनन् । उनले बोल्नै बिर्सिसकेछन् । सोधेको प्रश्नमा अँ, हो, हुन्छ हुँदैन बाहेक उनको मुखबाट खासै शब्द निस्किँदैनन् । त्यति टाठोबाठो भाइलाई यो हालतमा देखेर अयूबको मन पोल्यो । उनले भोलिपल्ट बिहानै हैदरलाई सैलुनमा लगेर कपाल दाह्री कटाए । नयाँ लुगा किनेर लगाइदिए । हामीसँग भेट्दा हैदर नयाँ लुगामा थिए ।

मरुभूमिको तातोले उनको अनुहार डढेको छ । बालुवाले हात–खुट्टा पटपटी फुटेका छन् । मरुभूमिमा उनले उँटको काँचो दूधले नै पानीको प्यास मेटे । ऊँटको दूधले पेट बिगारेको उनी बताउँछन् र अब दूध नै खान्न भन्छन् ।

नेपाली बोल्नै गाह्रो

२० वर्षको जोशिलो उमेरमा कतारका लागि उड्दा रातापिरा थिए हैदर । शरीरमा मनग्गे ताकत थियो भने मनमा भरपुर उमंग । तर फर्किँदा उनी निचोरिएको कागतीजस्तो बनेका छन् ।

उनले यो ११ वर्षमा एकजना पनि नेपाली भेटेनन् । यसबीचमा २ बंगलादेशी र एक सुडानी साथीबाहेक अरु मानिस नै नभेटेको उनले बताए ।

आक्कल झुक्कल नेपालमा फोन गर्दाबाहेक उनले नेपाली बोल्नै पाएनन् । फलतः उनको नेपाली भाषाको भण्डार नै रित्तिदै गयो । बोल्न खोज्छन् तर शब्द पाउँदैनन् । नेपालीमा बंगाली, उर्दु, हिन्दी र अरेबियन भाषा घोलघाल पारेर कनी–कनी केही कुरा फुस्काउँछन् ।

विदेशीएपछिको कथा–व्यथा

इनरुवा जल्वापुरका हैदर २०६२ सालमा कतार उडेका हुन् । गाउँमा बाढी पसेका बेला पुगेका एकजना टाठाबाठाले उनलाई फूलबारीमा काम लगाइदिने भनेर दिल्ली हुँदै कतार उडाएका थिए । महिनाको ७ सय कतारी रियाल कमाई हुने प्रलोभनमा उनी सजिलै लोभिएका थिए ।

कतारको एयरपोर्टबाट उनलाई अवैधानिक रुपमा साउदी छिराइयो । त्यहाँ एउटा मरुभूमिमा लगियो र ऊँट चराउने काममा लगाइयो ।

त्यहाँ के–के भयो भन्ने प्रश्नमा हैदर बारम्बार कपिलको नाम लिन्छन् । कपिल उनले काम गर्ने ऊँट फार्मका साहु हुन् । उनले यतिका वर्षसम्म निर्दयी साहुबाट १ कौडी पाएनन् । ऊँटको ‘अवैतनिक गोठालो’ बनिरहे ।

उनी विहान ५ बजे ऊँट फुकाउँथे । खाजाका लागि विहानै रोटी बनाएर पटुकामा बाँध्थे । जहाँ पुग्दा भोक लाग्थ्यो, त्यहीँ रोटी निकालेर खान्थे ।

उनले डेढ सय ठूला उँट र झण्डै एक सय ऊँटका बच्चा हेर्नुपथ्र्यो । मरुभूमिका उँटको आहारा छोटो दूरीमा नपाइने भएकाले उनले ५०–६० किलोमिटरसम्म हिँड्नुपथ्र्यो ।

हैदर आफूलाई कुन ठाउँमा ल्याएर राखिएको छ भन्ने हैदरलाई कहिल्यै पत्तो भएन । उनलाई भाग्ने सोच नआएको पनि हैन । तर, सुनसान मरुभूमिबाट हिँडेर कहाँ पुगिन्छ भन्ने उनलाई पत्तो थिएन । त्यसैले भाग्न सकेनन् ।

सोझा हैदर साहुसँग स्पष्ट रुपमा कुरा राख्न सक्दैनथे । कुनै बेला आफूलाई तलब दिएर घर पठाइदेउ भन्दा धेरैपटक कुटाइ पनि खाए । उनका आवाजहरुलाई यसरी दबाइयो कि त्यो मरुभूमिबाट अब फर्किँन पाउँछु होला भन्ने आशा नै उनले मारेका थिए ।

‘मर्छु भन्ठान्या थेँ,’ लर्बरिएको स्वरमा हैदर भन्छन्, ‘फेरि आफ्नो घर फर्किन्छु भन्ने लागेकै थिएन ।’

यो बीचमा कुनै रात पुरा निदाउन नपाएको हैदर बताउँछन् । न दिनको चर्को घाम छल्न रुखको छहारीमा सुस्ताउन नै पाए ।

वर्षमा एक जोर कपडा

उनले ११ वर्षमा ११ जोर कपडा फेरे । प्रत्येक रमजानमा साहुले ल्याइदिने एक जोर कपडाले उनले वर्ष बिताउँथे । पोहोरको रमजानमा दिएको कुर्ता लगाएरै उनी नेपाल आइपुगेका हुन् । उनलाई त्यो कपडा अझै नयाँ नै लाग्छ ।

यो पनि पढनुहोस्: कतारमा ‘फूल गोड्न‘ लगिएका हैदर साउदीमा ऊँट गोठालो

अाफूले ११ वर्ष दुःख गर्दा पनि एक पैसा घर ल्याउन नपाएकोमा हैदरलाई ठूलो पीडा छ । उनी बारम्बार बर्बराइरहन्छन्–‘कपिलले पैसा नै दिएन ।’

त्यसो त आफ्नो कामको पैसा पाउँछु भन्नेमा उनको आश भने अझै मेरको छैन । घर जा, पठाइदिन्छु भनेका छन् रे साहुले ।

‘अब्बु (बुवा)लाई पनि त्यही भन्छु’ उनी भन्छन् ।
पारिवारिक वियोग

हैदर कतार उडेपछि उनको घरमा ५ जना बिते । उनीसम्म यो खबर नपुगेको पनि होइन् । तर कल्पेर रुनुबाहेक उनको सामु अरु केही विकल्प थिएन ।

उनी विदेश उडेपछि आफ्नै एक दाईले धर्ति छाडे । एउटा छोरा विदेशमा बन्धक भएको र अर्को छोरा गुमाएको पीडाका बीचमा आमाको पनि मृत्यू भयो ।

तर, हैदर त्यो मरुभूमिबाट उम्किन पाएनन् । उनलाई तलवको आस देखाउँदै भोलि–भोलि भनियो । ‘आउनै दिएनन्’ उनी पीडा पोख्दै भन्छन्–‘जान्छु भनेको मान्दै मानेन कपिलले ।’

हैदर आफ्ना काकाको अत्यधिक प्रिय थिए । उनी काकाको संरक्षणमै हुर्किएका हुन् । तर, विदेशबाट फर्किए पनि अब उनले काकाको मुख देख्न पाउने छैनन्, किनकी काकाले पनि संसार छाडिसकेका छन् । यसबीचमै दिदी र काकीको मृत्यूको खबर पनि हैदरको कानमा पुग्यो ।

यसरी फर्किए

हैदर मरुभूमिमा बन्धक भएको खबर अनलाइनखबरले प्रकाशित गरेपछि उनका साहुसम्म दवाव पुग्यो । हैदरका दाजु अयुबका अनुसार समाचारपछि साहुका भाईले उनलाई फोन गरेका थिए । त्यसपछि साहुले हैदरलाई बोर्डरमा ल्याएर भगुवा कामदार भनेर कतारी प्रहरीलाई सुम्पिए । कतारी प्रहरीले उनलाई पक्राउ गरेर जेलमा राखेको थियो ।

तर, उनको मानसिक अवस्था सन्तुलित नदेखिएको निश्कर्ष निकालेर प्रहरीले उनलाई त्यहाँबाट दूतावाससँग समन्वय गरी नेपाल फर्काइदिएको अयुवले बताए ।

हैदरका एकजना दाइ अहिले पनि उनलाई फिर्ता गराउन साउदीमा भिजिट भिसामा छन् । ३ लाख खर्चिएर त्यहाँ पुगेका उनले प्रहरीले हैदरलाई नेपाल फिर्ता पठाउन लागेको जानकारी दिएका थिए ।

हैदरलाई फिर्ता गराउन यसअघि परिवारले ७ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको अयूबले बताए । सुनसरीमा ७ बिगाह जमिन रहेको हैदरका परिवारलाई लाउन–खान ठूलो दुःख छैन । उनका दाजु अयूब निर्माण ब्यवसायी हुन् ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )