सुन्तली भन्छिन्-अब म नर्क जान्नँ


राजेश बर्मा
suntali-5834fa050cb6f6-63394679काठमाडौं: मानसिक पीडाबाट थलिएकी धादिङ भुमेस्थानकी सुन्तली तामाङ गत साता वैदेशिक रोजगारबाट नेपाल फर्केकी छन् । घरेलु कामदारका रूपमा एक वर्षअघि दुबई पुगेकी सुन्तली घर मालिकको शारीरिक र मानसिक यातनाका कारण मानसिक रूपमा विक्षिप्त बनेकी थिइन् ।
रोजगारदाता घरमालिकको दैनिक कुटपिटबाट सिकिस्त बनेकी सुन्तली केही महिनादेखि हाँस्न, बोल्न, खान, नुहाउन र सुत्नसमेत छाडेकी थिइन् । घरमालिकले केही दिनदेखि खाना पनि दिन छाडेका थिए । त्यति मात्रै होइन, घरमा फोन सम्पर्क गर्नसमेत रोक लगाइएको थियो । कुटाई र मानसिक यातनाका कारण उनी एकोहोरो हुने, पुरुष देख्दा तर्सिनेसमेत भएकी थिइन् ।
दुबईस्थित नेपाली दूतावासका श्रम सहचारी हिराकुमारी यादवको विशेष सक्रियतामा सुन्तलीलाई उद्धार गरी नेपाल फर्काइएको हो । सुन्तली भन्छिन्, ‘हिराकुमारी दिदीले सहयोग नगरेको भए म आजसम्म त्यहीँ नर्कतुल्य जीवन जिउन बाध्य हुन्थे । अब म त्यो नर्क कहिल्यै जान्न । उहाँले तीन महिनासम्म मेरो निकै रेखदेख गर्नुभयो ।’ त्यति मात्रै होइन, घर फर्काउन पनि ठूलै सहयोग गर्नुभयो ।’ दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार घरेलु कामदारका रूपमा सुन्तली गत २०७१ चैत १ गते वेवी सिटरमा काम गर्न पुनः स्वीकृति लिएर दुबईको अवुधावी पुगेकी थिइन् ।
अवुधावीमा सुन्तलीले एक वर्षसम्म घरमा काम गरिन् । घरमालिकको मानसिक र शारीरिक पीडाबाट विक्षिप्त बनेकी सुन्तली तीन महिनाअघि दुबईस्थित दूतावासको शरणमा पुगेकी थिइन् । दूतावासको सम्पर्कमा आएकी सुन्तलीको उद्धार गरी हिराकुमारीले स्थानीय खलिफा सिटी अस्पतालमा तीन सातासम्म आकस्मिक कक्षमा भर्ना गरी मानसिक रोगसम्बन्धी उपचार गराएकी थिइन् । ‘दूतावासका कार्यबाहक राजदूत नेत्रबहादुर टन्डनको निर्देशनमा हिराजीको विशेष सक्रियतामा सुन्तलीको तीन सातासम्म अस्पतालमा उपचार गरियो’, प्रवक्ता अर्यालले भने ।
दूतावासका अनुसार सुन्तलीको मानसिक अवस्था ठीक नभएकाले अस्पतालले तीन सातासम्म इलेक्ट्रिक सकको सहयोगमा उपचार गरी डिस्चार्ज गरेको थियो । डिस्चार्ज पश्चात उनलाई पुनः दूतावासको जिम्मा लगाइएको थियो । त्यस लगत्तै दसैंको बिदा सुरु भयो । बिदा मनाउन हिराकुमारी नेपाल फर्किइन् । हिराकुमारीको अनुपस्थितिमा सुन्तलीको थप उपचार हुन सकेन् । बिदा सकेर दुबई फर्किएकी हिराकुमारीले सुन्तलीलाई पुरानै अवस्थामा दूतवासमै शरण लिएको भेटेपछि उनलाई पुनः थप उपचारका लागि अस्पतालमा भर्ना गरिन् ।
‘सुरुमा सुन्तलीलाई भेट्दा उनको स्वास्थ्य अवस्था निक्कै दयनिय थियो । तत्कालै उद्धार गरेर अस्पतालमा भर्ना गरी उपचारको व्यवस्था मिलायौं’, यादवले भनिन्, ‘दसैं बिदा मनाएर फर्केपछि सुन्तलीलाई दूतावासमै विक्षिप्त अवस्थामै फेरि भेटें । उनी नेपाल फर्किसकेको सोचेको थिए तर उनलाई पुरानै अवस्थामा भेटे । उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरे ।’ दोस्रो पटकको उपचारपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो ।
सुन्तलीको उपचारमा ३५ हजार दिराम खर्च भएको थियो । त्यो रकम तिर्न हिराकुमारीलाई धौ धौ पर्‌यो । दूतावासमा उद्धार गर्न र उपचार गर्न लाग्ने खर्च व्यहोर्ने सुविधा नभएकाले उपचारको ठूलो रकम अस्पताललाई तिर्न उनलाई ठूलै विपत आइलाग्यो । उनले विभिन्न स्थानमा सहयोगका लागि याचना गरिन् तर कतैबाट सहयोग पाइनन् । अन्तमा उनले अस्पताल प्रशासनलाई नै याचना गरेपछि उपचार खर्च मिनाहा गरिदिएको थियो । सुन्तलीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएपछि हिराकुमारी उनलाई नेपाल फर्काउने तयारीमा जुटिन् ।
हिराकुमारी सामु फेरि अर्को समस्या तेर्सियो । टिकट खर्च कहाँबाट जोहो गर्ने भन्ने । उनले टिकटको व्यवस्था गरिदिन काठमाडौंस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा असोज २९ गते पत्राचार गरिन् । तीन पटकसम्म टेलिफोनबाट टिकटका लागि आग्रह गरिन् । तर, हिराकुमारीले बोर्डबाट कुनै सहयोग पाउन सकिनन् । ‘वैदेशिक रोजगारमा आएका कामदार समस्यामा पर्दा बोर्डले सहयोग गर्नुपर्ने हो’, हिराकुमारीले भनिन्, ‘बोर्डको भूमिका शून्य देखियो । समस्यामा परेका कामदारलाई कतिन्जेलसम्म अन्य संघसंस्थासँग चन्दा उठाएर उद्धार गर्न सकिन्छ ।’

अन्ततः टिकटका लागि पनि उनी फेरि आफैं अग्रसर भइन् । पछि पैसा तिर्ने प्रतिबद्धता जनाएर उनले स्थानीय ग्रिनलाइन ट्राभल एजेन्सीबाट कात्तिक २३ गतेका लागि २ बजेको इत्तेहाद एयरलाइन्सको टिकट खरिद गरिन् । सुन्तलीलाई नेपाल फर्काउन सबै व्यवस्था गरिसके पनि उनले सफलता भने पाउन सकिनन् । दूतावासका कर्मचारीसँगै सुन्तली विमानस्थल पुगिन् तर नेपाल फर्किन सकिनन् ।
काम गर्ने घरमालिकले सुन्तली अवैध रूपमा बसेको र आफ्नो घरबाट भागेर हिडेको भन्दै स्थानीय प्रहरीमा उजुरी गरिसकेका थिए । ‘प्रहरीमा उजुरी नपरेको भए सुन्तलीमा भएको सबै खर्च घरमालिकले नै व्यहोर्नु पथ्र्यो,’ हिराकुमारीले भनिन्, ‘प्रहरीमा परेको उजुरीका कारण त्यो दिन उनलाई नेपाल फर्कन दिइएन । टिकट पनि बेकार भयो ।’
हिराकुमारीले सुन्तलीको अध्यागमन पास गराए पनि नेपाल फर्काउन सकिनन् । नेपाल फर्काउन घरमालिकको अनुमति बेगर केस क्लियरेन्स नहुने भएकाले हिराकुमारी अबुधावीस्थित इमिग्रेसन पुगिन् । इमिग्रेसनमा सम्पूर्ण घटनाका ’boutमा बेलिबिस्तार लगाइन् । सुन्तली निर्दोष भएको जानकारी गराइयो । तर, इमिग्रेसनले अल्हथ्वा जेलबाट क्लियरेन्स गराएर आउन सुझाव दियो । हिराकुमारी त्यही दिन फेरि जेल पुगिन् । घरमालिकसँग कुरा गरिन् तर कतैबाट क्लियरेन्स पाउन सकिनन् ।
घरेलु कामदारका रूपमा एक वर्षअघि दुबई पुगेकी सुन्तली घर मालिकको शारीरिक र मानसिक यातनाका कारण मानसिक रूपमा विक्षिप्त बनेकी थिइन् ।
त्यसपछि विमानस्थल पुगेर काउन्टर नम्बर पाँचबाट भिसा समाप्त भएपछि अवैध रूपमा बसेको (ओभर स्टे) भन्दै जरिबाना वापतको रकम तिरेपछि क्लियरेन्स हुन्छ भनेर सुझाव दिइयो । उनी विमानस्थलको काउन्टर नम्बर पाँचमा पुगिन् । त्यसपछि उनलाई टर्मिनल तीनमा पठाइयो । त्यो बेला दिनको १ बजिसकेको थियो । टर्मिनल तीनमा उनलाई घरमालिकले सुन्तलीलाई यात्रा गर्न प्रतिबन्ध लगाएको जानकारी दिँदै सुन्तलीलाई नेपाल फर्कन रोक लगाइयो ।
‘यति गर्दागर्दै पनि सुन्तलीलाई मैले नेपाल फर्काउन सकिन’, हिराकुमारीले भनिन्, ‘त्यो दिनभर प्रयास गरे पनि कुनै सफलता पाउन सकिन तर ममा दृढ विश्वास थियो, जसरी पनि नेपाल फर्काउने ।’ हिराकुमारीले त्यो दिन सुन्तलीलाई नमिठो मनले आफूसँगै दूतावास लिएर आइन् । उनको मनमा अर्को ठूलो चोट पनि परेको थियो, धेरै प्रयास गरी उपलब्ध भएको टिकट खेर गएपछि उनको मन निकै रोएको थियो ।
अर्को दिन दूतावासको टोली, सहयोग गर्ने इरफान र विष्णुसहित हिराकुमारी सुन्तली विरुद्धको उजुरीबाट मुक्त गराउन इमिग्रेसन गइन् । त्यो दिन उनले घरमालिक विरुद्ध नै उजुरी दिएर जरिबाना वापत दुई हजार पाँच सय दिराम तिराइन् । घरमालिकबाट जरिबाना तिराएपछि सुन्तलीको यात्रा गर्न लगाइएको प्रतिबन्ध पनि फुकुवा भयो । त्यसपछि हिराकुमारीले विभिन्न संघसंस्थाको सहयोगमा उधारोमा दुई हजार ६ सय दिराम लाग्ने गरी पुनः अर्को टिकटको व्यवस्था गरिन् ।
उनको यो प्रयास अन्ततः सफल भयो र सुन्तलीलाई नेपाल फर्काउने उनको सपना पनि साकार भयो । हिराकुमारीले लक्ष्य भन्ने पुरुष सहयात्रीसँगै सुन्तलीलाई नेपाल फर्काएकी थिइन् । त्यति मात्रै होइन । सुन्तलीको आमाको नम्बरमा नेपाल फर्केर घरपरिवारको सम्पर्कमा नआउँदासम्म फोन गरिराखेकै थिइन् । सुन्तली नेपाल फर्केर आफ्नो घरपरिवारको सम्पर्कमा आइपुगे पनि उता हिराकुमारीलाई लागेको खर्चको व्यवस्थापन गर्ने समस्याले पिरलेको छ । उनी भन्छिन्, ‘अहिलेसम्म यसरी नै मनकारी श्रमिक, संघसंस्था, एनआरएन, दाताको सहयोगबाट दर्जनौ महिलाको उद्धार गर्‌यौं । अब सुन्तलीको टिकटको पैसा पनि चाँडै सहयोग प्राप्त हुन्छ ।'(अन्नपूर्ण पोस्ट )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )