कवि श्रवण मुकारुङ र गायक खेमराज गुरुङका किस्सै किस्सा


प्रभाकर गौतम
images-cms-image-000002986श्रवण मुकारुङ र खेमराज गुरुङ सामिप्यमा थिए। गायक गुरुङलाई कवि मुकारुङले यसरी सम्झे–
खेमलाई पहिलो पटक २०५३ सालमा काठमाडौँमै भेटेको हुँ। पुतलीसडकस्थित गायक शम्भु राईको श्रद्धा रेकर्डिङ स्टुडियोमा ऊ एल्बम निकाल्ने सिलसिलामा आएको रहेछ। कवि र गीतकारका रुपमा मेरो सानोतिनो परिचय स्थापित भइसकेको थियो। उसले एल्बम निकाल्न आएको भनेपछि गीत पनि सुनुम् न त भनेँ। लोक शैलीको आधुनिक गीत गर्न लागेको रहेछ। आवाज पनि बोल्ड खालको, उसलाई सुनेपछि प्रतिभावान युवा भेटेझैँ भएको थियो।

हेर्दै लाहुरेजस्तो देखिन्थ्यो, लाहुरेकै छोरो रैछ। विद्यार्थी राजनीतिमा सक्रिय रैछ भन्ने पनि त्यहीबेला थाहा पाएँ। तर उसको त्यो एल्बम सफल भएन। हाम्रो बजारको संरचना नै नयाँ कलाकार एक दुई हन्डर नखाइ स्थापित हुन गाह्रो छ।

म मैतीदेवी मन्दिर पछाडि बस्थेँ, ऊ घट्टेकुलोमा बस्थ्यो। उसले आफ्नै दाइजस्तो श्रद्धा गथ्र्यो। बिस्तारै हाम्रो उठबस हुन थाल्यो।  दोस्रो एल्बमका लागि उसले अझ मिहिनेत गर्यो। त्यही बेलादेखि उसको र मेरो सम्पर्क बाक्लिएको हो। उसले मलाई शब्दहरु मिलाइदिनुस् भन्थ्यो, गीतको मुखडा मात्र छ भने अन्तरा थपिदिनुस् भनेर सहयोग माग्थ्यो। आफैँ शब्द लेख्ने, सङ्गीत भर्ने र गाउने गथ्र्यो। तर एउटै मान्छे सबै काममा ‘पर्फेक्ट’ हुँदैनन्। उसका गीतहरु सामान्य हेरेर ठोकठाक पार्दिने सहयोग गर्न थालेँ।
get_imgऊसँग मेरा अनेक किस्सा छन्। पहिलो किस्सा यस्तो छ। हामी अलि नजिकिएपछि एक दिन उसको कोठामा लग्यो। मासु र रक्सी सामुन्ने राख्यो। पिउँदै गीत सुनाउन थाल्यो। ‘दाइ यसमा सुझाव दिनुस्’ भन्यो। तर उसलाई थाहै थिएन कि श्रवणले पिएपछि एउटा गीत त के एक शब्द पनि लेख्न सक्दैन। एक गिलास परेपछि त मेरो सिर्जनात्मक मुहान बन्दै हुने। धेरैबेर बसेर रमाइलो गरेपछि भोलि बिहान लेखम्ला भन्दै हिँडेको थिएँ।

त्यसपछि त सँगै कति बसियो कति। सँगै बस्यो माहोल बनिहाल्थ्यो। केही लेख्नुस् भन्थ्यो, तर म पिएर लेख्नै नसक्ने। फेरि, ऊ हिट छ, उसले गीत गाओस् भन्ने लोभ ममा पलाउँदै पलाएन। बसेपछि पिइहालिन्थ्यो, बस्यो खायो। थुपै्र खाइयो। सामान्य हिसाबले परिरमार्जन गर्न त सघाउँथे। तर जति उसलाई सहयोग गर्न सक्थेँ त्यो चाहिँ त्यही पिउने बानीले कहिल्यै भएन। जाँडपानी बिना बसेर काम गरेको भए सायद हामीले धेरै काम गथ्र्यौँ कि? उसले मेरो गीत त गाएको छ तर अरुकै सङ्गीतमा। तर साँच्चै दिलै खोलेर, योजना बनाएर काम गरिएन। भेट भयो कि जाँडपानी चलिहाल्ने। ऊ गीत गाउन थालिहाल्थ्यो, म पनि रमाएर गुनगुनाउँथे।

लय, अनुप्रास र छन्द मिलाइदिने काम भने गरेँ। पछि उसले जोकै बनायो ‘खाएर र खुवाएर चाहिँ श्रवण दाइसँग काम बन्दैन।’ यो किस्सा बजारमा चर्चित बन्यो।  यस्ता अनेक भेट र किस्सासँगै हाम्रो सम्बन्ध आत्मीय दाजुभाइ जस्तै घनिभूत बन्यो।

भुल्न नसकिने त्यो किस्सा
यो घटना म कहिल्यै भुल्न सक्दिनँ। म पछि बालुवाटार बस्न थालेँ। भूतपूर्व लाहुरेको हकहितका लागि लड्ने संस्था गेसोको आन्दोलनसम्बन्धी ‘गेसो मुभमेन्ट फर इक्वालिटी’ एल्बमका लागि सबै गीतहरु मैले लेखेको थिएँ। त्यसमा धेरै कलाकारले गाएका थिए। एउटा गीतमा बसन्त मुकारुङको सङ्गीतमा खेमले पनि गायो। हाम्रो काम राम्रो भयो भनेर लाहुरे दाइहरुले पार्टी आयोजना गरे।

get_img (3)पार्टीमा के दिए भन्दा त्यही, रक्सी र बङ्गुरको सितन। म र खेम सँगसँगै मात्तियौँ। गेसोका मान्छेले गाडीमा घर पुर्याइदिन्छु त भनेकै हुन्, तर ‘पर्दैन श्रवण दाइलाई मै पुर्याउँछु।’ भन्दै खेम बुरुक्कै उफ्रियो। जबकी म बालुवाटार सरेपछि ऊ मेरो घर पुगेकै थिएन।

म ऊ भन्दा बढी मातेकोले उसैले ट्याक्सीमा हाल्यो। नारायणगोपाल चोक छेउबाट बालुवाटार प्रधानमन्त्री क्वाटर नजिकैका लागि गुडियो। रक्सीले गर्दा मैले आफ्नै घर बिर्सिएँ। उसले झन् मेरो घरै देखेकै थिएन।
यो ०५९ तिरको कुरा जस्तो लाग्छ। द्वन्द्वकालको समय थियो। राति १० बजिसकेको थियो। मैले दिएको निर्देशनअनुसार ट्याक्सी गुडिरहेको थियो। मैले यता, यता भन्दै प्रहरी कार्यलयतिर पो लगेछु। पुलिसले बन्दुक तेर्साइहाले। सातो गएर मेरो नशा उत्रेला जस्तो भयो। खेमले हतपत भनिहाल्यो, ‘म वारी जमुना पारी जमुना गाउने खेमराज गुरुङ, हामीले बाटो भुलेर हो सर!’ पुलिसले कलाकार भएर राति राति यस्तो समयमा भन्दै तै तै छोड्दियो।

फर्केर आए पनि घर पत्ता लागेन। ऊ भन्दा बढी मै झ्याप रहेछु। पारस मुकारुङ मैतीदेवीमा बस्थ्यो। अनेक चक्कर लाएपछि उसैले पारसकोमा जाने उपाय निकालेछ। पारस उसको साथी थियो। त्यो समयमा १२ सय ५० ट्याक्सी भाँडा तिरेछ उसले।

धेरै वर्ष पनि भएको छैन, एकदिन म सामाखुसी चोकबाट निस्कँदै थिएँ। बिहानको ११ बजेको थियो। चोक छेउको एउटा दोकानबाट ‘ए श्रवण दाइ’ भन्दै खेम निस्क्यो। लाएर पो बसेको रहेछ। मलाई पनि लगेर खाम् कि खाम् गर्यो। बिहानको समयमा खान्न भनेर जत्ति नाइनास्ती गरे पनि उसले बाध्य पार्यो। म हारेँ।

get_img (1)कुरैकुरामा दाइ म त डन पो त भन्यो। खाएपछि ठूलो कुरा गर्छन्, तैले भन्दैमा म कहाँ मान्छु भनेर मैले पनि जोरी खोजे। म पनि मुडमा आइसकेको थिएँ। तँ गायनको पो डन होलास्, अर्को खाले डन होइनस् भनेँ। म उत्तेजित भएपछि उसले म अन्तको नभए पनि सुकेधाराको त डन हो नि दाइ भन्यो। सुकेधारामा उसको घर थियो। त्यहाँ मान्छे तर्साइसकेको छु भन्यो। मैले पनि सुकेधाराको डन होस् भनेचाहिँ लौ मान्छु भन्दिएँ। अनि दुबै मस्तले हाँस्यौँ। अघिसम्म तर्सेका छेउमा बसेका मान्छेहरु पनि बल्ल हाँसे।

यी किस्साहरु म र खेमको सम्बन्ध कतिसम्म आत्मीय थियो भन्ने उदाहरण हुन्। अचम्मको मान्छे थियो। ऊ ठूलो ज्यानको, हाटहुट गर्नेखालको मान्छे भए पनि भित्रबाट कमलो थियो। जाँड खाएपछि भने थर्काउनु पर्ने स्वभाव थियो। अर्को थर्किएन भने चाहिँ ऊ लचिलो बन्थ्यो। कसैलाई बिगार गरुम् भन्ने खालको नभएर एकदम राम्रो भावना भएको हार्दिक मान्छे थियो।

‘वारि जमुना…’ र खेमको सामर्थ्य

मेरो दाबी छ, वारी जमुना पारी जमुना जस्तो अर्को कुनै चर्चित नेपाली गीत छैन। नेपाली संगीतको इतिहासमै यत्तिको सुनिएको गीत छैन। नारायणगोपालको गीत नसुन्ने सुदूरपश्चिममा धेरै होलान् तर त्यहाँ वारी जमुना पुगेको छ। संसारभर जहाँजहाँ नेपाली छन् त्यहाँ यो गीत पुगेकै हुनुपर्छ। प्रत्येक होटल, बार, रेस्टुरेन्ट, बिहाभोज, ब्रतबन्धदेखि मैथिल क्षेत्र र मधेसमा यो गीतमा नाँचेको मैले देखेको छु।

get_img (3)यत्ति धेरै हिट भएकैले मैले उसको ढाक्रे गीति संग्रहको भूमिकामा उसलाई राष्ट्रगायक नै भनेँ। कति जनाले मलाई उडाए पनि। तर, सबै नेपाली यसरी गाएको अर्को को गायक छ र नेपालमा? यति ठूलो सांस्कृतिक हस्तक्षेप गरेको अर्को कुनै गीत छ जस्तो मलाई लाग्दैन। मैले लोकप्रियतालाई मानक बनाएर हेरेको हुँ। हाम्रै बोजुदेखि काठमाडौँका एलिटसम्मलाई नचाएको छ वारी जमुना पारी जमुनाले।

लोकगीत भनेर नखुम्चाऊ। एउटा पुस्तालाई नै प्रभावित पारेको सांस्कृति गीत हो त्यो। सारा नेपालीलाई मानसिक रुपमा हस्तक्षेप र उत्प्रेरित गरेको गीत हो, सबैलाई एउटै मुडमा जोड्ने गीत हो। संगीतले मान्छेलाई अप्रत्यक्ष रुपमा एकतामा बाँधिरहेको हुन्छ। त्यस्तो गीतलाई राज्यले एउटा पुरस्कार दिएन। जबकी यहाँ ऐरे गैरे कलाकारहरुले पटक पटक पुरस्कार पाइरहेका छन्।

मेरो बुझाइमा पूर्वेली लोक भाषिकाहरुसँग राम्रोसँग भिजेर खेल्न सक्नु र लोकगीत बनाउन सक्नु उसको सबैभन्दा ठूलो सामर्थ हो। ऊ हाम्रो लोकजीवनको सौन्दर्यलाई चिनेको मान्छे थियो। त्यस्तो खुबी विरलै नेपाली प्रतिभामा देखिन्छ। लोकगीत सङ्कलन सजिलो कुरा होइन। कतै एक टुक्रा हुन्छ, कतै अर्को टुक्रा, त्यो अपुरो हुन्छ। त्यसलाई समायोजन गर्ने, त्यसलाई इम्प्रोभाइज गर्न पनि सिप चाहिन्छ। त्यसैमा नयाँ सिर्जना गर्न सक्नु त झन् ठूलो खुबी हो। खेममा त्यो गुण थियो।

वारि जमुनाको हकमा मात्र होइन, मैले उसका सार्वजनिक नै नभएका पनि धेरै गीत सुनेको छु। कविता पढेको छु। उसको ढाक्रे सिडीमा मैले कवितात्मक उद्घोषण पनि गरेको छु।
लामो सङ्गतका आधारमा भनेको हुँ। ठाउँका ठाउँ सिर्जना गरिदिन्थ्यो। ऊ कसैले बोकेर माथि पुगेको होइन। लोक चेतना बिछट्टै राम्रो भएको कलाकार थियो। ऊ आधुनिकभन्दा लोक विधातर्फको गम्भीर अध्येता हुन्छु भनेर लागेको भए अर्को वारी जमुना पनि आउँथ्यो होला।

खेमको दोष
सफलता चाखेपछि त्यसलाई टिकाउन हरेक सर्जकले थप मिहिनेत गर्नुपर्ने हुन्छ। त्यो मिहिनेत भनेको साधना र अध्ययन गर्ने नै हो। एउटा स्थान बनाएपछि त्योभन्दा माथि जान थप अध्ययन र चिन्तन नगर्ने हाम्रो संस्कारै छ। यो खेमको मात्र होइन अधिकांश स्रष्टाको कमजोरी हो। ममा पनि यो लागू हुन्छ। अरुण थापाको पनि त्यही हाल भएको हो। बरु, नारायणगोपालको काममा त्यो मिहिनेत देखिन्छ। तर नारायणगोपाल, गोपाल योञ्जनलाई पनि लगेको त रक्सीले नै हो।

एउटा प्रतिभा लिएर आयो, परिचय बनायो अनि त्योभन्दा अघि बढ्न अल्छी गर्नु त नेपाली कला क्षेत्रको विडम्बना नै हो। चरम लोकप्रियताबाट माथि जाने बाटोको खोजी गर्न खेम चुकेकै हो।

क्षमतावान मान्छे हुँदाहुँदै पनि ऊ आफूलाई लेख्ने, गाउने र धुन भर्ने तीनओटै विधामा अब्बल भएको दाबी गथ्र्यो। थोरै मात्र स्रष्टाले आफ्नो सिर्जना यात्राका दुई चार चरण देखाउन सक्छन्। खेमले प्रयत्न त गरेकै हो। तर ऊ वारी जमुनाजस्तै खालको टिपिकल लोक गीत गाउँछु भनेर लागेन। एक समय ऊ आधुनिक गीत गाउँछु भनेर पनि लाग्यो। लोक र सिर्जनात्मक दुबै क्षेत्रमा काम गर्ने रहर गर्यो। तर सफल भएन।

ऊ रसिक मान्छे थियो। सँगै रात बिताउँदा ऊ रातैभर गाएर बसिदिन्थ्यो। गीत गाउँदै गएपछि एउटा दुईटा गाएर नपुग्ने उसको स्वभाव थियो। रेस्टुरेन्ट होस् चाहे उसको कोठामै, गितार लिएर उसलाई तीन चार हुँदै २०, २५ वटासम्म गीत गाउनु पर्ने। जति लामो बस्यो उति धेरै पिइन्थ्यो। साहै्र इमोसनल मान्छे, डुबेर लाग्थ्यो। कहिलेकाहीँ मात्र होइन, सधैं यस्तै बानी।

यही कारण ऊ आफू र परिवारप्रति जिम्मेवार हुन सकेन। कतिबेला खाने, कतिबेला सुत्ने टुङ्गो थिएन। घरका मान्छेभन्दा साथीभाइलाई बढी समय दियो। सङ्गीत र रक्सीलाई ज्यादा माया गर्यो। त्यही भएर श्रीमती र छोराहरु हुँदाहुँदै पनि ऊ एक्लै भयो।

उसको बानी कस्तो भने, हामी काठमाडौँको कुनै रेस्टटुरेन्ट छिर्यौ भने उसलाई नचिन्ने मान्छे हुन्थेन। त्यहाँ वारी जमुना गाउन अनुरोध आइहाल्ने। गायो अनि सबैले वाह वाह गर्ने। अनि ऊ पनि त्यहाँ जति आएका हुन्छन्, ‘लौ आज कसैले तिर्न पाउनु हुन्न म दिन्छु’ भन्दै तम्सिन्थ्यो।
पैसा छैन भने बाँकी राखेर अर्को दिन पैसा पुर्याइदिन्थ्यो यस्तो त सयौँ पटक गरेको होला उसले। पैसा कमाए पनि त्यसको खर्च कसरी गर्ने भन्नेमा ऊ गम्भीर थिएन भन्ने उदाहरण हो यो। यसरी ऊ अव्यवहारिक बन्दै गयो, उसले आर्थिक वा भौतिक सहयोग नगरेका उसका समकालीन गायक, संगीतकार भेट्न गाह्रो छ। एकदमै ठूलो हृदय भएको मान्छे।

यही उदारताले गर्दा कतिले उसलाई ‘मिस युज’ गरे। घरमा यही कारण समस्या पनि आयो होला। सामाजिक जीवन नै उसले असामान्य बनायो। अलि अलि रवाफ पनि देखाउँथ्यो ऊ।

आफूलाई सामान्य नागरिक नै ठानेन। जहिल्यै ठूलो कलाकार सम्झ्यो। जहाँ गए पनि ‘वाह खेम’ भन्ने समय थियो। उसमा त्यसबाट ठूलो भ्रम नै सिर्जना भएको बुझिन्छ। त्यसैले थिचियो।

प्रसिद्ध नभएको कहाँ हो र? तर त्यस्ता मान्छेको पनि निजी जिन्दगी त हुन्छ नि। हरेक नेपालीको जस्तै उसको पनि निजी जीवन हुन्छ भन्ने उसले बिर्सियो। त्यही भएर उसकी श्रीमती सम्पत्ति भएरै पनि हङकङ जानु पर्यो।

ऊ एक्लै बस्ने भएपछि उसको स्वास्थ्य झनै बिग्रनु स्वाभाविक थियो। ऊ अस्वस्थ बन्दै गयो। पहिलाको जस्तो चर्चा नभएपछि उसमा निराशा पनि बढ्दै गएको अनुमान गर्न सकिन्छ। आम्दानी पनि घट्यो होला। खेमले आफ्नो धरातल बुझ्न सकेन। वातावरण र परिवेश आफू अनुकुल बनाउन सकेन।

राजनीतिक फ्रस्टेसन पनि थियो उसमा। पार्टीले पनि ठिक ढंगले म्यानेज गर्दै ल्याएन। उसको योग्यता र क्षमता बुझेको देखिएन। उसले जिल्लाबाट एमालेको तर्फबाट समानुपातिकको सूचीमा उसको पनि नाम पठाएको रहेछ। त्यसलाई केन्द्रले अनुमोदन नगर्दै उसले हामीलाई पार्टी दिएको थियो। तर एक हप्तापछि काँग्रेसले मलाई पो उम्मेदवार बनायो। खास उम्मेदवार आफू हुने अनि रक्सी चाहिँ मेरो पैसाले खाने भनेर जोक नै बनायो। एमालेले ऊ उसको प्रतिभा र भावनाको कदर गरेन। सङ्गीतमा ओरालो, राजनीतिमा असन्तुष्टि र परिवारबाट बिस्तारै एक्लिनुको तेहेरो व्यथामा थियो ऊ।

मेरो अन्तिम भेट
बागबजारमा करिब दुई महिनाअघि उसलाई भेटेको थिएँ। सिक्किमको शिक्षामन्त्रीसँग भेट्न जाने कुरा गरेको थियो। त्यहाँको सम्पदा र पर्यटनको सम्बद्र्धन गर्ने राज्यको अभियान भएकोले त्यो प्रोजेक्टकै वातावरण बनाउन जान लागेको रहेछ। अर्को किताब पनि प्रकाशित गर्ने तयारी थियो।

लामै बसिएको थियो, तर चिया मात्र पियौँ। औषधि खाँदैछु भनेर ऊ ज्ञानी बनेको देख्दा अचम्म पनि लागेको थियो। त्यही भेट नै खेमसँगको अन्तिम भेट हो भनेर आज पत्याउनै गाह्रो भइरहेछ।(नेपालखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )