भारतको नयाँ दिल्लीबाट आइतबार अपरान्ह ४ बजेर १५ मिनेट काठमाडाैंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको जेट एयरको विमानमा बम रहेको हल्ला चलेको भएपनि चेकजाँच पछि विमानमा बम नभएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधीकरणका प्रवक्ता देवेन्द्र केसीले जहाजमा बम नरहेको बताए ।विमानस्थलको ‘आइसोलेसन वे’ (विमानमा वमको हल्ला भएपछि छुट्टयाएर राखिने ठाउँ) मा राखेर विमानस्थल सुरक्षाकर्मीमले जहाजको जाँच गरेका थिए । विमानमा चालक दलसहित १ सय ६९ यात्रु सवार थिए ।विमानको जाँच सकिए पनि विमानले ल्याएका समानको भने जाँच भइरहेको छ । यात्रुहरुको जाँच सकिइसकेको छ ।भिजिविलिटी नपुगेपछि यो विमानले अवतरण गर्न सकेको थिएन । विमानले सिमरामाथि ६ पटक फन्को मारेको थियो । यसैबीच जेटको दिल्ली स्थित कार्यालले कुनै अपरिचितले विमानमा बम रहेको ‘थ्रेट कल’ गरेको खबर काठमाडाैंस्थित जेट एयरवेजको कार्यालयलाई गरेको थियो । याे खबर त्रिभुवन विमानस्थलमा गराइएपछि जहाजलाई इमरजेन्सी ल्यान्डिङ गराइएको थियो ।यो जहाजलाई यात्रुहरु चढाउने अोराल्ने बेमा नराखी एयर ट्राफिकले धावन मार्गको उत्तरमा रहेको आइसोलेसन बेमा पठाएका थिए ।बमको हल्लापछि जेटको विमान अवतरण गराउँदै विमानस्थलले ४५ मिनेट धावनमार्ग बन्द गरेको थियो । यसरी धावनमार्ग बन्द गरिँदा दोहाबाट आएको कतार एयरवेज सिमराको आकाशमा १४ फन्को लगाउँदै ५ : ४५ मा अवतरण गर्यो । योसँगै दिल्लीबाट आएको एयर इन्डियाको जहाजले ९ फन्को लगाउनु परेको थियो भने लखनउबाट आएको इन्डिगो अझै सिमरामाथिको आकाशमा होल्डमा छ ।यो जहाज अवतरण हुनुभन्दा केही अगाडि प्रधानमन्त्री केपी शर्मा अोलीलाई चीनबाट लिएर आएको विमान अवरतण गरेको थियो ।
जेट एयरवेजले भारतको दिल्लीबाट काठमाडाैं दैनिक २ र मुम्बईबाट १ उडान गर्छ ।