मानव तस्करीको नयाँ गन्तव्य चीन


जनकराज सापकोटा, काठमाडौं
भाद्र ७, २०७३- झन्डै दुई महिना चीनको बेइजिङदेखि ग्वान्झाउसम्मका अनेक भाग चहारेर पर्वत धाइरिङका शिवप्रसाद शर्मा भदौ २ मा नेपाल फर्के । यसरी कहिल्यै नाम नै नसुनेका र नेपालीहरूको श्रम गन्तव्यका रूपमा नरहेको चिनियाँ भूमिमा भौंतारिएर फर्किनेमा शिव एक्लो थिएनन् । उनीसँगै करिब एक दर्जन नेपालीसमेत थिए । मानव तस्करको प्रलोभनमा परेर चीन पुर्‍याएपछि अलपत्र पारिएका शिव ७७ दिन लामो भुक्तमानपछि बल्लतल्ल नेपाल फर्किए । शिव आएकै साता मोटो रकम बुझाएर चीनको बाटो हुँदै मकाउ र हङकङ लैजाने आश्वासनमा फसेर महिनौंको बिचल्लीपछि नौ नेपाली पनि गत साता फर्किए ।

नेपालका विभिन्न बिचौलियालाई रकम बुझाएका धेरैजसोलाई भारतको राजधानी नयाँदिल्लीमा बसेर मानव तस्करीको धन्दा चलाइरहेका हर्क भनिने होमबहादुर कुँवरले चीन पठाएको देखिन्छ । तीन महिनाअघि पोखराका शंकर पौडेललाई १० लाख रुपैयाँ नगदै बुझाएपछि उनकै माध्यमबाट शिव हर्कको सम्पर्कमा पुगेका हुन् । हङकङको होटलमा मासिक १ लाख ३० हजार रुपैयाँ आम्दानी हुने वेटरको जागिर लगाइदिने आश्वासनमा परेर शिवले रकम बुझाएका थिए ।

शिवजस्तै मानव तस्करको चंगुलमा परेका अर्का हुन् दोलखा भीमेश्वर नगरपालिका– ६ का शिवराज कार्की । १२ कक्षाको परीक्षा सकेर बसेका शिव र एसएलसी सकेर बसेका उनका भाइ शंकरलाई टर्की पुर्‍याउने भन्दै गौशालामा मेडिकल सञ्चालन गरेर बसेका जीवन भट्टराईले एकमुष्ठ १८ लाख रुपैयाँ बुझे । तर टर्कीको भिसा सम्भव नहुने भन्दै जीवनले मकाउ पुर्‍याइदिने वाचा गरे ।

नक्कली डिमान्ड लेटर तयार पारेर जीवनले शिव दाजुभाइलाई नयाँदिल्ली पठाए । त्यसपछि पर्वतका शिवजस्तै उनीहरू पनि हर्कको सम्पर्कमा पुगे । शिवले सुनाए, ‘हामी त्यहाँ पुग्दा अन्य ६ नेपाली पनि चीनको बाटो हुँदै मकाउ जाने सपना देखेर बसेका थिए ।’ दिल्लीको पहाडगन्जको एउटा होटलमा एक महिना तीन दिनसम्म राखेपछि शिव दाजुभाइ दस दिनको पर्यटक भिसामा थाइल्यान्ड हुँदै चीनको ग्वान्झाउ पुगे ।

हर्कका साथीका रूपमा चिनिएका दार्चुला घर भएका दीपक सिंह सामन्तले शिवसहितका साथीहरूलाई दुई/दुई जनाको दरले विमानस्थलबाट उडाउने काम गरे । हर्ककै आदेशमा ग्वान्झाउमा तीन दिन बसेपछि एक जना भारतीय दलाल आएर शिव सहितका ६ जनालाई रेलमार्ग हुँदै सेन्जेन पुर्‍यायो । अनौठो त के छ भने, हर्कले दिल्ली विमानस्थलबाट उड्ने बेलामा सबैको हातमा दुई/दुई हजार डलर थमाइदिएका थिए । उक्त रकम त्यही भारतीय दलालले लियो । सेन्जेनको होटलमा एक महिना बसेपछि भारतीय दलाल बेपत्ता भयो । त्यसपछि सुरु भयो उनीहरूको दु:खको दिन ।

अनेकौं प्रयत्न र सम्पर्कपछि हर्कले हुसेन भन्ने भारतीय दलालसँग सम्पर्क गराइदिए । हुसेनले ६ नेपालीलाई सेन्जेनको जुवाई भन्ने ठाउँमा बोलाएर अलपत्र पारे । शिवले भने, ‘तीन दिनसम्म रेलवे स्टेसनमै उनलाई पर्खेर बस्यौं ।’ हर्कले फेरि एन्टाई भन्ने ठाउँ जान अह्राए । त्यहाँ एक रातसम्म पर्खेपछि हुसेन अन्य दुई तिब्बती र एकजना चिनियाँ लिएर आए ।

हुसनेकै आदेशमा माछा प्याकिङको काम गर्ने र मासिक १४ सय आरएमबी आम्दानी हुने भन्दै चिनियाँको साथ लागेर शिवको टोली हिँड्यो । शिवले भने, ‘जंगलको बीचमा दुई/तीन वटा घर भएको अनकन्टार ठाउँमा पुर्‍याएपछि चिनियाँले स्विटर बुन्ने काम लगायो ।’ पाँच दिनसम्म काम गरेपछि चिनियाँले उनीहरूलाई राख्न नसक्ने भन्दै फकाइदियो । त्यसपछि झन् बिचल्ली भयो ।

अनेक ठाउँमा लुक्दै, रेलवे स्टेसनमा रात बिताउँदै शिव आफ्ना भाइलाई लिएर बेइजिङस्थित नेपाली दूतावास पुगे । दलालको चंगुलमा परेर आश्रयको खोजीमा पुगेका अन्य तीन नेपाली पनि त्यहीं थिए । दूतावासले उनीहरूलाई घर फिर्तीको पहल थाल्न दोभाषेको साथ लगाएर अध्यागमनमा पठाइदियो । ओभरस्टेबापतको शुल्क तिर्न नसक्ने भएपछि उनीसहित ६ नेपाली १६ दिन जेलमा परे । शिवले सुनाए, ‘जेलमा पहिल्यै ७ नेपाली थिए ।’ परिवारका सदस्यले ५७ हजार रुपैयाँ खर्चेर दुईवटा टिकट काटिदिएपछि उनी भाइलाई लिएर नेपाल फर्किए ।

शिव आएको दोस्रो दिनै पर्वतका शिव कार्की र बागलुङ गलकोटका बाबुराम चालिसे पनि उसैगरी महिनौंको दौडधुप, बेठेगानका हिँडाइ र जेल यात्रा भोगेर काठमाडौं आइपुगे । जनही ९ लाख रुपैयाँ फसाएका कार्की अब कसरी न्याय पाइएला भन्ने रनभुल्लमा छन् । उनीजस्तै रनभुल्लमा छन् दोलखाका शिव पनि । उनले भने, ‘आफ्नो र मामाको जग्गा धितो राखेर लाखौं रुपैयाँ निकालियो । उठीबास लाग्यो ।’

दोलखाका शिवले दलाल जीवनसँग रकम मागिरहेका छन् । जीवन भने भागीभागी हिँडिरहेका छन् । कान्तिपुरसँग सम्पर्कमा आएका जीवनले आफूले रकम नलिएको दाबी गर्दै भने, मैले त हर्कसँग चिनजान मात्रै गराइदिएको हुँ ।’ जीवनका अनुसार शान्तिनगरमा इदी मेनपावर खोलेर बसेका दीपकमार्फत शिव दिल्लीका हर्कको सम्पर्कमा पुगेका हुन् । दोलखाका कार्की निराश हुँदै भन्छन्, ‘दलालको चंगुलमा परेर मेरो उठीबास भयो ।’

दोलखा र पर्वतका शिव जस्तै चितवन टाँडीका नारायणबाबु नेपाल दलालको चंगुलमा परेर चीनमा अलपत्र परे । दस दिनको पर्यटक भिसामा चीन जानेमा नारायणको टोलीमा अन्य १८ नेपाली थिए । तर फरक के भने उनीहरू काठमाडौंकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको कुनमिङ, सेन्जेन हुदै छेन्दु पुर्‍याइएका थिए ।

अनेकन हन्डर, भागाभाग र संकटपछि उनी अन्य दुई जनासँग दुई साताअघि नेपाल फर्के । उनीसँगै गएका अन्य १५ मध्ये कोही जेलमा र कोही लुकेरै चीनका विभिन्न ठाउँमा बसिरहेका छन् । नारायणले जस्तै अधिकांशले दोलखा घर बताउने सीताराम पराजुलीलाई जनही सात लाख रुपैयाँ बुझाएका थिए । उनका अनुसार केहीले भने दस लाख रुपैयाँसम्म बुझाएका छन् । गोपाल सिवाकोटी नामका एजेन्टले नारायण लगायतको समूहलाई विमानस्थलमा बिदाइ गरेका थिए ।

नारायणले दलालको झुटो वाचामा परेर चीन पुगेकाहरूले भोगेको बिचल्ली बताइनसक्नु रहेको बताए । उनले एकपछि अर्को दलालको भरमा ठाउँ सर्दै लुकीलुकी हिँड्नुपर्ने बाध्यता बताए । उनका अनुसार रामेछापका हरि थपलिया, काठमाडौंका फुर्वा शेर्पा, गोर्खाका मिलन श्रेष्ठलगायत व्यक्ति दलालको पासोमा एकैचोटि परेका थिए । गैरआवासीय नेपाली संघ र बेइजिङस्थित दूतावासको सहयोगमा आफैं टिकट काटेर फर्किएका नारायणले यो हन्डरमा दस लाख रुपैयाँ गुमाए । कपडा प्याकिङको काम गर्ने र मासिक एक लाख रुपैयाँभन्दा धेरै कमाउने नारायणको सपना दलालको चंगुलमा परेर टुक्रियो । उनले भने, ‘म जस्तै अरू कोही पनि नेपाली ठगीमा नपरोस् । यस्तो सास्ती कसैले खेप्नु नपरोस् ।’

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )