गजेन्द्र बोहरा
भारतसँग अझै ढुक्क हुने अवस्था छैन
घोराहीः नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारतसँगको सम्बन्ध सामान्यीकरणमात्रै भएको भन्दै अझै ढुक्क हुने अवस्था नभएको बताएका छन् । ‘प्रधानमन्त्री कुनै ठूलो अपेक्षा लिएर भारत जानु भएको होइन, दुई देशबीचको असझदारी हटाउनु थियो’ प्रधानमन्त्रीको भारत भ्रमण’bout अनेकन टिकाटिप्पणी भइरहेका बेला एमाले उपाध्यक्ष ज्ञवालीले सोमबार दाङको घोराहीमा पत्रकारहरुसित भने, ‘त्यो भएको धेरै खोजेका पनि होइन, धेरै ठूलो केही उपलब्धी पनि भएको छैन ।’
भारतले अघोषितरुपमा नाकाबन्दी गरेर ‘युद्धआह्वान’ नै गरेको भन्दै उनले त्यसका अघि नेपाली नझुकेको बाए । ‘हामी झुकेनौँ बरु, उसलाई वास्तविक कुरो बुझाउन सफल भएका छौँ, प्रधानमन्त्रीको भारत भ्रमण त्यो मानेमा सफल भएको छ’, उनले भने ‘तर, अझै स्थिति सहज भइसकेको छैन, हामी अब पनि ढुक्क भएर बस्यौँ भने त्यो ठूलो राजनीतिक भूल हुनेछ ।’
उनले भारत र चीन दुवै छिमेकीसँग समान सम्बन्ध कायम गर्नुपर्छ भन्दै तत्काल चीनसँग व्यापारिक सम्झौताहरु अघि बढाउनुपर्नेमा जोड दिए ।
‘अब प्रधानमन्त्रीले केही दिनमै चीन भ्रमण गर्नुहुनेछ, त्यो भ्रमणका क्रममा नेपाल र चीनका बीचमा धेरै व्यापारिक सम्झौताहरु हुनेछन्’, प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘चीनले केरुङसम्म रेलवे ल्याउने प्रस्ताव अघि बढाएको छ, हामीले त्यहाँमात्रै होइन, त्यहाँबाट काठमाडौं र लुम्बिनीसम्मै रेलमार्गको प्रस्ताव गर्नेछौँ ।’
उनले अहिलेको नाकाबन्दीबाट भारतीय शासकहरु पनि केही सोच्न बाध्य भएको भन्दै अब नेपालले पनि आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।
‘अबको चुनौती भनेको हामी आत्मनिर्भरताको बाटोमा अघि बढ्नु नै हो पहिला हामी आफ्नै खुट्टामा उभिनसक्ने हुनुपर्छ’, उनले भने, ‘केही दशकमै हामी भारत र चीनभन्दा संमृद्ध बन्नसक्छौँ त्यसका आधारहरु हामीमाझ प्रशस्तै छन् ।’
उनले कम्यूनिष्टहरुले अहिलेको सन्दर्भमा धेरै पाइसकेको भन्दै अब लोकतन्त्रलाई बलियो बनाउने र देश अनि जनताको संमृद्धि गर्नुपर्ने चुनौति थपिएको बताए ।
‘हामीले राजनीतिक आन्दोलन सकिसकेका छौँ, अधिकारको लडाईँ सकिएको छ’ उनले भने ‘अबको चुनौति भनेको जनताको समृद्धि हो, फेरि पनि हामी नारामै सीमित भयौँ भने जनता हामीसँग हुँदैनन्, र, कम्यूनिष्टहरु पनि रहँदैनौँ ।’(अन्नपूर्ण पोस्ट )