इन्जिनियरले कामै पाएनन्


31052016075022Engineers-for-reconstruction--(3)-1000x0जेष्ठ १८, २०७३- भूकम्प गएको १३ महिना बिते पनि पीडितका घर बनाउन गाउँ गएका इन्जिनियर कामविहीन भएका छन् । सरकारले पीडितलाई राहत रकम उपलब्ध गराउन नसक्दा घर बनाउने काम नै रोकिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १ हजार २६ जना इन्जिनियरका साथमा सबइन्जिनियर र एसिस्टेन्स सबइन्जिनियरसमेत गरी सोमबारसम्ममा २ हजार २ सय ५१ प्राविधिक गाउँ पुगिसकेका छन् । प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख शिवहरि शर्माका अनुसार भूकम्पबाट करिब सात लाख घर भत्केको अनुमान रहेकोमा अहिलेसम्म करिब ३८ हजार धुरीले मात्रै आवास बनाउन अनुदान सम्झौता गरेका छन् । तर ती ३८ हजारले पनि रकम पाउन नसकेकाले पुनर्निर्माणको काम सुरु नै हुन सकेको छैन । भूकम्प प्रभावित जिल्लाहरू गोरखाबाट सुदिप कैनी, दोलखाबाट राजेन्द्र मानन्धर, धादिङबाट हरिहरसिंह राठौर, नुवाकोटबाट कृष्ण थापा, रसुवाबाट प्रकाश अधिकारी, काभ्रेबाट नगेन्द्र अधिकारी र सिन्धुपाल्चोकबाट अनिश तिवारीको रिपोर्ट :

गोरखामा सरकारले पठाएका सबै इन्जिनियर कार्यक्षेत्रमा खटिएका छैनन् । खटिएकाले पनि काम पाएका छैनन् । भूकम्पपीडितसँग अनुदान सम्झौता नहुँदा प्राविधिक सहायताका लागि खटिएका इन्जिनियरले काम नपाएका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत भूकम्पको काम हेर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जिल्लामा एक सय ४१ जना इन्जिनियर खटाएको थियो । खटाएकामध्ये ४३ जना अझै सम्पर्कमा आएका छैनन् । भवन डिभिजनको सम्पर्कमा आएका ९८ जना पनि कामविहीन भएका छन् । ‘काम गर्न नपाए पनि उनीहरूलाई गाउँमा परिचालन गरिएको छ,’ डिभिजन प्रमुख श्याम किशोर सिंहले भने ।

उनीहरूलाई ग्रामीण बस्ती, सहरी विकास र सार्वजनिक पूर्वाधार निर्माणमा प्राविधिक सहायता दिन भूकम्प प्रभावित क्षेत्रमा खटाइएको हो । तर निजी तथा सार्वजनिक पूर्वाधारको काम सुरु नहुँदा उनीहरू नै अलपत्र परेका छन् । गाविसको सम्पर्कमा खटाइएका इन्जिनियरहरू गाउँमा काम नभएकाले सचिवसँगै सदरमुकाममै भेटिन्छन् । ‘भूकम्पपीडितलाई प्राविधिक सचेतना दिन इन्जिनियर गाउँ पठाएका छौँ’, सिंहले भने, ‘सम्पर्कमा नआएकाको सट्टामा अन्य प्राविधिक पठाउन माग गरेका छौं ।’

कर्मचारी अभाव र ग्रामीण क्षेत्रमा बैंकको पहुँच नहुँदा जिल्लाका कुनै पनि भूकम्पपीडितले सरकारले दिने दुई लाख अनुदानको पहिलो किस्ता पनि पाउन सकेका छैनन् । इकाईले प्रभावित गाविसमा परिचालन गर्ने भनेका ६० सबइन्जिनियर र ६० असिस्टेन्ट सबइन्जिनियर अझै जिल्लामा आएका छैनन् । प्रत्येक गाविसमा एक/एक जना इन्जिनियर खटाइने र बाँकी रहेकालाई पुनर्निर्माण स्रोत केन्द्र, नगरपालिकाका कार्यालयमा जिम्मेवारी दिने तयारी छ । गाउँमा कार्यक्षेत्र तोकिएका प्राविधिकलाई अनुदान सम्झौतामा सहयोग गर्नसमेत निर्देशन दिइएको छ ।

सदरमुकाम र राजधानीमा अलपत्र
रसुवामा पनि काम नपाएपछि इन्जिनियर सहितको प्राविधिक टोली अलमलमा परेको छ । ‘पीडितले घर बनाउन अनुदान नै नपाएको अवस्थामा प्राविधिक सहयोग आवश्यक नभएपछि कामविहीन भएका छौं,’ एक इन्जिनियरले भने । रसुवामा ४१ जना इन्जिनियर खटाइएको छ । तीमध्ये २३ जना मात्र आएका छन् ।

सबओभरसियर र ओभरसियर पनि त्यति नै संख्या खटाइएको छ । उनीहरूले सरकारले तोकेको मापदण्ड अनुसारको घरको मोडल र डिजाइनसमेत जानकारी दिनुपर्ने हुन्छ । मापदण्डअनुसार पीडितले घर बनाउन नथालेको अवस्थामा उनीहरू सदरमुकाम, राजधानी र आफ्नै घरमा भौंतारिन बाध्य छन् ।

पीडितसँग घर बनाउने सम्झौता सुरु हुन थाले पनि अनुदान वितरण भएको छैन । पुनर्निर्माणसम्बन्धी जिल्लास्तरीय कार्यान्वयन इकाईका आयोजना प्रमुख राजेन्द्र खतिवडाले रकम वितरणका लागि सम्झौताको तयारी भइरहेको जानकारी दिए । आवास निर्माणसम्बन्धी सम्झौता गर्ने गाउँ विकास समितिमा कर्मचारी दरबन्दीको अभाव छ ।

पुनर्निर्माणका काम अघि बढ्न समस्या भएको छ । सबै जिम्मेवारी एउटै व्यक्तिले सञ्चालन गर्नुपर्ने बाध्यताले पुनर्निर्माण सम्झौतामा नै ढिलाइ भएको राम्चे गाविस सचिव शोवराज अधिकारीले बताए । इकाई आयोजना प्रमुख खतिवडाले घर बनाउन सुरु नभएसम्म गाउँमा प्राविधिकको कामै नभएको बताए । जिल्ला इन्जिनियर मदनमोहनलाल श्रेष्ठका अनुसार अझै ११ गाविसका भूकम्पपीडितको सूची सार्वजनिक हुन नसकेकाले पुनर्निर्माणको काम तत्काल सुरु हुने सम्भावना छैन ।

बेरोजगार जस्तै
काभ्रेमा खटिएका इन्जिनियरहरूले काम सुरु गर्न नपाउँदा आफूहरू ‘बेरोजगार जस्तै’ हालतमा रहेको बताएका छन् । डिभिजन कार्यालयका इन्जिनियर अशोक अधिकारीका अनुसार खटाइएका १ सय ७८ मध्ये १ सय ३८ इन्जिनियर मात्रै सम्पर्कमा आएका छन् । उनीहरूलाई केन्द्र र भवनको अनुशिक्षणपछि गाउँमा खटाइएको छ । ‘जुन कामका लागि खटिएका हाैं त्यो गर्न पाइएको छैन,’ रयाले बिहावर गाविसमा खटिएका इन्जिनियर विनय खरेलले भने, ‘मुख्य काम नभए पनि अरू काममा संलग्न छौं ।’

डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले भने, ‘काम नभएकाले इन्जिनियरलाई अहिले तथ्यांक संकलनमा खटाइएको छ, पुनर्निर्माणको काम सुरु भएलगत्तै आफ्नै काममा खटिनुहुन्छ ।’

घरबिदामा
धादिङमा खटिएका इन्जिनियर र प्राविधिक कर्मचारी तितरवितर भएका छन् । जिल्ला आएका ५८ जना इन्जिनियरमध्ये धेरैजसो घरबिदामा गएका छन् । बसेकालाई भने गाविसहरूले अनुगमनमा लगाएका छन् । सूची सार्वजनिक भएका ३५ गाविसका करिब ४८ हजार घरधुरीमध्ये कटुन्जेका ५ सय र मार्पाकका ५ सय ९९ घरधुरीले मात्रै अनुदानको पहिलो किस्ता पाउने सम्झौता गरेका छन् ।

हालसम्म लाभग्राहीले बैंक खाता सञ्चालन गर्न नसकेका कारण नगद प्रवाह हुन सकेको छैन । छनोट गरिएको मार्पाक र कटुन्जेका पीडितलाई हालसम्म पनि ५० हजार रकम भुक्तानी गरिएको छैन । लाभग्राही सूची प्रकाशित गरेका गाविसमा जनशक्ति अभावमा सम्झौता गर्न कठिन त भएको छ नै, सूचीमा नाम छुटेको भन्दै स्थानीय शासन र पीडितबीच दैनिकजसो किचलो पर्दै आएको छ ।

पुनर्निर्माण अघि नबढेपछि इन्जिनियरहरू सल्लाहकार मात्रै भएका छन् । ‘बस्तीमा पुगेर रायसुझाव दिनुबाहेक अरू केही गर्न सकिएको छैन,’ जिल्लास्थित भवन तथा आवासका प्रमुख दिलीप भण्डारीले भने । सम्झौता नभएर कतिपय इन्जिनियर घरबिदामा गएका बेला सरकारले पुन: एउटा गाविसमा एक ओभरसियर र एक जना सबओभरसियर खटाएको छ ।

अलपत्र इन्जिनियर
सिन्धुपाल्चोक भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला भए पनि सरकारले २ लाख राहत अझै वितरण गर्न सकेको छैन । अनुदान वितरण सुरु नगर्दा जिल्ला आएका १ सय ९ जना इन्जिनियर अलपत्र जस्तै छन् । सोमबारसम्म सदरमुकामस्थित चौतारा नगरपालिका र इर्खु गाविससहित २ हजार ४ सय ६७ जना भूकम्पपीडितसँग अनुदान सहयोगको सम्झौता भएको छ । कर्मचारी अभाव र प्रक्रियागत झन्झटले गाविसमा भर्खर अनुदान सम्झौता सुरु भएको हो । दुई नगरपालिका र ६८ गाविस रहेको जिल्लामा २८ जना सचिव छैनन् । जिविसका अनुसार सचिव नभएका २८ गाविसमा सम्झौता हुने सम्भावना छैन ।

जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख डा. युवराज पौडेलका अनुसार परिचालन गरिने १ सय ६५ जना इन्जिनियरमध्ये जिल्ला आएकालाई गाउँमा खटाइएको छ । सबइन्जिनियर र एसिस्टेन्ट इन्जिनियर १ सय ५९ जना प्राविधिक थपिने क्रममा छन् । भूकम्पबाट तीन हजार ५ सय ७५ जनाको मृत्यु भएको जिल्लामा झन्डै ९५ प्रतिशत घर भत्किएको थियो । दैवीप्रकोप उद्धार समितिका अनुसार जिल्लामा करिब ८९ हजारले भूकम्पपीडित परिचयपत्र पाएका थिए । तीमध्ये ८० हजारले न्यानो कपडाबापतको रकम पाए । पछिल्लो समय तथ्यांक विभागबाट आएको इन्जिनियर टोलीले संकलन गरेको विवरण सबै प्राप्त भइसकेको छैन । स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीका अनुसार हालसम्म ७० हजार धुरीको विवरण प्राप्त भएको छ ।

सर्वाधिक क्षति भएको जिल्लामा पुनर्निर्माण प्राधिकरणको कार्यालयसमेत छैन । भूकम्प गएकै दिन पारेर वैशाख १२ गते प्रधानमन्त्री केपी ओलीले सदरमुकामस्थित सर्वे तामाङको घर शिलान्यास गरेका थिए । तर अझै उक्त घर बनाउने काम हुन सकेको छैन ।

इन्जियिनरकै अतोपत्तो छैन
नुवाकोटमा खटिएका प्राविधिक (इन्जिनियर) अहिलेसम्म गाउँ पुगेका छैनन् । वैशाख चौथो साता गाउँमा परिचालन भएका उनीहरू अहिलेसम्म कहाँ छन् भन्ने’bout अन्योल छ । ‘गाउँमा त्यस्तो कुनै इन्जिनियर आएको थाहा छैन,’ किङताङ ४ का पूर्णबहादुर तामाङले भने । स्थानीय अमर तामाङले भने, ‘वर्षा लागिसक्यो,’ उनले भने, ‘भूकम्पपीडित अस्थायी टहरामा छन् । सरकारले न रकम दिन्छ, न प्राविधिक नै गाउँ छिरेका छन् ।’

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटले ६१ गाविस र १ नगरपालिकाका लागि गत वैशाख २७ गते प्राविधिक टोली भूकम्पपीडित क्षेत्र पठाएको थियो । उनीहरूलाई सदरमुकाम विदुरमा एकदिने अनुशिक्षण दिएर गाउँ पठाइएको हो । ७४ जना प्राविधिक गाउँ र नगरपालिकामा खटिएका थिए । तर उनीहरूको अहिलेसम्म गाउँ र नगरपालिकामा समेत अत्तोपत्तो छैन । इकाईले जिल्लाका लागि १ सय ३४ जना प्राविधिकको माग गरेको थियो । नुवाकोटमा ७० हजारभन्दा बढी घर भूकम्पले ध्वस्त भएका छन् । भूकम्पमा परी १ हजार १ सय १२ जनाको मृत्यु भएको थियो भने एक हजार स्थानीयवासी घाइते भएका थिए ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.