काठमाडौं— राज्य संयन्त्रलाइ अाैपचारिक रूपमा राजनीतिकरण गर्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको नेता छान्न भएको चुनाबमा एमाले भातृ संगठन निजामती कर्मचारी संगठनले वर्चश्व जमाएको छ। दोस्रोमा कांग्रेस भातृ संगठन नेपाल निजामती कर्मचारी युनियन रहेको छ। मधेसी पार्टीहरुको भातृ संगठन मधेशी निजामती कर्मचारी मञ्च माओवादी केन्द्रभन्दा बढी स्थानमा विजयी भएको छ।
बुधबार भएको निर्वाचनको नतिजा बिहीबार बिहान आएको हो। देशभरि ४२ विभागीय र ७५ जिल्ला कार्यसमिति गरी ११७ स्थानको चुनावी परिणाम सार्वजनिक भएको हो। नतिजाअनुसार एमालेको नेपाल निजामती कर्मचारी संगठनले ८२ स्थानमा विजय हासिल गरेको छ। कांग्रेसको निजामती कर्मचारी युनियनले २५ स्थानमा चित्त बुझाएको छ भने मधेसी निजामती कर्मचारी मञ्च ७ स्थानमा विजयी भएको छ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती २ स्थानमा विजय हुन सफल भएको छ भने एउटा स्थानमा नेपाल निजामती कर्मचारी संगठनमा बराबरी भएको छ।
बुधबार भएको निर्वाचनमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ कर्मचारीले मतदान गरेका थिए।
चुनाबमा सबैभन्दा बढी स्थान ल्याउने अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुने महासचिव र तेस्रो हुने उपाध्यक्ष र चौथो हुने सचिव पाउने व्यवस्था छ। यो संरचनाअनुसार अध्यक्ष र कोषाध्यक्ष एमालेको हुनेछ भने महासचिव कांग्रेसले पाउनेछ। त्यसैगरी उपाध्यक्ष मधेसी दलबाट हुनेछन् भने सचिव माओवादीकाे भागमा पर्नेछ।
स्थायी सत्ता मानिने कर्मचारीतन्त्रमा औपचारिक रुपमै राजनीति भित्र्याएर पहिलो पटक चुनाब गरिएको हो। राज्यको ढुकुटीबाट तलब खाने संयन्त्र राज्य र नागरिकप्रति उत्तरदायी बनाउँदै लानुपर्नेमा राजनीतिकरण गरी ब्युराेक्रेसीलाइ पंगु बनाउँदै लगिएकाे हाे। कर्मचारीतन्त्रमा राजनीतिको ठाडाे प्रवेशले नेपालको सार्वजनिक प्रशासनभित्र अराजकता र भ्रष्ट्राचार संस्थागत गर्न बल पुराउनेछ। प्रतिभाशाली कर्मचारीलाइ देश छाेड्न प्रेरित गर्नेछ।
(नागरिक )