अधिकारको आवाज उठाउँदा लेबनानबाट ‘डिपोर्ट’


रुद्र खड्का
labnanकाठमाडौं-१३ वर्षदेखि लेबनानमा घरेलु कामदारको रूपमा कार्यरत पृथ्वीनगर–४, झापाकी रोजामाया लिम्बू अझै एक वर्ष त्यहीँ काम गर्न चाहन्थिन्। एकातिर १३ वर्षदेखि लेबनानमा काम गर्न लिम्बू अभ्यस्त भइसकेकी थिइन् भने अर्कोतर्फ उनको रोजगारदातासँगको सम्झौता अवधि अझै एक वर्ष जति बाँकी थियो । जसले गर्दा कम्तीमा अबको एक वर्ष लेबनानमै काम गर्ने उनको चाहना थियो । तर, लेबनानको पछिल्लोे बसाइ भने उनले चाहेजस्तो भएन।

लामो समयसम्म घरेलु कामदारको रूपमा रहेकी लिम्बूलाई त्यहाँ महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद थाहा भइसकेको थियो । महिलामाथि हुने विभेदविरुद्ध आवाज उठाएबापत लिम्बू यतिखेर रोजगारविहीन भएकी छन् भने लेबनानी अधिकारीबाट ५५ दिनको हिरासत यातनासमेत पाइन् । लेबनानमा घरेलु कामदारको रूपमा रहेका महिलाको हक, अधिकारको आवाज उठाउँदा त्यहाँको प्रहरीले पक्राउ गरी ५५ दिन हिरासतमा राखेर केही दिनअघि नेपाल ‘डिपोर्ट’ गरिएपछि लिम्बूले अन्यायमा परेको भन्दै सहयोगको याचना गरिरहेकी छिन् ।

‘लेबनानबाट ‘डिपोर्ट’ हुने गरी कुनै पनि गलत काम गरेकी थिइनँ,’ उनले भनिन्, ‘वर्षौंदेखि अन्यायमा परेका महिलाले लेबनानी कानुन अनुसार सेवा, सुविधा पाउनुपर्छ भन्ने आवाज उठाउँदा जवरजस्त नेपाल पठाइयो ।’ पहिलोपटक सन् २००३ मा घरेलु कामदारको रूपमा लेबनान पुगेकी लिम्बूले आफूलाई केही थाहा नहुँदा चार वर्षसम्म घरभित्रै बस्न बाध्य भएको बताइन् । ‘म जस्ता अरु घरेलु कामदारको रूपमा रहेका महिलाको पूरै जीवन घरभित्रै सीमित नहोस् भनेर जब आवाज उठाएँ, तब त्यहाँका अधिकारीलाई सह्य भएन,’ उनले भनिन्, ‘महिला हिंसाविरुद्ध र न्यायका लागि आवाज उठाउँदा सम्मान गर्नुपर्नेमा उल्टै यातना दिए । जबर्जस्ती नेपाल पठाए ।’

उनका अनुसार लेबनानमा घरेलु कामदारको रूपमा जाने अधिकांश महिला शोषणमा छन् । रोजगारदातासँग सम्झौता र लेबनानी कानुन अनुसार परिश्रम गर्न तथा सोही अनुसार सेवा, सुविधा प्राप्तिमा लबिङ गर्न हालै लेबनानमा गठन भएको घरेलु महिला कामदार युनियनमा लिम्बू नेपाली प्रतिनिधिमण्डलको तर्फबाट ‘लिडर’ चयन भएकी थिइन् । ‘घरेलु कामदार महिला शोषणमा पर्नु हुँदैन भनेर युनियनको लिडर भएकी हुँ,’ उनले भनिन्, ‘सोही कारणले मेरो जागिर खोसियो । नेपाल फर्काइयो।’

आफ्ना नागरिकलाई बिनाकारण जागिरबाट बर्खास्त गरिँदा र नेपाल फिर्ता पठाइँदासमेत सरकारले चासो नराखेकोमा लिम्बूको चित्त दुःखाइ छ । ‘अन्तर्राष्ट्रिय श्रम संगठन तथा लेबनानी कानुन अनुसार घरेलु कामदारको रूपमा रहेका महिला एकजुट भएका हौं,’ उनले भनिन्, ‘संसारभरि नै श्रमिक एकजुट हुने अधिकार छ । तर, मेरो हकमा त्यो कार्यान्वयन हुन सकेन ।’

लिम्बूजस्तै घरेलु कामदारको रूपमा रहेका महिलाले अन्तर्राष्ट्रिय मूल्य, मान्यता र लेबनानी कानुन अनुसार सेवा, सुविधा पाउनुपर्छ भन्ने आवाज उठाउँदा काठमाडौं, सामाखुसीकी सुजाना (सुशीला) रानालाई पनि जबर्जस्ती नेपाल पठाइएको छ । सन् २००७ देखि घरेलु कामदारको रूपमा रहेकी रानाले लेबनान पुगेका महिलाले कानुनअनुसार काम र पारिश्रमिक पाउनुपर्छ भन्दै आवाज उठाउँदै ‘नारी ग्रुप’ अभियानलाई सशक्त पारेपछि दुई महिनाअघि लेबनानी सरकारले नेपाल ‘डिपोर्ट’ गरेको हो । करिब एक सय महिला उक्त अभियानमा सामेल भइसकेको बेला त्यहाँको प्रहरीले पक्राउ गरी नौ दिन हिरासतमा राखेर नेपाल फर्काएको हो ।

