मलेसियाबाट डिपोर्ट भएका शाहले एक सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको खुलासा


पक्राउ गरेकाे १८ दिनपछि आतंकवादको आरोप
राजदूतले प्रतिशोध लिए : शाह
– केपी ढुंगाना, काठमाडौं
आश्विन ९, २०७३- इस्लामिक स्टेट (आइएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको देखिएको छ ।१४ वर्षदेखि मलेसियामा होटल व्यवसायमा संलग्न रहेका शाहले नक्कली भिसा लगाएर ठगी गरेको भन्दै परेको उजुरीको अनुसन्धानमा उनले १ सय ५० जनालाई मलेसियाको नक्कली भिसा लगाएको र तीमध्ये १ सय १४ विदेशी नागरिक रहेको खुलेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले जानकारी दिएका छन् ।

‘नक्कली भिसा लगाएर ११ हजारदेखि १५ हजार रिंगेटसम्म लिएको देखिएपछि अनुसन्धान गरेका थियौं,’ बस्नेतले कान्तिपुरसँग भने, ‘त्यसैका आधारमा दूतावासले ७ महिनाअघि मलेसियन सरकारलाई जानकारी गराएको थियो ।’

बस्नेतका अनुसार उनीविरुद्ध ३६ नेपालीले आफू ठगिएको भन्दै दूतावासमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानमा शाहले नेपालीलाई मात्रै नभई अन्य विदेशी नागरिकलाई समेत नक्कली भिसा लगाइदिएर मलेसिया ल्याएको खुलेपछि मलेसियाको आतंकवादसम्बन्धी अनुसन्धान गर्ने ‘एन्टी टेररिस्ट युनिट’ ले अगस्ट १७ मा पक्राउ गरेको राजदूत बस्नेतले जानकारी दिए ।

सोही युनिटले बंगलादेशी, मोरक्कन र मलेसियन नागरिकलाई समेत पक्राउ गरेको थियो । मलेसियन प्रहरीले ३ विदेशीलाई डिपोर्ट गर्दै मलेसियन नागरिकलाई भने अनुसन्धानका लागि हिरासतमा राखेको थियो । शाहलाई १४ दिनसम्म हिरासतमा राखेपछि ‘उसलाई नेपालमै अनुसन्धान गरी कारबाही गर्नू’ भन्दै मलेसियन प्रहरीले दूतावासमा बुझाएपछि नेपाल पठाएको बस्नेतको कथन छ ।

शाहको राहदानी फेला नपरेपछि दूतावासले ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाएको बस्नेतले बताए । नक्कली भिसा लगाएर मलेसिया ल्याएकामध्ये केही व्यक्तिको सम्बन्ध आतंकवादी संगठनसँग देखिएको हुन सक्ने बताउँदै राजदूत बस्नेतले त्यसबारे मलेसिया सरकारसँग जानकारी मागिएको बताए ।

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्षसमेत रहेका शाह ठगीकै अभियोगमा कारबाहीमा परेका थिए । उनीविरुद्ध दूतावास र मलेसिया प्रहरीमा ठगीको उजुरी परेपछि २०१६ अप्रिल २३ मा बसेको एनआरएन मलेसियाको बैठकले उनलाई अध्यक्ष पदबाट हटाएको थियो ।

एनआरएन मलेसियाले उनीमाथि कारबाहीबारे जारी गरेको विज्ञप्तिमा ‘शाह विवादित भएपछि संस्थाको इज्जत र संस्थागत मर्यादाको विशेष ख्याल गर्दै पदाधिकारीको बहुमतले कारबाही गरेको’ उल्लेख छ ।

शाह भदौ १७ मा नेपाल आइपुगेपछि उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरी सार्वजनिक अपराधको अभियोगमा ११ दिन हिरासतमा राखेको थियो । मलेसियास्थित दूतावास अधिकारीले डिपोर्ट गरिएको भने पनि शाहका बारेमा विमानस्थल अध्यागमनमा कुनै रेकर्ड छैन ।

मलेसियन दूतावासको जानकारीका आधारमा पक्राउ गरे पनि अनुसन्धानका क्रममा कुनै पीडित नआएको र दूतावाससँग थप जानकारी माग्दा नआएपछि उनलाई सार्वजनिक अपराध अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको महाशाखाका एसपी सहकुल थापाले कान्तिपुरलाई शनिबार जानकारी गराएका थिए ।

राजदूत बस्नेतले शाहलाई नेपाल पठाउँदा परराष्ट्र मन्त्रालयसँगै गृहको शान्तिसुरक्षा महाशाखा र प्रहरीको अपराध अनुसन्धान महाशाखालाई जानकारी गराएको बताए । ‘उनीमाथि सुरुमा ठगीको आरोप मात्रै रहेकाले त्यो बेला त्यही उल्लेख गरेर पठाएका थियौं,’ राजदूत बस्नेतले भने, ‘त्यसपछि हामीसँग प्रहरीले थप जानकारी माग गरेन ।’

१८ दिनपछि आतंकवादको आरोप
शाह पक्राउ पर्दाताका ठगीकै आरोप भए पनि नेपाल डिपोर्ट भएको १८ दिनपछि मलेसियाको प्रहरीले पत्रकार सम्मेलन गरी ‘नक्कली कागजपत्र बनाएर आतंकवादी संगठनका सदस्यलाई सघाएको’ आरोप सार्वजनिक गरेको थियो ।

सेप्टेम्बर २० मा आयोजित पत्रकार सम्मेलनमा मलेसियन प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले ‘मलेसियनमा होटल सञ्चालन गरेर बसेका ३८ वर्षीय नेपाली नागरिकले नक्कली कागजपत्र बनाएर आतंकवादी संगठनका सदस्यलाई सघाएको देखिएपछि पक्राउ गरी नेपाल डिपोर्ट गरेको’ विवरण सार्वजनिक गरेपछि शाह आईएससँग मुछिएका थिए ।

बकारको पत्रकार सम्मेलनलाई आधार बनाएर अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ ‘मलेसियामा आईएसका सदस्य पक्राउ, नेपाली र बंगलादेशी नागरिक डिपोर्ट’ भएको समाचार सार्वजनिक गरेका थिए । राजदूत बस्नेतका अनुसार प्रारम्भमा शाह ठगीकै आरोपमा पक्राउ परेका हुन् । दूतावासले पनि बकारको पत्रकार सम्मेलनपछि मात्रै आईएससँगको संलग्नताबारे जानकारी पाएको थियो ।

आतंकवादी संगठनको सहयोगीको आरोप लागेका व्यक्ति सार्वजनिक अपराधमा छुटेको खुलेपछि आतंकवादसम्बन्धी अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोले शाहबारे पुन अनुसन्धान सुरु गरिसकेको छ ।

राजदूतले प्रतिशोध लिए : शाह
आतंकवादीलाई सघाएको आरोप लागेका शाहले भने राजदूत बस्नेतले गरेको भ्रष्टचारबारे आफूले खुलासा गरेकाले राजदूतले प्रतिशोध लिएको दाबी गरेका छन् । आतंकवादमा संलग्न नेपाली भन्दै मलेसियन प्रहरीले पक्राउ गरिरहेको तस्बिर आफ्नै भएको उनले बताए । आफूसँगै बंगलादेशी नागरिकलाई समेत राखिएको र ऊ आतंकवादी संगठनको सदस्य देखिएको शाहले बताए ।

‘म पक्राउ परेको हुँ, मलेसियामा १४ दिन हिरासतमा समेत बसेको हुँ,’ शाहले भने, ‘तर म कुनै आतंकवादी संगठनमा आबद्ध छैन, ठगीको आरोप गलत देखिएकैले महाशाखाले सार्वजनिक अपराधको मुद्दा लगाएको हो ।’

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )