विदेशी जेलमा ८६३ नेपाली


होम कार्की, काठमाडौं
साउदी अरब– ४१३, मलेसिया २७७, यूएई १००, कतार ४४, कुवेत २५, बहराइन ३, ओमन १
भाद्र १२, २०७३- पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो । त्यसमा तिमल्सिनालाई दोषी ठहर गर्दै अदालतले ब्लडमनीबापत पीडित परिवारलाई तीन लाख साउदी रियाल (झन्डै ८७ लाख रुपैयाँ) दिनुपर्ने फैसला सुनाएको थियो । नेपाली दूतावासले खटाएका प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलमा एक लाख २० हजार रियाल दिनुपर्ने सम्झौता भएपछि एनआरएनए साउदीले रकम संकलन सुरु गरेको थियो ।

यसको चौतर्फी चर्चा हुन थालेपछि प्रधानमन्त्री दाहालले खाडीका जेलमा रहेका नेपालीको यथार्थ बुझ्न चाहे । परराष्ट्र सचिव शंकर बैरागीलाई प्रधानमन्त्रीले सोधे, ‘विदेशका कुन देशमा कति नेपाली जेलमा छन् ?’ त्यसैअनुसार बढी नेपाली जाने देशका दूतावासले जेलमा रहेका नेपालीको तथ्यांक ‘अपडेट’ गरिरहेका छन् ।
जेलमा दुई थरी नेपाली

खाडीका जेलमा श्रम मामिलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन् । फौजदारी मुद्दाका संवेदनशील अभियोगमा पनि वर्षौंदेखि थुनिएका छन् । खाडीका दूतावासहरूले पछिल्लो समय तयार पारेका प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन् । जसमा ८ सय ३३ फौजदारी अभियोगसँग जोडिएका छन् । बाँकी कम्तीमा दुई सय घरफिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर) मा नेपाल आउने दिनको कुराइमा छन् ।

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार फौजदारी अभियोग लागेका ३ सय ८८ नेपाली रियाद र दमाम क्षेत्रका जेलमा छन् । साउदीकै जेद्दास्थित जेलमा २५ जना छन् । यूएईमा एक सय तथा मलेसियामा २ सय ७७ जना जेलमा छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईको अलवातहमा ३३, अलवायरमा २८, अलायनमा १४, सहरीमा १० र बाँकी चार जेलमा १५ नेपाली छन् ।

‘हामी यूएईका आठै जेलमा नेपालीको अवस्था पत्ता लगाउन पुगेका थियौं,’ यूएईका कार्यवाहक राजदूत नेत्रप्रसाद टण्डनले कान्तिपुरलाई भने, ‘हत्याको मुद्दामा मात्रै ११ जना जोडिएका छन् । त्यसबाहेक मादक पदार्थ सेवनमा ३४ र अवैध यौन सम्बन्धमा १८ जना पाइएका छन् ।

कतारको रैयान र सनैयामा ४४ नेपाली छन् । कुवेतमा महिलासहित २५ जना जेलमा छन् । कतारमा चोरीको अभियोग लागेका बढी छन् । कुवेतमा लागूऔषध प्रयोग तथा बिक्री गरेको अभियोगमा बढ्ता छन् । बहराइनमा ३ जना छन् । ‘तीनै जना हत्या अभियोगमा आजीवन काराबासमा परेका नेपाली छन्,’ कार्यवाहक राजदूत खगराज पाण्डेले भने । ओमनमा चोरी गरेको अभियोगमा एक जना जेलमा छन् ।

यसबाहेक घरफिर्ती केन्द्रमा रहने नेपालीको सख्या घटबढ भइरहन्छ । कम्पनीले त्यस देशमा बस्न आवासीय भिसा नलगाइदिएका, नवीकरण नगरेका, कम्पनी छाडेर गैरकानुनी हैसियतमा काम गरेका नेपालीलाई पक्राउ गरी स्वदेश पठाइदिन डिपोर्टटेसन सेन्टरमा राख्ने गरिन्छ । अहिले साउदीको दमाम र रियादमा १ सय २० जना घर जाने प्रतीक्षामा छन् । साउदीका लागि कार्यवाहक राजदूत आनन्दराज शर्माका अनुसार ३ सय ४३ जनालाई विभिन्न जेल तथा डिपोर्टेसनबाट उद्धार गरी स्वदेश पठाइएको छ ।

केही महिनाअघिसम्म मलेसियाको डिपोर्टटेसनमा २ सय ५० नेपाली थिए । कतारमा कम्तीमा ८० जना छन् । कतारबाटै हरेक दिनजसो घरफिर्ती केन्द्रबाट स्वदेश पठाउने गरिन्छ । ‘कागजातविहीन कामदारलाई समात्दै पठाउने क्रम भइरहन्छ । छानबिनमा अभियोग लागेको छ भने मात्रै आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार (रैयान) मा पठाउने हो,’ कतारस्थित नेपाली दूतावासका एक अधिकारीले भने । बहराइनमा भने फिर्तीकेन्द्रमा नेपाली नरहेको पाइएको छ । ‘एक वर्षयता डिपोर्टेसन सेन्टरबाट १२ महिलासहित एक सय ९९ जनालाई स्वदेश पठायौं,’ बहराइनका कार्यवाहक राजदूत पाण्डेले भने । कुवेतमा भने २५ महिला घरफिर्ती प्रक्रियामा सरकारी सेल्टरमा छन् ।
न्यायमा कमजोर पहुँच

जेलभित्र रहेका कमै नेपालीले मात्रै दूतावासको सेवा पाउँछन् । श्रम विवाद सुल्टाउन र क्षतिपूर्ति रकम दिलाउन व्यस्त हुने नेपाली दूतावासहरूले जेलभित्र रहेका नेपालीको हरेक फाइल पल्टाउनै सक्तैनन् । पहिलो त नेपालीविरुद्ध लागेका मुद्दा मामिलाको कागजात जुटाउन दूतावासलाई हम्मेहम्मे नै पर्छ । ‘कूटनीतिक निकायको एउटा सीमा हुन्छ । हामीले यहाँका अदालतले गरेको फैसलाउपर प्रश्न उठाउन मिल्दैन,’ एक कार्यवाहक राजदूत भन्छन्, ‘बरु हामीले आफ्नो नागरिक अन्यायमा परेको हो कि होइन भनेर बढी ध्यान दिएर लबिङ गर्न सक्छौं । हामीले कूटनीतिक च्यानल नै प्रयोग गर्ने हो ।’

जेलमा परेका अधिकांश नेपालीले आफूहरू निर्दोष रहेको दाबी गर्छन् । उनीहरू ‘आफूलाई फसाएको’ भन्छन् । ८० वटा बाख्रा मारेको अभियोगमा साउदी अरबको अलजोफ भन्ने जेलमा रहेका चन्द्रबहादुर श्रेष्ठ भन्छन्, ‘बाख्रा कसरी मर्‍यो मलाई थाहा भएन । तीन वर्षको तलब नदिई पठाउँदै थियो । घर जाने अघिल्लो दिन प्रहरी आएर समात्यो ।’ अदालतले चन्द्रबहादुर र रविकुमार मर्हजनलाई ८ लाख रियाल जरिवाना तिर्न फैसला गरेको छ । साउदीमा यस्ता घटना धेरै छन् । जो अदालतले सुनाएको लाखौं रियाल तिर्न नसकेर जेलमै सडेर बसेका छन् । ‘यस्ता मुद्दामा माफीका लागि सरकारी उच्च तहमा हामीले लबिङ गर्दै नआएको होइन,’ कार्यवाहक राजदूत शर्माले भने, ‘टाढा–टाढाका स्थानमा पनि फलोअप गरिरहेकै छौं । दूतावासको भएको स्रोत, साधनलाई भरपुर प्रयोग गरिरहेका छौं ।’

कानुनी तबरमा लड्न नेपाल सरकारले विदेशस्थित नियोगमा एक जना पनि वकिल राखेको छैन । मुद्दामामिलामा फसेकालाई स्थानीय जनसम्पर्क अधिकृत (पीआरओ) सँग पूर्णरूपमा भर पर्नुपर्ने बाध्यता छ । जेलको भ्रमण गर्नेदेखि जेलमा रहेका नेपालीसँग प्रत्यक्ष सम्पर्कमा रहने पनि पीआरओ नै हुन् । पीआरओको जस्तो सहज पहुँच कूटनीतिक कर्मचारीको हँुदैन ।

कतारस्थित नेपाली दूतावासले नयाँ पीआरओ राख्न धेरै पटक प्रयास गरे पनि निर्धारित सेवासुविधामा चित्त बुझाएर काम गर्ने कर्मचारी पाएको छैन । जसले गर्दा कन्सुलर सेवा निष्प्रभावी बन्दै आएको हो । ‘कूटनीतिक तवरबाट जति सकिन्छ, त्यति गर्ने हो,’ एक कूटनीतिक अधिकृत भन्छन्, ‘कन्सुलर सेवाका लागि खटिने अधिकृतहरू मुद्दा मामिलमा बहसै गर्न जाने कुरा आउँदैन । त्यसमा राज्यले सोच्नुपर्ने हो ।’

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )