कुलचन्द्र न्यौपाने, काठमाडौं
पहिलो चरण वैशाख ३१ मै सकेर जेठ १ मै राजीनामा दिने दाहालको आश्वासन
चैत्र २७, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ मा स्थानीय तहको पहिलो चरण निर्वाचनलगत्तै पदबाट राजीनामा दिने कांग्रेस नेतृत्वलाई आश्वस्त तुल्याएका छन् । सत्ता लम्बाउन खोजेको भन्दै प्रमुख सत्तासाझेदारबाट आशंका उठाइरहेका बेला दाहालले कांग्रेस नेतालाई भेटेरै पहिलो चरणको निर्वाचन सकिनासाथ राजीनामा दिने बताएका हुन् ।
प्रधानमन्त्रीले आश्वस्त तुल्याएपछि कांग्रेस सभापति शेरवहादुर देउवा दुई चरणमा निर्वाचन गराउने दाहालको प्रस्तावमा सहमत भएको स्रोतको दाबी छ । देउवा यसअघि एकै चरणको निर्वाचनमा अडिग थिए । ‘तपाईंहरू भन्नुहुन्छ भने म त अहिल्यै छाड्न तयार छु तर निर्वाचन नै नगरी छाड्दा मलाई अप्ठ्यारो पर्छ,’ कांग्रेस शीर्षस्थ नेतासँग प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘वैशाख ३१ मा पहिलो चरणको निर्वाचन सकिएलगत्तै म राजीनामा दिन्छु । दोस्रो चरणको निर्वाचन गर्न मलाई नै दिनुस् भन्दिनँ ।’
प्रधानमन्त्री दाहालले जेठ १ मै राजीनामा दिने आश्वस्त पारेकै कारण शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा एकै चरणमा निर्वाचन गर्नुपर्ने अत्यधिक मत हुँदाहँुदै देउवाले दुई चरणको निर्वाचनमा रहन आग्रह गरेका हुन् ।
कांग्रेस र माओवादी केन्द्रबीच सत्ता गठबन्धन निर्माणकै बेला आलोपालो सरकार सञ्चालन गर्ने गोप्य सम्झौता भएको थियो । स्रोतका अनुसार सार्वजनिक नभएको पाँचबुँदे उक्त सम्झौताको तीन नम्बर बुँदामा ०७२ चैत मसान्तसम्म दाहाल नेतृत्व र त्यसपछि संघीय संसद्को निर्वाचन भई अर्को संसद् गठन नभएसम्मका लागि देउवाको नेतृत्वमा सरकार सञ्चालन गर्ने उल्लेख छ । प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न प्रस्ताव गर्दा देउवा सशंकित थिए ।
देउवा सकारात्मक भएपछि प्रधानमन्त्री दाहालले सरकार र मधेसी मोर्चाबीच भएको अनौपचारिक समझदारीअनुसार संविधानको नयाँ संशोधन विधेयक तयार पारेका हुन् । संसद्मा प्रस्तुत सीमांकनसहितको संविधान संशोधन प्रस्ताव भने फिर्ता लिने सरकारको तयारी छ । उक्त विधेयकमा रहेका नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्व विषयलाई हुबहु राखी प्रस्तावित विधेयकमा स्थानीय तहका प्रमुख/उपप्रमुखलाई राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलबाट हटाउने र संविधानको धारा २७४ संशोधन गर्ने विषय थपिएको छ ।
निधिलाई राजीनामा नदिन आग्रह
सरकारमा दोस्रो वरीयता नदिइए सरकारबाट बाहिरिने मनस्थिति बनाएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा नदिन आग्रह गरेका छन् । ठूलो दलको हैसियतले दोस्रो वरीयता कांग्रेसले पाउनुपर्ने मत पार्टीभित्र प्रबल रूपमा उठेको थियो । निर्वाचनका बेला गृहमन्त्रीबाट राजीनामा आउँदा त्यसको असर निर्वाचन र पार्टीमा समेत पर्ने भन्दै देउवाले यस्तो आग्रह गरेको उनी निकट एक केन्द्रीय सदस्यले बताए ।
‘सभापति देउवाबाटै राजीनामा दिन हुन्न भन्ने जोड भएपछि निधि अलमलमा हुनुहुन्छ’ निधि निकट स्रोतले भन्यो,‘राजीनामा नदिए पनि दोस्रो वरीयता नपाए उहाँ (निधि) मन्त्रिपरिषद्मा जानुहुुन्न ।’
दोस्रो वरीयतामा निधिलाई निरन्तरता दिँदा राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा सरकारबाट बाहिरिने देउवाको शंका छ । त्यसैले उनी निधिलाई दोस्रो वरीयतामा राख्नै पर्ने अडानमा छैनन् । थापा भने प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबाटै दोस्रो वरीयता दिने सर्तमा सरकारमा आएको बताउँदै आएका छन् । यही निहँुमा राप्रपा सरकारबाट बाहिरिएर एमालेसँग मिले आफ्नो सत्तारोहण सहज नहुने देउवाको ठम्याइ छ । ‘त्यसैले पनि निधिलाई दोस्रो वरीयता दिलाउने जोडमा सभापति हुनुहुन्न,’ स्रोतले भन्यो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षधर नेताले भने कुनै हालतमा पार्टीलाई दोस्रो स्थानबाट तेस्रोमा नलैजान सभापति देउवालाई आग्रह गरेका छन् । पौडेलले शुक्रबारको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमै सत्ता स्वार्थलाई लिएर पार्टीलाई रक्षात्मक स्थितिमा नपुर्याउन आग्रह गरेका थिए । ‘यहाँ व्यक्तिको होइन, पार्टीको पोजिसनको कुरा हो,’ पौडेलको भनाइ थियो, ‘सबैभन्दा ठूलो दलले दोस्रो स्थान पनि नपाउँदा पार्टीको स्थिति के हुन्छ ?’
चुनावी नारा तय
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तह चुनावी नारा तय गरेको छ । समिति संयोजक रामचन्द्र पौडेल अध्यक्षताको बैठकले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको हो ।
(कान्तिपुर )