बिना तलब ऊँटको पछिपछि


होम कार्की, दोहा (कतार)
12062016072504camel-1000x0जेष्ठ ३०, २०७३- गुल्मी पल्लीकोट–४, ढाँपका टेकबहादुर रासकोटी शुक्रबार बिहान ११ बजेतिर सम्पर्क गर्दा ‘हावात’ (ऊँटले पिउने पानी राखिएको ट्यांकी) मुनि बसिरहेका थिए । भन्दै थिए, ‘तातो घामबाट फिरेकाले टाउकोबाट पसिनाको धारा छुटिरहेछन् ।’ रनक्क रन्किएको घामबाट छहारीमात्रै पाउँदा पनि ठूलो राहत मिलेको थियो ।

‘भर्खरै ऊँटलाई पानी खुवाउन लिएर आएको थिएँ,’ फोनमा बोले, ‘सबै ऊँट आइसकेका छैनन्, बाँकी ऊँटलाई सुडानी साथीले धपाउँदै लिएर आउँदैछ ।’ उनका अनुसार बिहान ५ बजे ऊँट फुकाएर लगिएको थियो । सबै ऊँटको खुट्टामा डोरीले बाँधिएको थियो, हिँड्न मिल्ने गरी । बेपत्ता दौडियो भने फेरि समात्न उनीहरूलाई मुस्किल पर्छ ।

सबैलाई पालोपालो खोरभित्र हुले । एउटा बूढो ऊँट अलि परै रोकिएर बसेको थियो । ऊँटको कुर्कुच्चामा डोरी अल्झिएपछि हिँड्न सकेको थिएन । सुडानी गएर फुकाउन खोजे । एक्लैले सकेनन् । रासकोटीलाई बोलाए ।

‘एकछिन है,’ फोन अनमै राखेर दौडिए उनी, ‘सवर सवर… ।’

रासकोटीले ऊँटको खुट्टा उचालिदिए । सुडानीले तलबाट तानिदियो । त्यसपछि ऊँट फुरुङ्ग उफ्रँदै आफ्नो खोरतिर दौडियो ।

रमाउँदै खोरतिर ऊँट दौडिएर गयो । सुडानी त्यसको पछिपछि लाग्यो । एकछिन अघिको जस्तो स्पष्ट बोली रासकोटीको थिएन । लरबरिन थाल्यो । गला बस्यो । सकी नसकी फोनमा
भन्दै थिए, ‘एकछिन डोरीमा अल्झिएको ऊँट स्वतन्त्र हुँदा त यस्तो रमाउँदै आफ्नो खोर जान्छ । म त १६ वर्षदेखि यो मरुभूमिको बन्धनमा परेको छु ।’

एकछिन मरुभूमिको हावाले उनको आवाजलाई उडाइदियो । ‘कहिलेकाहीँ लाग्छ,’ अड्किएको आवाज सुनिन थाल्यो, तर भावुक शैलीमा, ‘म त ऊँटभन्दा पनि निम्नस्तरको जनावरजस्तो लाग्छ । बरु यसको मूल्य छ । मेरो कुनै मूल्य छैन । ऊँटलाई स्याहारसुसार गर्न आइपुगेको एउटा मानवका रूपमा रहेको जनावर मात्रै हो जस्तो लाग्छ ।’

उनी साउदी अरब छिर्दा २२ वर्षका युवा थिए, जसको भर्खरै जन्मेको तीन महिने छोरो थियो । सुत्केरी भएर २१ वर्षीया श्रीमती धनकुमारी माइत गएकी थिइन् ।

त्यही बेला काठमाडौंस्थित गोल्डेन इन्टरनेसनल म्यानपावरले भिसा लागेको खबर पठायो । तुरुन्तै काठमाडौं बोलावट भएपछि सुत्केरी श्रीमती र तीन महिने छोरालाई भेट्न भ्याएनन् उनले । सिधा काठमाडौं हान्निए ।

म्यानपावरलाई ६० हजार रुपैयाँ तिरेर बिल्डिङ कन्स्ट्रक्सनमा लेबरको काम गर्न भनेर २००१ अगस्ट १ तारिखमा साउदी अरब आइपुगे ।

जब साउदीमा पाइला टेके, तब हरेक दिन उनका लागि अभिशापजस्तै बन्यो । मरुभूमिको अनकन्टार ठाउँमा पुगे । तेलबाट निस्कने झिलिमिली बिजुलीको सुन्दर सहर थिएन ।

सिधा घामको राप पर्ने बालुवाको घारी थियो । शीतल पार्ने एसी जडित कोठा थिएन । तातो लु लाग्ने हावा बहने खुला कोठा थियो । हरेक दिन चर्को घामले सेकिनुपर्थ्यो । जाडोयाममा मुटु छेड्ने बेजोडको चिसो हावासँग जुध्नुपर्थ्यो ।

बिल्डिङ बनाउने होइन, ऊँट चराउने काम थियो । बोल्ने साथी थिएनन् । घरीघरी आवाज सुनाउने मात्र केवल ऊँट थियो । जिन्दगी यस्तो ठाउँमा आएर रोकियो कि जहाँबाट मालिकले ननिकालेसम्म बस्नुपर्थ्यो ।

मालिकले निकाल्छ कि भनेर दिन गन्ती गर्दागर्दै तीन महिनाको छोरो नै १५ वर्षको पुग्यो । आफ्ना सारा युवा जोस निरन्तर पसिना बनेर बग्यो ।

आफ्नी मायालु श्रीमतीसँग माया साटासाट गर्न पाएनन् । अवस्था यस्तो आयो कि अहिले बूढाबूढीबीच फोनमै पनि दोहोरो संवाद हुन मुस्किल छ । फोन त हुन्छ । उता गुल्मीबाट धनकुमारी डाँको छाडेर रुन्छिन्, यता साउदीको मरुभूमिमा टेकबहादुरको स्वर निस्कँदैन । जिन्दगी मरुभूमिमा बहेको तातो हावा जसरी नै बहिरहेछ ।

उनलाई आफू साउदीको ठ्याक्कै कहाँ छु भन्ने पनि थाहा छैन । ‘मेरो मरुभूमि हाब्राल वादिम भन्ने ठाउँबाट जोडिएको छ, जुन साउदीको राजधानी रियादबाट झन्डै हजार किमि टाढा पर्छ,’ उनले अनुमान गरे, ‘मुख्य सडकबाट झन्डै ४० किमि भित्र मरुभूमिमा छु ।’

मालिकको नाम मन्दु नुहाब सम्मेरी हो, जो अन्दाजी ५५ वर्षका छन् । उनको घर साउदीको हाफ्राल वाटिन भन्ने सहरमा पर्छ रे । मालिक ऊँटलाई पानी सकिएपछि मात्रै लिएर आउँछन् । त्यही बेला ल्याइदिएको खानेकुराले जीविका चल्छ ।

आलु, भन्टा, प्याज, चामल ल्याइदिन्छ । कहिलेकाहीँ मालिकले आउँदा एउटा कुखुरो बोकेर ल्याइदिन्छन् । त्यही मिलेर खाएर फर्कन्छन् । ‘खानेकुरा सकियो भने पनि मालिकले मतलब गर्दैन । ऊँटकै पानी पिएर बाँचेका छौं । कस्तो भइसक्यो भने मान्छे शरीरको भए पनि सबै कुरा ऊँटकै जस्तो भइसक्यो,’ उनलाई त्यस्तै लाग्छ ।

खोरमा ७७ वटा ऊँट छन् । तिनीहरूसँग मात्रै सम्बन्ध छ । वरिपरि अलि टाढा साथी छन् । कहिलेकाहीँ लुकिछिपी भेट्न जान्छन् । मालिकले थाहा पाए जे पनि हुन सक्छ ।

गोठमा मालिकले बेलाबेला सुडानी, भारतीय कामदार लिएर आउँछन् । उनीहरू दुई/चार महिनाभन्दा बढी टिक्दैनन् । जोखिम लिएर भाग्छन् । टेकबहादुरले पनि सुरु सुरुमा भाग्ने प्रयास नगरेका होइनन् । सफल हुन सकेनन् । मालिकले नयाँ मान्छे ल्याउनासाथ घर पठाइदिन्छु भनेर दिएको आश्वासनका कारण पर्खिबसेको उनले सुनाए । महिना, वर्ष बित्दै गयो ।

मालिकले अर्को कामदार त ल्याउँछन् । तर टिक्दैन, भाग्छ । मालिकलाई ‘यो पनि भाग्यो भने मेरो खत्तम हुन्छ’ भन्ने लागेपछि महिना रोक्दै तलब दिँदै गर्न थाले । सुरुमा उनले मासिक ४ सय रियाल पाउँथे । ५ वर्षपछि सय रियाल बढेको छ । आठ वर्षपछि ८ सय रियाल पुग्यो ।

१२ वर्षपछि उनले हजार रियाल पाउन थाले । हिसाब छ, तर उनले सबै तलब भने पाएका छैनन् । टेकबहादुरले तलब नपाएको ७ वर्ष नै पुग्न लाग्यो । भन्छन्, ‘तलब नपाएकैले पनि उम्किन सकिनँ ।’

उनले मरुभूमिबाट निस्कने प्रयास नगरेको होइन । सुरुमा आउँदा फोन सम्पर्क थिएन । मरुभूमिबाट मालिकलाई भनेर चिठी पठाउँथे, वर्षमा एकपटक । दुई/चार वर्षसम्म त्यस्तो गाह्रो पनि थिएन । पछि मालिकले नपठाएपछि भने गाह्रो हुँदै गयो । नेपाली दूतावासको सम्पर्क नम्बर थिएन । गुल्मीमा धनकुमारीलाई केही थाहा थिएन ।

माइला दाइ उसलाई भेट्ने उद्देश्यले साउदीमा रोजगारीमा आए । तर, उनी आफैं अलमलमा परे । कता हो कता ? धनकुमारी गाउँकै डाँडामा अल्झिरहिन् । बल्लतल्ल दूतावासले पीडित परिवारका तर्फबाट उनको अवस्था’bout थाहा भयो ।

यतिखेर साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा उनलाई त्यहाँबाट पठाउन साउदी सरकारसँग ताकेता गरिरहेका छन् । ‘साउदीको परराष्ट्र मन्त्रालयको कन्सुलरलाई आफैंले भेटेर उनलाई उद्धार गर्न पत्र दिएको छु,’ शर्माले रियादबाट फोनमा भने, ‘अब छिट्टै उद्धार हुन्छ ।’

यो खबरले गुल्मीमा धनकुमारीको आशा बढेको छ । छोरोलाई बाबुको अनुहार हेर्न आतुर छ । उसले अहिलेसम्म बाबुको अनुहार देखेको छैन । टेकबहादुर भने हरेक जन्मेको ऊँटको बच्चामा आफ्नो छोरोको अनुहार देख्छन् ।

‘जब ऊँटले बच्चा जन्माउँछ, मलाई तीन महिने छोराजस्तै लाग्छ । उसलाई छोरो जत्तिकै माया गर्छु । स्याहारसुसारमा कमी हुन दिन्न । उसलाई केही नहोस् भनेर भगवान्सँग प्रार्थना गर्छु,’ उनले भने, ‘बढ्दै गएको ऊँटलाई हेर्छु, छोरो हुर्किरहे झैं देख्छु ।’

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )