होम कार्की, दोहा (कतार)
चैत्र १४, २०७२- युएईस्थित नेपाली दूतावासको पत्रलाई दुरुपयोग गरी दलालहरूले लाखौं रुपैयाँ असुल गरी मानव ओसरप्रसार गरेको खुलासा भएको छ । गत फेब्रुअरी १२ मा एकजना युवतीलाई कलाकार बनाएर युएई ल्याएपछि घटना सार्वजनिक भएको हो । उनीहरूलाई युएई आउन दिनका लागि नेपाली दूतावासले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पत्र लेखेको थियो ।
‘संयुक्त अरब इमिरेट्सको क्रियाटिभ गु्रप तथा प्रवासी नेपाली युवा संघ युएईले १२ फेब्रुअरीमा दुबईमा मनाउन लागेको भ्यालेनटाइन नाइटको अवसरमा कलाकारहरूलाई भिजिट भिसामा युएई ल्याउन कागजातसहित यस दूतावासमा निवेदन पेस गरेको देखिन्छ’, दुताबासले अध्यागमन कार्यलयलाई लेखेको पत्रमा उल्लेख छ, ‘उल्लेखित व्यक्तिलाई युएईमा आउनका लागि सहमति प्रदान हुन अनुरोध गरिन्छ ।’
पत्रमा १० जना कलाकारको राहदानी र भिसा नम्बरसमेत उल्लेख छ । त्यसमध्ये मुख्य कलाकार कार्यक्रम सम्पन्न गरी स्वदेश फिर्ता भए पनि कलाकार बनाएर ल्याइएकाहरू युएईमा छन् । उनीहरू अधिकांशलाई डान्सरका रूपमा ल्याइएको थियो ।
‘म युएई आउनु थियो । दलाललाई डेढ लाख रुपैयाँ बुझाएर आएको हुँ,’ युएईको सारजहाँमा बस्दै आएकी एक युवतीले कान्तिपुरलाई फोनमा भनिन्, ‘मलाई डान्सर बनाएर ल्याएको हो । एयरपोर्ट आएपछि सीधै आफन्तमा गएँ । कार्यक्रममा सहभागी हुन गइन् ।’
उनका अनुसार दलालले डेड लाखदेखि तीन लाख रुपैयाँसम्म असुल गरी युएई ल्याएको थियो । आयोजकले युएई आउने सबैको पोस्टर तयार गरी दूतावासलाई अनुमति दिन निवेदन दिएका थिए । दूतावासमा बुझाइएको निवेदनमा अलकुज युवा संघ समितिका मोहमद समिम र युवा संघ युएईका इन्जार्ज महेश गिरीले हस्ताक्षर गरी अनुमतिको माग गरेका थिए । युवा संघ एमाले निकटको संगठन हो ।
राष्ट्रिय स्तरका कलाकार आएको मौकामा गलत ढंगले मानव ओसारप्रसार गरेको भन्दै आबुधाबीस्थित नेपाली दूतावासले यस प्रकरणलाई छानबिन थालेको छ । वैदेशिक रोजागरका लागि भिजिट भिसामा आउन रोक लगाएपछि दलालले सांस्कृतिक कार्यक्रमलाई माध्यम बनाएको हो ।
त्यसैगरी गैरआवासीय नेपाली संघ, युएईले सामाजिक तथा राजनीतिक संगठनको आवरणमा मानव ओसारप्रसारजस्तो घृणित र दण्डनीय कार्य हुनु खेदजन्य भएको बताएको छ ।
‘यस्ता अपराधजन्य कार्यलाई हामी सबैले निरुसाहित गर्नुपर्छ,’ महासचिव दीपक खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको आवश्यक छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न नेपाली दूतावास तथा सम्बन्धित सरकारी निकायसमक्ष हार्दिक अपिल गर्दछौं ।’
यसैगरी एमाले निकट प्रवासी नेपाली मञ्चले ‘गलत नियतले नेपाली महिलालाई युएई ल्याई रकम असुल गरेको भए त्यस्ता व्यक्ति वा संस्था जोसुकै भए पनि आवश्यक कारबाहीका लागि मञ्चको पूर्ण साथ र सहयोग रहने’ जनाएको छ ।
मञ्चका महासचिव उत्तम अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अत्यन्तै संवेदनशील र गम्भीर विषय सार्वजनिक बहसमा आएकाले यसको सत्यतथ्य बाहिर ल्याउन दूतावाससमक्ष अनुरोध गरेको उल्लेख छ ।
कलाकार ल्याउन निवेदन दिएका महेश गिरीले रकम संकलनमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । ‘कलाकार ल्याउनका निमित्त एउटा निवेदनमा दस्तखत गरिदिन आग्रह भएबमोजिम एउटा अनुरोध पत्रमा नितान्त सहयोगी भावनाले दस्तखत गरेको तथा त्यसबाहेक उक्त कार्यक्रम र कार्यक्रमका आयोजकसँग कुनै विषयमा कुनै सम्बन्ध नरहेको सबैसामु जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘मेरो दस्तखत रहेको उक्त निवेदन मार्फत दूतावासको पत्र बोकेर युएई आएका कसैसँग पनि आयोजकले कुनै पनि किसिमको रकम असुल गरेको र त्यसमा मेरो एकरत्ति पनि समावेशिता देखिएमा वा भेटिएमा र प्रमाणित भएमा म जस्तोसुकै सजाय भोग्न तयार छु ।’
(कान्तिपुर )