‘हामीहरूले अन्तर्राष्ट्रिय श्रम संगठन र जिफन्टको समन्वयमा नै महिलालाई सशक्तीकरण गरिरहेका थियौं,’ रानाले भनिन्, ‘लेबनानी र अन्तर्राष्ट्रिय कानुन अनुसार घरेलु कामदार महिलाले सेवा, सुविधा पाउनुपर्छ भन्नेबाहेक अन्य कुनै माग थिएनन् । तैपनि महिलालाई शोषण गर्न पल्केकाहरूले हाम्रो आवाजलाई सहन सकेनन् ।’

नेपालमा ‘डिपोर्ट’ गरिएका उनीहरूका अनुसार घरेलु कामदारको रूपमा लेबनानमा रहेका अधिकांश महिला घरबाहिर निस्कन पाउँदैनन् । त्यस्तै घरेलु कामदारको रूपमा रहेका महिलाले वर्षौं काम गर्दा पनि बिदा नपाउने गरेको गुनासो गरेका छन् । ‘साताको एक दिन बिदा र ओभरटाइम काम गर्दा अतिरिक्त पारिश्रमिक पाउनुपर्छ भन्ने हाम्रो माग थियो,’ लिम्बूले भनिन्, ‘जुन कुराको ग्यारेन्टी त्यहाँको (लेबनान) कानुनले पनि गरेको छ ।’

रानाका अनुसार कतिपय व्यक्तिले घरेलु कामदारको रूपमा रहेका महिलाले लेबनानी कानुन विपरीत आवाज उठाएको आरोप लगाउने गरे पनि त्यो सत्य नभएको बताउँछिन् । ‘सातामा एक दिन बिदा र ओभरटाइम काम गरेपछि थप पारिश्रमिक दिनुपर्छ भन्ने मात्र हाम्रा माग थिए,’ उनले भनिन्, ‘हामी सशक्त भएको गैर आवासीय नेपाली संघका कतिपय पदाधिकारीलाई पनि मन परेन । त्यहाँको प्रहरी र संघका सदस्य मिलेर हामीलाई जबरजस्ती पक्राउ गरी नेपाल फर्काए ।’ उनीहरूले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत सरकारसँग माग गरेका छन् ।

उनीहरूका अनुसार हाल लेबनानमा करिब १० हजार महिला छन् । जसमध्ये ५ सय जति महिना केही कम्पनीमा कार्यरत छन् भने बाँकी सबै घरेलु कामदारको रूपमा कार्यरत छन् । घरेलु कामदारको रूपमा रहेका महिलाले बिहान ५–६ बजेदेखि राति १२–१ बजेसम्म काम गर्नुपर्ने, सातामा छुट्टी नपाउने लगायतका शोषण सहनुपर्ने गुनासो गरिएको छ । रानाले घरेलु कामदारको रूपमा रहेका महिला निकै शोषणमा परेकाले सरकारले उक्त कामका लागि जाने महिलालाई रोक्नु पर्ने माग गरिन् । यद्यपि पछिल्लो दुई वर्षयता वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर लेबनानमा घरेलु कामदारको रूपमा कुनै पनि महिला गएका छैनन् । हाल लेबनानमा रहेका महिलामध्ये विगतमा नै केही कानुनी प्रक्रिया र केही अवैध ढंगले त्यहाँ पुगेको बताइन्छ ।

यता घरेलु कामदार सरोकार समाजका महासचिव डिबी तामाङ लेबनानमा नेपालीले भोग्दै आएका समस्या समाधानका लागि त्यहाँ कन्सुलेट अफिस स्थापना हुन आवश्यक रहेको बताउँछन् । ‘लेबनान सरकारले नै घरेलु महिला कामदार सम्बन्धी श्रम सम्झौता गर्न खोजिरहेको छ,’ तामाङले भने, ‘नेपालले श्रम सम्झौता गरी महिला पठाउन सक्ने हो भने पनि धेरै सुरक्षित हुन सक्छन् ।’ मध्यपूर्वका विभिन्न गन्तव्यमध्ये तुलनात्मक रूपमा लेबनान बढी सुरक्षित रहेको उनको भनाइ छ ।

श्रमविज्ञ रमेश बडाल भने लेबनानी कानुनले गरेको व्यवस्था अनुसार नै कामदारले अधिकारको माग राख्दा कामदार ‘डिपोर्ट’ गरिनु गन्तव्य मुलुकको मोनोपोली भएको बताउँछन् । ‘वैदेशिक रोजगारीमा शोषण भएको खण्डमा गन्तव्य मुलुकको कानुन अनुसार सेवा, सुविधा माग गर्नु कुनै नाजायज होइन,’ उनले भने, ‘कामदार अन्यायमा पर्दा सरकारले समेत कुरा उठाउनु पर्छ ।’

लिम्बूका अनुसार काम गर्न लेबनान गएका ३७ महिलाले आत्महत्या गरेको लेबनानी अधिकारीले प्रचार गरे पनि वास्तविकता फरक छ । नेपाली महिलाको हत्या गरेर आत्महत्याको आरोप लगाउने गरेको उनको आशंका छ । ‘आत्महत्या गर्न नसक्ने स्थानमा समेत आत्महत्या गरिएको भनिन्छ,’ उनले भनिन्।(नागरिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )