वैशाख २६, २०७३- सांसदहरुले संसद सदस्यहरूलाई निवृत्तिभरण (पेन्सन) को व्यवस्था गर्न र तलबसुविधा बढाउन माग गरेका छन् । शनिबार संसदमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । सांसद प्रेमकिशोरप्रसाद साहले सांसदको सुविधामा बढोत्तरी हुनुपर्ने उल्लेख गर्दै भने, ‘राजनीतिबाट अवकाशपछि के नुन–चिनी पसल राख्ने ?’ उनले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले रोजेका कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन हुनुपर्ने मागसमेत गरे ।
सांसद मिठु मल्लले राजधानीको महँगीमा ६ हजार ५ सय रुपैयाँले घरभाडा तिर्न नसकिने भएकाले तलब भत्तालगायत अन्य सुविधा बढाउन माग गरिन् । अर्का सांसद शेषनाथ अधिकारीले पनि सांसदहरूले पाउँदै आएको घरभाडासहित तलबसुविधा बढाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरूले हरेक वर्ष लोकप्रिय कार्यक्रम राखेर सरकारले बजेट ल्याए पनि विकास खर्च हुन नसकेको उल्लेख गर्दै कार्यान्वयनमुखी बजेट ल्याउन माग गरेका छन् । उनीहरूले विगतका कमीकमजोरी हटाएरमात्रै बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तावमा बोल्दै उनीहरूले कार्यान्वयन हुन सक्ने यथार्थवादी बजेट ल्याउन आग्रह गरेका हुन् । उनीहरूले अघिल्लो वैशाख १२ को महाभूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण जर्जर अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने खालको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिए । आन्तरिक लगानीमा नै ठूला र महत्त्वपूर्ण आयोजना अगाडि बढाउनसमेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरूले खाना पकाउने ग्यास पर्याप्त हुनुपर्ने, पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउनुपर्ने, सातवटै प्रदेशमा भण्डारणस्थल बनाउनुपर्ने, लगानीको वातावरण बनाउनुपर्ने, ठूला र महत्त्वपूर्ण आयोजना सरकार आफैंले अगाडि बढाउनुपर्ने, लोडसेडिङ समस्यालाई अन्त्य गर्ने कार्ययोजना ल्याउनुपर्ने बताएका थिए ।
लीला मगर, अञ्जना चौधरी, रामकुमार भट्टराई, महेन्द्रबहादुर शाही, मोख्तार अहमद, खेमबहादुर गुरुङ लगायतका सांसदले शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने, खानेपानी समस्या समाधानमा ध्यान दिनुपर्ने, सिँचाइ क्षेत्र विस्तार गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने र राष्ट्रिय गौरवका आयोजनामा संकटकाल घोषणा गरेर यथाशीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । संसदमा शनिबारै आगामी बजेटको प्राथमिकता र सिद्धान्तमाथिको छलफल सकिएको छ ।
(कान्तिपुर )