दसैंको उल्लास छैन टहरामा


प्रकाश अधिकारी, सुर्खेत
बाढी पीडितको दु:खेसो
04102016082044sibir-1000x0आश्विन १८, २०७३- हरिहरपुर ५ सिस्नेरीका सिर्जना विकका परिवार दुई वर्षदेखि गिरीघाटमा विस्थापित जीवन बिताइरहेका छन् । थुप्रै आफन्त र पुर्खौंदेखि आर्जेको सारा सम्पत्ति बाढीले बगाएपछि गतवर्ष उनको परिवारमा चाडपर्वको उल्लास छाएन । ‘न घर छ न त पैसा । कसरी दसैं मनाउनु ?’ उनले भनिन्, ‘विस्थापितको जिन्दगी सधैं खल्लो छ । एक दिन दसैं आयो भनेर अरू रमाएको देखेर मात्र आफू रमाउन्न सकिन्न ।’

शिविर छेवैमा कर्णाली राजमार्ग छ । दसैं मनाउन घर फिर्नेको राजमार्गमा चहलपहल बाक्लो छ । चार किमि पूर्वमा वीरेन्द्रनगर बजार पर्दछ । सबै दसैं तयारीमा व्यस्त छन् । घर रंगरोगनदेखि सरसामान किनमेल गर्न भ्याइनभ्याई छ । यस्तो माहोल देख्दा उनको मन कटक्क हुन्छ । ‘सबैले दसैं–दसैं भनेको सुन्दा मनै कुँडिन्छ । गाउँमा हुँदा नपुग्दो केही थिएन । अरूले जस्तै हाम्ले पनि रमाइलो गर्थ्यौं,’ ३९ वर्षीया सिर्जनाले सुनाइन्, ‘दुई वर्ष बित्यो । अझैं यही ठाउँ बस्नुपर्ने भो । चाडबाड नआए हुन्थ्योजस्तो लाग्छ ।’

शिविरमा वृद्धवृद्धा र बालबालिका मात्र छन् । युवा उमेरका बिदेसिएका छन् । दसैंका लागि अन्यत्रका युवाहरू परदेशबाट गाउँघर फर्कन थाले पनि गिरीघाट शिविरका युवाहरू फर्केका छैनन् । हरिहरपुर गाविसबाट मात्रै एक सयभन्दा बढी परिवार भारत गएको अनुमान छ । आफन्त गुमाएकोदेखि घर, खेतबारी बगरमा परिणत भएको पीडाले गिरीघाट शिविरका विस्थापितको मन अशान्त छ । सरकारले पुनस्र्थापना तथा पुनर्वासका लागि ठोस कार्ययोजना नल्याउँदा शिविरमा कष्टकर जीवन बिताइरहेका छन् । निम्न स्तरको मजदुरी गरेर, गिटी कुटेर यहाँका विस्थापितको गुजारा चलेको छ । भेरी किनारका गाउँबस्तीमा ०७१ साउन २८ र २९ गते आएको भीषण बाढीले बगाएपछि हरिहरपुर गाविसका ७० भन्दा बढी परिवार घनाजंगलको बीचमा त्रिपालमुनि बस्न बाध्य छन् ।

अर्का बाढीपीडित मोतीराम विकलाई पनि दसैं आएको महसुस छैन । उनले जमरा पनि राखेनन् । ‘सुत्ने ठाउँ छैन । कहाँनेर जमरा राख्नु,’ उनले भने, ‘चाडपर्व–रामरमिता एकादेशको कथाजस्तै बन्यो ।’ चाडपर्व पैसा हुने, घरबार हुने, सुख–सयलसँग जिउनेहरूका लागि भएको बुझाइ छ ।

बाढीले विचल्ली बनाएपछि कालापहाड (भारत) पसेका युवाहरूसमेत घर फर्केका छैनन् । ‘जहान (परिवार) अट्ने ठाउँ छैन । त्यसैले युवाहरू आउन मान्दैनन्,’ मोतीरामले भने । बाढीपीडित ललितबहादुर शाहीले अति विपन्न दलित समुदाय बाढीबाट विस्थापित बनेकाले ती परिवारमा दसैंको रौनक छाउन नसकेको बताए । वीरेन्द्रनगर खोर्केलाइनका उनी पनि त्यही सालको बाढीबाट विस्थापित बनेका थिए ।

तेस्रो वर्ष पनि त्रिपालमुनि
गुलरिया– बाढीले घरखेत खोसेपछि जिल्लाका ४३ परिवार गुलरिया–५ रामपुरटप्पुस्थित अस्थायी शिविरमा आइपुगे । तीन वर्षयता उनीहरू त्यहीँ दसैं मनाइरहेछन् ।

स्थानीय जयमाँ दुर्गाभवानी क्लबको मैदानमा आश्रय लिएका बाढीपीडित सरकारले पुन:स्थापना नगर्दा कष्टकर दैनिकी बिताउन बाध्य छन् । पहिले आफ्नै घरआँगनमा नाचगान गरी दसैं मनाउने उनीहरूले शिविर आएयता जमरासमेत राखेका छैनन् । पर्व आउँदा रुन मन लाग्ने रामपुर टप्पुकी गंगा भण्डारी बताउँछिन् । बाढी लगत्तैको वर्ष सरकारी तथा गैरसरकारी निकायले निकै सहयोग गरे पनि दुई वर्षयता कोही फर्केर नआएको उनको दु:खेसो छ ।

तीन वर्षअघि पाएको त्रिपाल छियाछिया भइसकेको छ । गैरसरकारी संस्थाले दिएको त्रिपालमुनि बस्दै आएका पीडितलाई साँझबिहान छाक टार्न धौधौ छ । पहिले दसैंपिच्छे बालबालिकालाई नयाँ लुगा किनिदिने गरे पनि तीन वर्षयता नसकिएको गोविन्द खत्रीको गुनासो छ । घर बाढीले बगाएपछि सरकार र गैरसरकारी संस्थाले केही राहत दिए पनि पुन:स्थापना नगर्दा बिजोग भएको उनीहरूको भनाइ छ । पहिले गाउँघरमा खसी काटेर रमाइलो गरे पनि यसपालि कसरी मनाउने भन्ने चिन्ता रहेको धनबहादुर खत्रीले बताए ।

तीन वर्षअघिको बाढीले बर्दियामा ९३ हजारभन्दा बढी स्थानीय प्रभावित भए । तीमध्ये ३ हजारभन्दा बढीको घर पूर्ण रूपमा र ५ हजारभन्दा बढीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको थियो । पूर्ण विस्थापित बनियाभारका ९८, रामपुरटप्पुका ४३ र बासगढी चेपाङका १ सय ६१ परिवार अस्थायी शिविरमा बस्दै आएका छन् ।

शिविरमा वृद्धवृद्धा र बालबालिका मात्रै
युवा उमेरका सबै बिदेसिए
सुत्ने ठाउँ छैन, कहाँनेर जमरा राख्नु’

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )