जय आले, कुवेत
२७ जुन २०१६ । नेपाल मगर सँघ पाल्पा शाखालाई कुबेत मगर संघले संस्थागत विकासमा टेवा पुगोस भनी आर्थिक सहयोग पठाएको छ ।
मगर संघ कुवेतले पठाएको कोशेली र दश हजार रुपियाँ नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष तथा बरिष्ट पत्रकार नवराज पन्थीले मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहालाई हिजो आइतबार तानसेनस्थित कार्यालयमा पुगेर हस्तान्तरण गर्नुभयो । मगर संघ पाल्पाको संस्थागत विकास र कार्यालय खर्च संचालनका लागि कुवेतको मगर संघले पठाएको रकम आफूले पुलको रुपमा काम गरेर मगर संघ पाल्पालाई हस्तान्तरण गरेको पत्रकार पन्थीले बताउनुभयो । पन्थीले सहयोग हस्तान्तरणपछि कुवेतमा बैदेशिक रोजगारीमा रहेका मगर समुदाय र मगर संघ पाल्पाबीच सुमधुर सम्बन्ध कायम रहन सहयोग मिल्ने बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहामगरले कुवेतमा रहेको मगर समुदायले पसिना बगाएर संकलन गरेको रकम पाल्पा मगर सँघले पारदर्शी ढंगले संस्थाको विकासमा लगानी गर्ने बताउनुभयो । उहाँले भवन निर्माण तथा लखन पार्क निर्माण जस्ता कार्यमा आर्थिक अपुग रहेको जनाउँदै कुवेत मगर संघले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । अध्यक्ष गाहाले आगामी दिनमा पनि कुवेत मगर संघलाई सहयोग जारी राख्न आग्रह गर्नुभयो । उहाँले कुवेतको मगर संघ र पाल्पा मगर संघबीचको सम्बन्ध गाढा बनाउन पुलको काम गर्नुभएकोमा पत्रकार पन्थीलाई बिशेष धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष जहरसिंह सारुमगर, मगर महिला संघकी अध्यक्ष प्रतिक्षा सिंजालीमगर, आदिवासी जनजाति पत्रकार महासंघका पञ्चिमाञ्चल संयोजक देव पचभैँया मगर, नवसंवाद साप्ताहिकका सम्पादक रेखी राम रानामगर समेतको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष बलबहादुर गाहाको सभापतित्व र सचिव रामबहादुर गरम्जाको संचालनमा सम्पन्न भएको थियो ।
मगर सँघ कुवेतले पनि पत्रकार नवराज पन्थीलाई धन्यवाद ज्ञापन गरेको छ । गत वर्ष समेत पन्थीले पाल्पा मगर सँघले पठाएको १४ थान पाल्पाली ढाका टोपी र मायाको चिनो कुवेत मगर सँघलाई हस्तान्तरण गर्नु भएको थियो भने एक बिशेष समारोहबीच कुवेत मगर सँघले वहाँलाई सम्मान गरेको थियो ।