‘छातीमा कडा दुखाई छ? हृदयघात हुन सक्छ’


images-1

सबै छातीका दुखाई हृदयघातका लक्षण भने होइनन् – डा.कृष्णप्रसाद अधिकारी, काठमाडौं

पुस ३, २०७३- मुटुको रगत बितरण गर्ने नसा अकस्मात बन्द भएर हृदयघात हुन्छ । छातीको कडा दुखाई यसको मुख्य लक्षण हो । छाती दुखाईसंगै बान्ता हुने, पसिना आउने, सास फेर्न गाह्रो हुने भएमा हृदयघात हुने सम्भावना अरु बढि हुन्छ । अमेरिकामा प्रत्येक २५ सेकेन्डमा एउटा हृदयघात हुन्छभने प्रत्येक एक मिनेटमा एक जनाको हृदयघातबाट मृत्यु हुन्छ । अमेरिकामा भन्दा दक्षिण एशियामा हृदयघात बढि हुने आंकलन छ । यस लेखमा हृदयघात हुनबाट कसरी जोगिने, कसरी हृदयघात समयमा नै पत्ता लगाउने र कसरी सही उपचार गर्ने बारेमा संक्षिप्त जानकारी दिने प्रयास गरेको छु ।

छातीको दुखाई

छातीको दुखाई हृदयघातको प्रमुख लक्षण भएता पनि सबै छातीका दुखाईहरु हृदयघात होइनन् । अमेरिकामा छातीको दुखाई लिएर आउने ५० लाख विरामीमध्ये १२ लाखलाई हृदयघात भएको पाईयो । अर्थात प्रत्येक चारजना छातीको दुखाईको विरामीमध्ये सरदर एकजनालाई हृदयघात भएको हुन्छ । छातीका दुखाईको अन्य कारणहरुमा फोक्सो तथा प्रमुख धमनीको रोगदेखि खाना पाईपका रोगहरु करङको जोर्नीको समस्यादेखि मानसिक चिन्ता सम्बन्धी रोगहरु पर्दछन् । मुख्य कुरा कुनचाही दुखाई मुटुको दुखाई हो भनेर चिन्नु हो । यस प्रयोजनका लागि मुटुको दुखाईको कारणमा प्रकाश पार्नुपर्छ । मुटुको दुखाई दुई प्रकारले हुन्छ ।

१) अकस्मात मुटुको नसा बन्द भएर 

यसमा मुखभन्दा मुनी तर नाईटोमाथिको कुनैपनि भागमा प्राय छातीको मध्य भागमा अकस्मात खुब कडा दुखाई हुन्छ । विरामीले ‘छाती फुट्न लाग्यो’ वा ‘जिन्दगीको सबैभन्दा कडा दुखाई’ वा मर्छु कि जस्तो लाग्यो’ जस्ता बिशेषणले दुखाईको वयान गर्छन् । यो दुखाई आराम गर्दा वा परिश्रम गर्दा आउछ । साथमा पसिना आउने तथा वाकवाकी हुने र सास फेर्न गाह्रो हुनसक्छ । यो ज्यानलेवा अबस्था हो ।

२) बिस्तारै मुटुको नसा साँघुरो भएर 

यसमा छातीको दुखाई परिश्रम गर्दा आउने तर आराम गर्दा हराउने खालको हुन्छ । यो दुखाईमा एउटा तहको परिश्रम भएपछि जहिलेपनि छातीको दुखाई आउछ । जसलाई अंग्रेजीमा Predictability भनिन्छ । एउटै प्रकारको परिश्रममा आज छाती दुख्ने तर अर्को दिन नदुख्ने भएमा त्यो दुखाई मुटुको हुने सम्भावना कम हुन्छ ।

छातीको दुखाईको बिश्लेषन गर्दा अन्य केहि पक्षमा पनि विचार गर्नुपर्दछ ।

१) उमेर : हृदयघात हुने उमेर साधारनतया २५ देखि ४० बर्षपछि हुने भएकाले यो उमेर समूहको छातीको दुखाईलाई बढि महत्व दिनुपर्छ । २० बर्ष मुनीको उमेर समूहलाई हुने छातीको दुखाई मुटुको कारण हुने सम्भावना कम हुन्छ ।

२) रिस्क फ्याक्टर : हृदयघातका रिस्क फ्याक्टरहरुमा मधुमेह, उच्च रक्तचाप, हाईपरकोलेस्टेरोलेमिया, तमाखु (टोबाको) सेवन तथा परिवारमा अन्यलाई हृदयघात भएका व्यक्ति पर्दछन् । यसबाहेक मोटोपन, शारीरिक रुपमा निश्क्रिय व्यक्तिहरु, बढि तनावमा हुने व्यक्तिहरु पनि उच्च खतरामा हुन्छन् ।

तसर्थ उमेर, रिस्क फ्याक्टर तथा दुखाईको प्रकृती हेरेर छातीको दुखाईको बिश्लेशन गरिनुपर्दछ । चसचस घोचेजस्तो दुखाई, चक्कुले हानेजस्तो दुखाई, सास तान्दा वा खोक्दा बढ्ने दुखाई, एउटा औलाले देखाउन मिल्ने दुखाई, छातीको पछाडीमात्र दुख्ने दुखाई, परिश्रम गर्दा आराम हुने दुखाई, कुनै बिशेष पोजिशन वा चालमा आउने दुखाई, केहि सेकेन्डका लागिमात्र वा घन्टौ दुख्ने दुखाई मुटुका कारण भएको हुनसक्ने सम्भावना कम हुन्छ ।

छातीको दुखाईको परिक्षण 

बिभिन्न परिक्षण गरेर छातीको दुखाईको सही डाइग्नोसिस गर्न सकिन्छ ।

१) इसिजी : इसिजी छातीको दुखाईको अति महत्वपूर्ण टेस्ट हो । यसले नसा तुरुन्त खोल्नुपर्ने अबस्था (Stemi) को पहिचान गर्न सहयोग गर्दछ । इसिजी ठिक भएपनि हृदयघात हुनसक्छ किनभने हृदयघात भएको ५० प्रतिशत विरामीमा इसिजी नर्मल हुन्छ ।

२) रक्त परिक्षण : ट्रोपोनिन तथा सिकेएम वि नामक रक्त परिक्षणबाट हृदयघातको निदान गरिन्छ ।

३) इकोकार्डियोग्राफी : यसलाई मुटुको भिडियो एक्सरे पनि भनिन्छ । हृदयघातपछि जुन बनावटगत परिवर्तन आउछ त्यो हेरेर रोग निदान गर्न सकिन्छ । यसले हृदयघातका जटिलताहरुका साथै उपचार कसरी गर्ने बारेमा मुटुरोग बिशेषज्ञलाई सहयोग गर्दछ ।

४) टिएमटी : यसमा विरामीलाई मेसिनमा हिड्न लगाएर लगातार इसिजी मनिटर गरिन्छ । इसिजी र इकोकार्डियोग्राफी नर्मल भएका तर मुटुको नसा पुरै बन्द नभई सत्तरी प्रतिशतभन्दा बढि रगतको नसा साँघुरो भएको अबस्थाको निदान टिएमटी वा स्ट्रेस इकोले मात्र गर्न सकिन्छ ।

५) एन्जियोग्राफी : यो मुटुको नसाको सोझै परिक्षण गर्ने प्रविधि हो । मुटुको नसाको रोग किटान भएमा उपचारको लागि वा अन्य परिक्षणबाट निदान हुन नसकेको तर चिकित्सकलाई शंका लागिरहेमा एन्जियोग्राफी गरिन्छ । यो मुटुको नसाको रोगको अन्तिम परिक्षण हो ।

हृदयघात हुनबाट कसरी जोगिने ?

हृदयघातका रिस्क फ्याक्टरहरुको सही व्यबस्थापन गरेर हृदयघात हुनबाट बच्न सकिन्छ । यसमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, सुर्तीजन्य पदार्थको सेवन, पारिवारिक हृदयघात, मोटोपन, शारीरिक निस्क्रियता, मानसिक तनाव जस्ता कुराहरु पर्दछन् । यस मध्ये एउटा रिस्क फ्याक्टर भएका व्यक्तिलाई उपचार गर्दा अर्को रिस्क फ्याक्टरको खोजविन गरी भएजती सबै रिस्क फ्याक्टरको समुचित व्यबस्थापन गर्न सकेमा हृदयघात हुनबाट जोगिन सकिन्छ । उच्च रक्तचापको उपचार गर्ने तर चुरोट खाइराख्ने जस्तो अर्ध उपचारले खासै फाईदा गर्दैन । सूर्ती खाने उच्च रक्तचापका विरामीले सूर्ती बन्द गर्ने र रक्तचापको उपचार संगसंगै गर्नुपर्दछ । उनीहरुमा अरु रिस्क फ्याक्टर जस्तै कोलेस्टेरोल तथा सुगर परिक्षण गर्नुपर्दछ । मानसिक तनाव भए कम गर्ने उपाय सिकाउनुपर्छ र मोटोपन तथा शारीरिक निस्क्रियताको पनि तत्काल व्यबस्थापन सुरु गर्नुपर्छ ।

हृदयघात समयमा नै पत्ता लगाउने 

हृदयघातमा एउटा भनाई छ ‘मिनट भनेको मासु हो ।’ अर्थात हृदयघात भएको विरामीको प्रत्येक मिनेटमा अघिल्लो मिनटभन्दा बढिको बढि मुटुको मासुको मृत्यु हुन्छ । जतिबढि मुटुको मासु मर्छ विरामीको मृत्यु हुने सम्भावना बढि हुन्छ । हृदयघात हुँदा थोरैमात्र मुटुको मासुको मृत्यु भएमा औषधीको उपचारबाट विरामीलाई गुनस्तरीय जीवन जिउन सक्ने बनाउन सकिन्छ । यसकारण जति चाडो हृदयघातको पहिचान गर्न सकियो त्यति कम क्षती हुनगई विरामीलाई सुरक्षित राख्न सकिन्छ । यसर्थ छाती वा मुखदेखि नाइटोसम्मको भागको दुखाई हुँदा तुरुन्त इसिजी भन्ने जाँच गर्नुपर्छ जसले गर्दा रोगको निदान समयमा नै गर्न सकिन्छ । हृदयघातबाट हुने मृत्यु मध्ये ५० प्रतिशत मृत्यु विरामी अस्पताल आउनु अघि हुने भएकाले छातीको दुखाई हुने विरामीले तुरुन्त चिकित्सकसंग परिक्षण गर्नुपर्दछ । माथिको रिस्क फ्याक्टर भएका व्यक्तिका लागि बिशेष गरी छाती दुख्नासाथ ढिलो नगरी चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । उक्त रिस्क फ्याक्टर भएका व्यक्तिले सामान्य हेलचेक्राई गरेमा ज्यान जाने खतरा रहन्छ ।

सही उपचार

ऐतिहासिक हिसाबले हृदयघातको उपचारले बिभिन्न चरण  पार गरेको छ –क्लिनिकल अब्जरभेशन चरण, सिसियु चरण, उच्च प्राबिधिक चरण, नसा खोल्ने चरण र प्रमाणमा आधारित उपचार चरण । हामी नेपालगन्जमा बन्द भएको मुटुको नसा खोल्ने र प्रमाणमा आधारित उपचार गर्न सक्छौ । नसा खोल्ने उपचार दुई तरिकाले गर्न सकिन्छ । स्ट्रेप्टोकाइनेज तथा टेनेक्टिप्लेज जस्ता औषधी प्रयोग गरेर बन्द भएको नसा खोल्न सकिन्छ तर विरामी छाती दुखेको बाह्र घन्टाभित्र चिकित्सकको सम्पर्कमा आईसक्नु पर्दछ  । बाह्र घन्टा पछाडी यस्ता उपचारले खास फाईदा नहुने भएकाले यस अबधिपछि आउने विरामीलाई औषधीबाट नसा खोल्न सम्भव हुँदैन । एन्जियोग्राफी र एन्जियोप्लाष्टिको माध्ययमबाट नसा खोल्न समयको पावन्दी नभएपनि जती ढिलो नसा खोल्यो त्यति कम फाईदा हुने भएकाले  हृदयघातमा उपचार गरिने समयको महत्व बिशिष्ट छ । यो एन्जियोग्राफी र एन्जियोप्लाष्टीबाट गरिने उपचारका लागि क्लाथल्याब नामक खर्चिलो साधन आबश्यक्ता पर्दछ । पूर्वी नेपाल तथा मध्य नेपालमा यो सेवा उपलब्ध भएतापनि सुदूर र मध्य पश्चिममा यो सेवा उपलव्ध छैन । जनशक्तिको उपलव्धता हुँदाहुँदै साधनको अभावले गर्दा सुदूर र मध्यपश्चिमले एक आवाजमा सरकारसमक्ष यसको माग गर्न, दवाव दिन, जनमत तयार गर्ने बेला भैसकेको छ ।

कान्तिपुर स्वास्थ्य डा.कृष्णप्रसाद अधिकारी

(मुटुरोग बिशेषज्ञ डा. अधिकारी भेरी अन्चल अस्पताल नेपालगन्जमा कार्यरत छन् ।)

स्रोतः-कान्तीपुर

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )