१ लाख ७ हजारले अझै पाएनन् अनुदान


08042016081648nra-1000x0कार्तिक १८, २०७३- उपत्यकाबाहिरका ११ जिल्लामा एक लाख ७ हजार भूकम्पपीडितले अझै घर पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्तासमेत पाउन सकेका छैनन् । भूकम्प गएको झन्डै १८ महिना बितिसक्न लाग्दा समेत उपत्यकाबाहिरका ११ जिल्लामा १ लाख ७ हजार ५ सय ४० परिवारले अनुदानको पहिलो किस्ता पाउन नसकेका हुन् । उपत्यकाका तीन जिल्लामा सर्वेक्षणको काम बल्ल सकिएर अनुदान रकम पाउनका लागि सरकारसँग सम्झौताको काम सुरु भएको छ । अति प्रभावित १४ जिल्लाभन्दा बाहेकका १७ जिल्लामा सर्वेक्षण काम नै सुरु हुन सकेको छैन ।

एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएलगत्तै ४५ दिने अभियानको घोषणा गरी सबै भूकम्पपीडितलाई उक्त अवधिभित्रै अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गर्ने कार्ययोजना अघि सारेका थिए ।

तर, उक्त घोषणा सकिएको करिब दुई महिना बितिसक्न लाग्दा समेत अनुदान पाउन योग्य परिवारमध्ये झन्डै २० प्रतिशतले पहिलो किस्ताको रकम पाउन नसकेका हुन् ।

‘करिब ६४ हजार परिवारको जग्गाधनीपुर्जा सम्बन्धी समस्या छ । धनीपुर्जा नभएका पीडितलाई अनुदान सम्झौता गर्न नसक्ने व्यवस्था सम्बन्धित कार्यविधिले गरेको छ,’ राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने, ‘यो समस्या समाधानका लागि स्थानीय निकाय अहिले नेतृत्वविहीन छ । स्थानीय निकायका कर्मचारीहरू पटकपटक सरुवा हुने कारणले पनि यो समस्या समाधान गर्न सकिएको छैन ।’

समाधानका लागि स्थानीय र केन्द्रीय तहबाट पहल जारी रहेको उनले बताए ।

तथ्यांकअनुसार उपत्यकाबाहिर ५ लाख ३३ हजार परिवारले घर पुनर्निर्माणका लागि अनुदान पाउनुपर्ने हो । तिहार अघिसम्म उक्त परिवारमध्ये ४ लाख २५ हजार ६ सय ४२ परिवारले मात्रै अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार कतिपय भूकम्पपीडितको ऐलानी जग्गा छ । घरजग्गा अंशबन्डा भएको तर प्रमाण नभएका समस्या पनि छन् । घर भत्किएको तर मानिस जीवित नभएर कागजात मिलाउन बाँकी पनि छन् । ‘कतिपय पीडत अनुदान सम्झौता गर्न नै सरकारी निकायमा नआएर रकम वितरण हुन नसकेको हो,’ थपलियाले भने, ‘यी समस्या समाधान गर्ने प्रयत्न जारी छ । चाँडै समाधान हुनेछ ।’

अहिलेसम्मको तथ्यांकका आधारमा भूकम्पपीडितका लागि २१ अर्ब २८ करोड २१ लाख रुपैयाँ भूकम्पपीडितलाई पहिलो किस्ताबापत भुक्तानी भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले करिब ४२ हजार परिवारलाई मात्रै अनुदानको पहिलो किस्ता उपलब्ध गराएको थियो । करिब ४ लाख परिवारलाई यो आर्थिक वर्ष लागेपछि अनुदानको पहिलो किस्ताको ५० हजार रकम भुक्तानी भएको हो । उक्त रकम सम्बन्धित भूकम्पपीडितको बैंक खातामा जम्मा भएको छ । उक्त रकम जुनसुकै समयमा बैंक खाताबाट निकाले भूकम्पपीडितले घर बनाउन पाउनेछन् ।

भूकम्पबाट अति प्रभावित उपत्यकाका तीन जिल्लामा भने बल्ल विस्तृत सर्वेक्षणको काम सकिएको छ । ‘केही ठाउँमा अनुदान वितरणका लागि सम्झौतासमेत सुरु भइसकेको छ,’ प्राधिकरणका प्रवक्ता थपलियाले भने, ‘अनुदानको पहिलो किस्ता वितरण अब उपत्यकामा तीव्र गतिमा अघि बढ्नेछ ।’

सरकारले भूकम्प गएलगत्तै पूर्ण रूपमा घर क्षति भएको परिवारलाई पहिलो किस्ताअन्तर्गत ५० हजार, उक्त रकमले घरको जग निर्माण गरिसकेपछि दोस्रो किस्तामा ८० हजार र छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भएपश्चात तेस्रो तथा अन्तिम किस्ता ७० हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो ।

तर, दाहाल नेतृत्वको सरकारले घर पुनर्निर्माणका लागि थप एक लाख रुपैयाँ अनुदान बढाएर तीन लाख पुर्‍याएको छ । उक्त रकमअनुसार दोस्रो किस्तामा डेढ लाख रुपैयाँ र तेस्रो तथा अन्तिम किस्तामा बाँकी एक लाख रुपैयाँ वितरण गर्ने सरकारको तयारी हो । हालसम्म दोस्रो र तेस्रो किस्ता रकम लिने कोही पनि छैनन् ।
पहिलो किस्ता वितरणमै ढिलाइ भएकाले दोस्रो किस्ता वितरण कुनै पनि जिल्लामा सुरु हुन सकेको छैन । अनुदान पाउनुपर्ने जिल्लामध्ये तीन वटामा मात्रै ९७ प्रतिशत भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएका छन् ।
सिन्धुपाल्चोक, रामेछाप र दोलखामा उक्त प्रतिशत परिवारले अनुदान पाएका हुन् ।

अन्य जिल्लामा करिब ९० प्रतिशतले मात्रै अनुदानको पहिलो किस्ता पाएका छन् । धादिङमा ३० प्रतिशत परिवारले अनुदान नै पाउन सकेका छैनन् । भूकम्पले १४ जिल्लाबाहेक थप १७ जिल्लामा समेत प्रभाव पारेको छ । उक्त जिल्लाका भूकम्पपीडितलाई अनुदान वितरणका लागि सरकारले विस्तृत सर्वेक्षणको काम नै सुरु गर्न सकेको छैन ।

विस्तृत सर्वेक्षणका काम नसकी अनुदान वितरण नहुने व्यवस्था गरिएको छ । उक्त आधारमा बाँकी १७ जिल्लाका भूकम्पपीडितले अनुदानको पहिलो किस्ता रकम पाउन अझै समय कुर्नुपर्ने भएको छ ।

कुन जिल्लामा कतिले पाए अनुदान ?
सिन्धुपाल्चोक ७२२८९
रामेछाप ३९७५९
दोलखा ४४६०७
ओखालढुंगा १७००३
गोरखा ४९०५५
काभ्रेपलाञ्चोक ५५१५८
नुवाकोट ५३००९
सिन्धुली २५५८१
रसुवा ८२३२
धादिङ ४३८७९
मकवानपुर १७०७०
जम्मा ४२५६४२

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )