२८ हजारको खातामा अनुदान


पहिलो किस्ताको ५० हजार अनुदान जम्मा
11072016104541vukampaa-ra-nawa-nirman-1000x0असार २७, २०७३- आइतबारसम्म २८ हजार ८ सय २७ भूकम्पपीडितको खातामा घर बनाउन ५० हजार रुपैयाँ जम्मा भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना कार्यान्वयन इकाईको समन्वयमा यो रकम पीडितको खातामा जम्मा भएको हो । हालसम्म दुई लाख २ हजार २ सय ७९ पीडितसँग अनुदान सम्झौता भएको छ । पीडितको खातामा रकम जम्मा भएपछि वर्षापछि उनीहरूले घर बनाउन सुरु गर्ने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । गोरखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, ओखलढुंगा, रसुवा र सिन्धुलीका पीडितका खातामा पहिलो किस्ताको ५० हजार अनुदान जम्मा भएको प्राधिकरणको भनाइ छ । बाँकी पीडितको खातामा रकम तीव्र गतिमा रकम जम्मा हुने प्राधिकरणको दाबी छ । काभ्रेलगायतका जिल्लामा पीडितले खाता नखोल्दा राहत जम्मा गर्न कठिनाइ भएको छ । गोरखाबाट सुदीप कैनी, धादिङबाट हरिहरसिंह राठौर, काभ्रेबाट नगेन्द्र अधिकारी, दोलखाबाट राजेन्द्र मानन्धर र सिन्धुलीबाट राजकुमार कार्कीको रिपोर्ट :

बारपाकबाट वितरण
गोरखा– भूकम्पको केन्द्रविन्दु बारपाकका एक हजार एक सय ३७ पीडितको खातामा मनासलु विकास बैंकले असार ७ मा रकम जम्मा गरिदिएको छ । बैंकका कर्मचारीले बारपाक नै पुगेर स्थानीय गोपाल विकलाई पहिलो किस्ताको ५० हजार हस्तान्तरण गरेका छन् । विकको घर गत वैशाख १२ मा राष्ट्रपतिले शिलान्यास गरेकी हुन् । बैंकका प्रबन्धक दुर्गाराम पुरीका अनुसार बारपाकका अन्य १५ जनाले खाताको रकम झिकेका छन् । वर्षाको समय भएका कारण रकम लिन पीडितहरू बैंकको सम्पर्कमा नआएको उनको भनाइ छ । भूकम्पपीडितहरूले अनुदान रकम गाउँमै आएर उपलब्ध गराउनुपर्ने माग गरेका छन् । अनुदानको रकम किस्ता–किस्तामा लिन पटक–पटक सदरमुकाम जान झन्झटिलो र खर्चिलो हुने पीडितहरूको गुनासो छ । तीन महिनाअघि सुरु भएको भूकम्पपीडितसँगको अनुदान सम्झौता अन्तिम चरणमा पुगेको छ ।

जिल्ला विकास समितिले ५८ हजार पाँच सय तीन जनामध्ये ४५ हजार दुई सय ४३ जना भूकम्पपीडितसँग सम्झौता सकिएको जनाएको छ । सबै गाविस र नगरपालिकाका वडाहरूको सम्झौता कार्य भइरहेको जिल्ला प्राविधिक कार्यालय प्रमुख सहदेवबहादुर भण्डारीले बताए । ‘असार मसान्तभित्रै सबै पीडितसँग सम्झौताको काम सक्ने लक्ष्य लिएका छौं’, उनले भने । १३ हजार दुई सय ६० लाभग्राहीसँग सम्झौता गर्न बाँकी थियो । तान्द्राङ, ताप्ले, श्रीनाथकोट गाविसका पीडितहरूले लाभग्राही सूचीमा नाम छुटेको भन्दै सम्झौता गर्न मानेका थिएनन् । छुट भएका पीडितहरूको गुनासो संकलन गरेर सम्झौता प्रक्रिया अघि बढेको भण्डारीले बताए । तीन महिनाको अवधिमा ८० प्रतिशत लाभग्राहीसँग सम्झौता सकिएको भूकम्प पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका अधिकृत गुणराज भट्टराईले जानकारी दिए । ५६ गाविस र दुई नगरपालिकामा अनुदान सम्झौता सकिएको छ । ‘ती गाविसमा केही पीडित विविध कारणले सम्पर्कमा आएका छैनन्’, उनले भने, ‘जहिले पनि सम्पर्कमा आएर सम्झौता गर्न सकिन्छ ।’ हिमालपारिका भनेर चिनिने दुर्गम गाविसमा समेत सम्झौता सकिएको छ ।

गाविस सचिवसँग सम्झौता गरिसकेका १० हजार ५ सय ६९ पीडितको खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ पठाएको जिविसले जनाएको छ । अनुदान रकम पीडितसम्म पुर्‍याउन गाविस छुट्याएर विभिन्न बैंकलाई जिम्मेवारी तोकिएको छ ।

सम्झौता अन्तिम चरणमा पुग्दा १५ हजार दुई सय ४८ पीडितले गुनासो दर्ता गराएका छन् । गुनासो व्यवस्थापन गर्न कुनै प्रक्रिया अघि बढेको छैन । अधिकांश गुनासो भूकम्पपीडित लाभग्राही सूचीमा नाम छुटेको भन्दै दर्ता भएका हुन् । नामावलीमा नाम भएमात्रै गाविससचिवसँग अनुदान सम्झौता गर्न पाउने र घर निर्माणका लागि पहिलो किस्ताको रकम पाउने प्रावधान छ ।
धादिङमा साढे १२ करोड निकासा
धादिङ– सम्झौता गरेको करिब ३ महिनापछि ३ गाविसका भूकम्पपीडितलाई दिइने अनुदान रकम बैंकमा निकासा गएको छ । जिल्ला विकास समितिले ३ गाविसका २५ सय ९५ घरधुरीको सूचीसहित खाता सञ्चालन गरी रकम वितरण गर्न १२ करोड ५७ लाख ५० हजार रकम निकासा गरेको छ ।
‘सम्झौता भई निकासा भएका गाविसहरू बसेरीका ८ सय ८६ घरधुरीलाई ४ करोड ४३ लाख, मार्पाकका ५ सय ३२ घरधुरीलाई २ करोड ३६ लाख, र कटुन्जेका १ हजार ९७ घरधुरी लाई ५ करोड ४८ लाख ५० हजार रकम निकासा भएको छ,’ जिविस सूचना अधिकृत भोला गौतमले बताए । रकम वितरण गर्न बैंकहरूमा निकासा भए पनि आवश्यक कागजातको अभावमा भूकम्पपीडितहरू खाता
खोल्न नआएको हुन सक्ने जिविसले जनाएको छ । जिल्लाका ४६ गाविस र एक नगरपालिकामध्ये ११ गाविसमा अझै सम्झौता सम्पन्न भएको छैन । १८ वटामा चालू छ । छत्रेदेउराली र बैरेनीमा आन्दोलन र सेर्तुङ गाविसमा आधा घरधुरीको नाम छुटेको भन्दै सम्झौता स्थगित गरिएको छ । बाँकी १३ गाविसमा पनि सम्झौता प्रक्रिया सुरु गर्ने र ५ गाविसमा अझै केही समय लाग्ने अधिकृत गौतम बताउँछन् ।
निकासा भयो, खाता छैन
काभ्रे– सरकारी कार्यलयबीच समन्वय अभावका कारण भूकम्पपीडितले आवास अनुदान बापतको ५० हजार पाउन ढिलाइ भइरहेको छ । रविओपी गाविसका ७ सय ८४ घरधुरीका लागि ३ करोड ९२ लाख निकासा भए पनि भूकम्पपीडितको तथ्यांक उपलब्ध नहुँदा बैंक खाता खोलिएको छैन ।
जिविसले रविओपीका लाभग्राहीलाई राष्ट्रिय वाणिज्य बैंक बनेपा शाखाबाट भुक्तानी हुने गरी व्यवस्था गरेको थियो । शाखा प्रबन्धक मुरारीप्रसाद दंगालले विवरण उपलब्ध नहुँदा बैंकले अझै खाता नखोलेको बताए । ‘हामीलाई कसैले विवरण नै दिएको छैन, कसरी खाता खुल्छ,’ उनले भने, ‘विवरण आएपछि एकमुष्टमा खाता खोलेपछि मात्रै रकम भुक्तानी दिन सकिन्छ ।’ असार मसान्त भएकाले साउनको पहिलो हप्ताबाट मात्रै भूकम्पपीडितलाई रकम दिन सकिने उनले बताए ।

जिल्ला विकास समितिका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले जिल्ला दैवीप्रकोप उद्धार समितिले तोकेको बैंक’bout राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्बन्धितलाई जानकारी नगराउँदा समस्या भएको बताए । ‘प्राधिकरणले तोकेको गाविसबाहेक थपमा हामीले बैंक तोकेर जानकारी गराएका थियौं, प्राधिकरणले बैंकहरूलाई जानकारी नदिँदा समस्या भयो,’ उनले भने, ‘अद्यावधिक विवरण पठाएपछि एकमुष्टमा खाता खोलिन्छ ।’ जिल्लामा ३१ बैंकले सेवा दिने गरी कार्यक्षेत्र तोकिएको छ ।

जिल्ला विकासले ढिला गरी असार २१ गते मात्रै रविओपीका लागि भुक्तानी आदेश दिएके थियो । विवरण रुजु गरेपछि कोष तथा लेखा नियन्त्रण कार्यलयले २४ गते चेक बनाएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कम्प्युटर सिस्टममा रविओपी गाविसका भूकम्पपीडितको विवरण नहुँदा रकम जान ढिलाइ भएको हो । जिविसले ८ सय ३ भूकम्पपीडितका लागि भुक्तानी आदेश दिए पनि ७ सय ८४ को विवरणमात्रै रुजु भएको छ । प्राविधिक समस्या भएका ११ को नाममा कोलेनिकाले रकम पठाएको छैन । विवरण नमिलेको हकमा बैंकमा पैसा जम्मा गर्न नसकिएको प्रमुख कोष नियन्त्रक रामबहादुर खड्काले जानकारी दिए । यसअघि पनि बजेटको शीर्षक नमिलेका कारण भुक्तानी रोकिएको थियो । जिविसले भुक्तानी आदेश दिएपछि मात्रै कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित गाविसमार्फत लाभग्राहीको खातामा पैसा पठाउँछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यलय धुलिखेलका प्रमुख सुमनकुमार दाहालले खाता नखोलिएको ’bout आफूलाई जानकारी नभएको बताए । ‘त्यसमा प्राधिकरणको भूमिका हुँदैन, जिल्ला परियोजना कार्यन्वयन इकाईले काम गर्ने हो,’ उनले भने, ‘हाम्रो काम समन्वयको मात्रै हो ।’ आइतबारसम्म ४५ गाविसका १५ हजार ४० लाभग्राहीसँग सम्झौता भइसके पनि एक जनाको हातमा पनि अनुदानको रकम परेको छैन ।
दोलखामा ८ हजारले पाए
दोलखा– सम्झौता गरेका भूकम्पपीडितहरूले अनुदानको रकम झिक्न १४ वटा बैंकहरू तोकिएको छ । हालसम्म जिल्लामा ८ हजार भूकम्पपीडितको खातामा राहत रकम जम्मा भएको छ ।
उनीहरूका लागि ४२ करोड भुक्तानी दिन बैंकहरूमा रकम पठाइसकिएको जानकारी स्थानीय विकास अधिकारी (एलडीओ) विष्णुप्रसाद शर्माले दिए । भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी जिल्ला संयोजक एलडीओको संयोजकत्वमा बसेको बैठकले भौगोलिक आधारमा काम गर्नेगरी बैंकहरूलाई भुक्तानी दिन कार्यक्षेत्र तोकिएको हो । त्यसैगरी कारितास नेपाललाई बुलुङ र ओराङ गाविसका भूकम्पपीडितहरूलाई अनुदान रकम भुक्तानी गर्ने जिम्मा दिइएको छ । भूकम्पीय आवास पुनर्निर्माण आयोजना कार्यान्वयन इकाईका अनुसार असार मसान्तसम्ममा दोलखाका २१ हजार भूकम्पपीडितले बैंकबाट पहिलो किस्ता बुझ्ने अनुमान गरिएको छ । त्यसबेलासम्म थप ६३ करोड रकम बंैकमा जाने बताइएको छ ।
अनुदान सम्झौता हुँदै
सिन्धुली– भूकम्पपीडितका घर निर्माणका लागि अनुदान सम्झौता गर्न ठूलो संख्यामा कर्मचारी परिचालन भएका छन् । जिल्लाका ५० गाविस र दुइटा नगरपालिकामा कर्मचारी परिचालन गरिएको हो । हरेक गाविसमा अनुदान सम्झौता गर्न सचिवलाई सघाउने उद्देश्यले तीन जनाका दरले कर्मचारी परिचालन गरिएको जिविस सिन्धुलीले जनाएको छ ।

भूकम्पीय पुनर्निर्माण जिल्ला आयोजना प्रमुख तथा स्थानीय विकास अधिकारी (एलडीओ) ईश्वरकुमार गिरीका अनुसार परिचालन भएका कर्मचारीले सम्झौता फारम भर्ने, गुनासो दर्ता गर्ने र कम्प्युटर डाटा अपडेट गर्नेछन् । उनका अनुसार तीन दर्जनभन्दा बढी गाविसमा संझौताको काम सुरु भइसकेको छ । केही गाविसमा सचिव अभावले काम हुन सकेको छैन ।

‘काम सबै गाविसमा सुरु भइसक्यो,’ उनले भने, ‘केही गाविसमा सचिवहरूले नभ्याएर सुरु भएको छैन, साउनको पहिलो साताबाट सबै स्थानमा सुरु हुन्छ । विकासे बजेटसमेत खर्च गर्नुपर्ने र फस्र्योटसमेत हुने भएकाले केही दिन ढिलो भएको हो ।’ एलडीओ गिरीले भने, ‘अब अनुदान सम्झौता भई धमाधम घर निर्माणको कार्य सुरु हुनेछ ।’ कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा समेत कर्मचारी परिचालन गरी अनुदान सम्झौता चाँडै सुरु हुने उनको विश्वास छ । प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीका अनुसार कर्मचारीहरू गाउँमा रहन थालेपछि लाभग्राही अनुदान सम्झौता गर्न सबै गाविस तथा नगरपालिकामा आउन थालेकाले पुनर्निर्माण अब द्रुत गतिमा अघि बढ्ने छ ।

‘गुनासो पनि बाक्लै आएका छन्, तिनको पनि छानबिन गर्नुपर्छ, अनुदान सम्झौतालाई द्रुत गतीमा अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘अब सचिव गाउँमा बसेर पुनर्निर्माणको काम नगरे कारबाही गरिन्छ ।’ जिल्ला पछिल्लो तथ्यांकअनुसार घर निर्माणका लागि अनुदान पाउनेको संख्या ३४ हजार रहेको छ भने १५ हजार गुनासो दर्ता भएका छन् । झाँगाझोली रातमाटा गाविसका एक हजार १ सय २१ जना पीडितले पहिलो किस्ताबापत ५० हजार रकम बुझेका छन् ।
१ हजार ८ सयको खातामा रकम
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका ४० हजार ५ सय ९८ भूकम्पपीडितले आवास सम्झौता गरेकामा १ हजार ८ सय १६ जनाको खातामा ५० हजारका दरले रकम उपलब्ध गराइसकिएको छ । जिल्लामा अनुदानका लागि ९ करोड ८ लाख निकासा भइसकेको छ । पुनर्निर्माण प्राधिकरणको समेत जिम्मेवारी पाएको चौतारा नगरपालिकाका कार्यकारी प्रमुख भुवनेश्वर लामिछानेका अनुसार ७८ हजार ५ सय ३५ परिवारलाई अनुदान दिन अन्तिम सूची प्रकाशित भइसकेको छ । यस्तै अनुदान सूचीमा नाम छुटेको भन्दै ९ हजार एक सय ७८ जनाले गुनासो दर्ता गराएका छन् । २४ गाविसमा अनुदान सम्झौता पूरा भएको छ । सबै परिवारलाई काठ उपलब्ध गराउन करिब २ लाख क्युबिक फिट आवश्यक पर्ने जानकारी वन अधिकृत सापकोटाले दिए ।

यसैगरी सरकारले निजी आवास निर्माणका लागि भूकम्पपीडितलाई आइतबार काठ वितरण सुरु गरेको छ । वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले चौतारा नगरपालिकाका दुई परिवारलाई २५–२५ क्युबिक फिट काठ हस्तान्तरण गरेर यसको सुरुवात गरेका हुन् । उनले सर्वे तामाङ र दीपक
श्रेष्ठलाई काठ वितरण गरेका थिए । उक्त अवसरमा वन मन्त्री सापकोटाले पीडितलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )