समाचार टिप्पणी : विदेशीले पनि पत्याएका देउवा


चन्द्रशेखर अधिकारी, काठमाडौं
छिमेकद्वय र पश्चिमा मुलुकका चासोलाई संयोजन सहज छैन
Sherbhadur-Deuba-6फाल्गुन २४, २०७२- शेरबहादुर देउवालाई यतिखेरको कांग्रेस महाधिवेशनजस्तै लागेको थियो २०५८ को पुस तेस्रो साता । भारत र पाकिस्तानको तिक्ततापूर्ण अवस्थामा उनले नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ११औं शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेका थिए । जसरी सभापति हुन उनले आफ्नो सबै बुद्धि, विवेक र शक्ति लगाए त्यतिबेला पनि सबै सदस्य मुलुकलाई मनाएर शिखर सम्मेलन गराउन लागिपरेका थिए । उनी बाहिर देखिएको जस्तो जे पनि बोल्ने र हडबड गर्नेभन्दा भित्री रणनीति र राजनीतिका चतुर खेलाडीमा गनिने व्यक्तिका रूपमा विदेशीले समेत बुझेका छन् ।

भारत र पाकिस्तानको बोलचालसमेत नरहेको अवस्थामा शिखर सम्मेलन सफलतापूर्वक आयोजना मात्र गराएनन् कि भारत–पाकिस्तानको अनौपचारिक वार्तासमेत काठमाडौंमा गराए । त्यसमा उनले सफलता हात पारे । तर, अन्तिम समयसम्म उनको सफलता पूरा हुने/नहुनेमा ढुकढुकी भइरहयो । सभापतिमा पनि पहिलो राउन्डमा उनका दुवै प्रत्यासीभन्दा बढी मत भए पनि सफलता चुम्न सकेनन् । तर, दोस्रो राउन्डमा उनी अब्बल ठहरिए ।

यस्तै भएको थियो । २०५८ पुस २० र २२ को सार्क शिखर सम्मेलनमा । त्यतिबेला अफगानिस्तान सदस्य थिएन । भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका कार्यकारी प्रमुख नेपाल आइसकेको भए पनि पाकिस्तानका राष्ट्रपति परवेज मुसरफ नेपाल आउन सकेका थिएनन् । तर, देउवा विश्वस्त थिए । पाकिस्तानका राष्ट्रपति मुसरफ जसरी पनि नेपाल आउनेछन् भन्नेमा । त्यो पूरा भयो । भारतले हवाई मार्ग नदिए पनि परवेज चिनियाँ मार्ग उपयोग गरेर शिखर सम्मेलनको उद्घाटन हुनु केही घण्टा अघि काठमाडौं ओर्ले ।
उनी प्रधानमन्त्री भएपछि शिखर सम्मेलन गर्न जोड दिएका देउवाले भारत र पाकिस्तानको प्रधानमन्त्री र राष्ट्रपतिलाई एकै स्थानमा भेटाउन सफल भए । यतिखेर पनि नेपालको मित्र मुलुकको ध्यान उनीतिर केन्द्रित गरेका छन् । भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी र मुसरफबीचको वार्ताको समाचार विश्वमा त्यो बेला छाएझैं अहिले कांग्रेस महाधिवेशन पनि सबैको चासोमा परेको छ ।

विद्यार्थी नेतादेखि विदेशीको नजरमा परेका देउवालाई सबैले आफूनिकट मान्छन् । उनलाई भारतको एक लबीले आफूनिकट मान्छ भने अमेरिका र युरोपेली मुलुकले पनि देउवालाई निर्णय गर्नसक्ने नेताका रूपमा लिएका छन् । उनले कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएदेखि आफ्नो दलमै समावेशी आरम्भ गरेका देउवा आफैंले पनि आफूमा न्याय, निर्णय र समानुपातिक भावना भएको नेताका रूपमा व्याख्या गरेका छन् ।

२०५८ को शिखर सम्मेलनमा नेपाल आएका आगन्तुक सबैले देउवाको प्रशंसा गरेका थिए । त्यसमध्ये पनि विशेष थियो परवेजको प्रशंसा । उनले भनेका थिए, ‘दुई ठूलो मुलुकबीच रहेको सार्वभौम सम्पन्न र सबल मुलुकका प्रधानमन्त्रीले यस क्षेत्रको शान्ति र विकासमा देखाएको उत्साहमा साथ दिन आउन पाउँदा खुसी लागेको छ । मेरो मुलुकप्रति अर्को छिमेकले देखाएको सानो सोचलाई यहाँको सानो मुलुकको ठूलो हृदयले जवाफ दिएको छ ।’

नेपाली राजनीतिमा लगातार दु:ख गरेर भाग्यमानी बन्न पुगेका देउवा कांग्रेसको सभापतिमा चयन हुने पक्का भएदेखि नै विदेशीहरूले चासोका साथ जानकारी लिइरहेका छन् । राजनीतिमा बाहिर निकै हल्का देखिएको टिप्पणी हुने गरे पनि भित्र गम्भीर रूपमा गृहकार्य गर्ने व्यक्तिमा विदेशी आकलन अहिलेको निर्वाचनले झन् साबित गरेको छ । त्यसो त उनी पार्टी फुटाएको र पारिवारिक लिगेसीका कारण पार्टी नेतृत्वमा आउन सकेका थिएनन् । यद्यपि उनले २०४६ सालको परिवर्तनपछि को संसदीय तथा संविधानसभाको कुनै पनि निर्वाचनमा हार बेहोर्नु परेको छैन ।

विद्यार्थी राजनीतिदेखि नै विदेशीको आँखामा परेका देउवाको विवाहसमेत विदेशीले जुराइदिएको उनी निकटस्थहरू अझै स्मरण गर्छन् । उनलाई भारतले भन्दा बढी पश्चिमा मुलुकले रुचाउने गरेको भन्ने धारणा राख्नेको कमी नभएको समयमा उनको विवाहसमेत पश्चिमाले जुराएपछि उनलाई दुवै छिमेकीले अलि दूरीमा राखेका थिए । तर, उनी भारतको सीमावर्तीमै हुर्केका व्यक्ति हुन् । उनको थर भएका व्यक्ति नेपालमा भन्दा भारतमै धेरै छन् । २००३ सालमा डडेलधुरामा जन्मिएका देउवाको राजनीतिक जीवन विद्यार्थीकालबाटै अघि बढेको हो । प्रजातन्त्र पुन:स्थापना हुँदा ०४६ मा देउवा कांग्रेसका सशक्त युवा नेताका रूपमा उदाएदेखि विदेशीले उनलाई विश्वासमा लिन खोजेका थिए । तत्कालीन अमेरिकी राजदूतले आरजु र देउवाको कुराकानी अघि बढाएको उल्लेख गरिन्छ । गृहमन्त्री हुँदा विवाह सम्पन्न गराउने कामसमेत विदेशीकै लबीमा भएको स्मरण उनका समकक्षीहरू गर्छन् ।

०४८ सालको आमनिर्वाचनमा उनी अत्यधिक मतान्तर र त्यसपछिका निर्वाचनमा विजय हासिल गर्दै आएका छन् । उनी ०५२ सालमा प्रधानमन्त्री बनेपछि उनको व्यक्तित्व थप चुलिएको हो । उनको विदेशीसँगको सम्बन्ध आफैंमा निकै राम्रो रहेको छ । सबै विदेशीलाई प्रभावमा पर्नसक्ने व्यक्तिका रूपमा उनीसँगै काम गरेको कूटनीतिज्ञहरू बताउँछन् । पार्टीभित्रको अन्तर्संघर्षमा देउवाले ०५९ सालमा कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरी त्यसको सभापति बनेपछि पनि विदेशीले उनलाई साथ दिए । र २०६४ मा गिरिजाप्रसाद कोइरालाले नै रेड कार्पेट ओछयाएर नेपाली कांग्रेस एक भएको हो । यतिबेला उनी नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय नेताका रूपमा पनि परिचित छन् । सोसलिस्ट इन्टरनेसनलमा रहेर काम गरिरहेका उनी सन् २००८ देखि २०१२ सम्म उपाध्ययक्ष थिए ।

सन् २०१३ देखि हालसम्म सो संगठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तर्राष्ट्रिय उपाध्यक्ष देउवा राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । प्रजातान्त्रिक आन्दोलनमा पटक–पटक गरेर १० वर्ष जेलजीवन बिताएका देउवालाई यतिबेला सबैजसो विदेशीको समर्थनसमेत रहेको छ । विदेशीसँगको हेलमेल बढी भए पनि उनी राष्ट्रवादी नेताको छविमा रहेका छन् । उनले यो छविलाई कायम राख्ने या नराख्ने उनको आगामी कार्यशैलीले देखाउनेछ । भारतसँगको बिग्रँदो सम्बन्ध, चीनको सुरक्षा चासो र पश्चिमाहरूको चासोलाई मिलाएर अघि बढ्न त्यति सहज भने छैन । दुई उदीयमान शक्तिबीच रहेको पुरानो मुलुकलाई उनीहरूको हैसियतमा लैजान पुरानो र ठूलो दलको नाताले कांग्रेसको महत्त्वपूर्ण भूमिका रहन्छ, यसमा देउवाको पुरानो अनुभव र खारिएको पना जनताले हेर्न बाँकी नै छ ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.