होम कार्की
असार १२, २०७३- अफगानिस्तानस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत ४० नेपाली आइतबार नेपाल फर्कँदै छन् । गत सोमबार काबुल आक्रमणमा परि १३ नेपालीको मृत्यु भएपछि सुरक्षाको प्रत्याभूति तथा तलब वृद्धिको माग गर्दै आएका नेपालीलाई जिफोरएसले नेपाल पठाउन लागेको हो।अफगानिस्तानमा कार्यरत पोखराका सत्यराज सापकोटाका अनुसार स्थानीय समय अनुसार बिहान ६ बजे १० जना र साढे ९ बजे ३० जना नेपालीलाई नेपाल फिर्ता पठाइँदै छ ।
उनीहरुलाई जिफोरएसले नेपाल पठाउँदै छौं भन्ने मात्रै जानकारी दिएको सापकोटा बताउँछन् । उनले भने, ‘साथीहरुलाई कहाँबाट कसरी र कुन बिमानबाट नेपाल पठाउन लागिएको हो केही जानकारी दिइएको छैन । मात्रै नेपाल पठाउँछौं भनेका छन् ।’
सापकोटाका अनुसार नेपालीहरु भारत हुँदै नेपाल पठाइन लागेको छ । सापकोटाले भने, ‘उनीहरु राति १० बजे नेपाल पुग्छन् ।’
४० जना नेपालीमा गएराति सुपरभाइजर र सिनियर लेभलका नेपाली सुरक्षाकर्मीमाथि हातपात गर्नेहरु रहेका छन् । सापकोटाले भने, ‘हामीलाई एकहप्ता भित्र पठाउने भनेको थियो । तर हिजो रातिको घटनाले आज नै पठाउन लागेछन् ।’
सापकोटाका अनुसार जिफोरएसले पठाउन लागेको ४० नेपालीलाई दिनुपर्ने तलब रकम पनि नदिइकन पठाउन लागेको बताए । उनले भने, ‘एकहप्तामा सबै हिसाबकिताब गरेर पाउनुपर्ने रकम दिन्छौं भनेका थिए । तर अहिले त्यो पनि नदिकन पठाउन लागेका छन् ।’
सापकोटाले दिएको जानकारी अनुसार नेपाल पर्कन लागेका नेपालीमा अधिकांश सुरक्षाको प्रत्याभूतिको माग गर्ने र ८ सय ५० बाट कम्तीमा १ हजार ५० डलर पुर्याउनुपर्छ भनेर जोडदार माग गर्ने सुरक्षाकर्मी परेका छन् । उनले भने, ‘आफ्ना माग उठाउनेलाई नै लक्षित गरेको जस्तो देखिएको छ ।’
जिफोरएसले काबुलमा ‘जिफोरएस सेक्युर सेलुसन, अफगानिस्तान’मार्फत बेलायतको दूतावास, कुटनीतिक कर्मचारी, बेलायती नागरिक, कमनवेल्थ कार्यालय (एफसिओ)को सुरक्षा गर्न एकसय मिलियन डलरको ठेक्का पाएको उसको अफिसियल वेबसाइटमा उल्लेख गरेको छ ।
(कान्तिपुर )